चकचके सचिन क्रिकेटका ‘जेन्टल म्यान’
अहिले सारा विश्व विश्वकप क्रिकेटको माहोलमा झुमेको छ। इङ्ल्यान्ड र वेल्समा गत बिहीबारबाट सुरु भएको १२औं संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता करिब डेढ महिनासम्म चल्ने छ। संसारभर क्रिकेटको रोमाञ्चकता चलिरहँदा विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको चर्चा पनि उत्तिकै हुने गर्छ।
सचिन तेन्दुलकरको नाम नसुन्ने भाइबहिनी कमै मात्र होलान्। सचिन तेन्दुलकर त्यस्ता खेलाडी हुन्, जसलाई भारतमा ‘क्रिकेटका भगवान्’ मानिन्छ। सानै उमेरमा क्रिकेटमा तहल्का मच्चाएका सचिनले क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन्। एकदिवसीय र टेस्ट क्रिकेटमा सबैभन्दा बढी खेल खेल्ने, शतक बनाउने खेलाडी सचिन तेन्दुल्कर हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय शतक पूरा गर्ने उनी एक्ला ब्याट्सम्यान हुन्। २४ वर्षसम्म लगातार उच्च फर्ममा रहेर क्रिकेट खेलेका सचिनले बनाएका कीर्तिमान अहिलेका पुस्ताका लागि चुनौती बनेका छन्। हुन त कीर्तिमान तोड्नका लागि बनेका हुन्छन्। तर, सचिनका केही कीर्तिमानले भने नयाँ पुस्तालाई सदैव चुनौती दिइरहेको छ।
विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी सचिन तेन्दुल्कर नै हुन्। उनले पाँचवटा विश्वकप खेलेका थिए। सन् २०११ को विश्वकप जितेपछि सन्न्यासको घोषणा गरेका सचिनले विश्वकपमा ४५ खेल खेल्दा ६ वटा शतक बनाएका छन्। उनी ४५ खेलबाट दुई हजार दुई सय ७८ रन बनाउँदै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा आसीन छन्। उनीपछि सर्वाधिक रन बनाउनेमा अस्ट्रेलियाका रिकी पोन्टिङ, श्रीलंकाका कुमार संगकारा, वेस्ट इन्डिजका ब्रायन लारा र दक्षिण अफ्रिकाका एबी डिभिलियर्स छन्।
सन् २०११ मा आफ्नै भूमिमा सम्पन्न विश्वकपमा छिमेकी प्रतिद्वन्द्वी श्रीलंकालाई पराजित गर्दै भारतले दोस्रो पटक विश्वकप जितेको थियो। फाइनलमा सचिनले १८ रन बनाए पनि गौतम गम्भीर र कप्तान महेन्द्रसिंह धोनीको प्रेरणामा भारतले विश्वकप जितेको थियो। मुम्बईको वाङ्खडे स्टेडियममा विश्वकप जितेपछि टोलीका खेलाडीले सचिनलाई काँधमा बोकेर स्टेडियम घुमाएका थिए।
१६ वर्षकै उमेरमा विश्वलाई चकित बनाउने गरी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका सचिनको जति प्रशंसा गरे पनि थोरै हुन्छ। उनलाई धेरैले क्रिकेट खेल्नकै लागि जन्मिएका हुन् भन्ने गरेका छन्। विश्व क्रिकेट इतिहासका सबैभन्दा महान् ब्याट्सम्यान अस्ट्रेलियाका डोनाल्ड ब्रेडम्यानले पनि उनलाई इतिहासकै उत्कृष्ट खेलाडी भनेका छन्। त्यसैले सचिन धेरै युवा तथा किशोरका प्रेरणाका स्रोत हुन्, मार्गदर्शक हुन्।
सचिन तेन्दुलकरको जन्म सन् १९७३ अप्रिल २४ मा भारतको मुम्बईमा भएको हो। रमेश तेन्दुलकर र रजनी उनका बामाबुवा हुन्। रमेश चर्चित मराठी उपन्यासकार थिए। रजनी बिमा कम्पनीमा काम गर्थिन्। सचिनका बाबु रमेश संगीतकार सचिन देव बर्मनका ठूला प्रशंसक थिए। त्यसैले उनले आफूलाई मन पर्ने संगीतकारकै नामबाट छोराको नाम जुराइदिएका थिए।
शान्त र लगनशीलताको पर्याय मानिने सचिन बाल्यकालमा भने निकै चञ्चले र झगडालु स्वभावका थिए। उनी सधैं कुनै न कुनै झगडामा फसिरहन्थे। स्कुलमा नयाँ विद्यार्थी आउनासाथ उसलाई धम्क्याउन र पिट्न पनि पछि पर्दैनथे।
सचिन क्रिकेटका ‘जेन्टल म्यान’ हुन्। मैदानमा सधैं शान्त देखिने सचिनको छवि हेर्नेहरू उनी बाल्यकालमा कस्ता थिए भनेर सोच्न बाध्य हुन्छन्। शान्त र लगनशीलताको पर्याय मानिने सचिन बाल्यकालमा भने निकै चञ्चले र झगडालु थिए। उनी सधैं कुनै न कुनै झगडामा फसिरहन्थे। स्कुलमा नयाँ विद्यार्थी आउनासाथ उसलाई धम्क्याउन र पिट्न पनि पछि पर्दैनथे। निकै चकचके सचिन एक पटक ठूलो दुर्घटनाबाट बाँचेका थिए। उनको घाँटी घरको बरन्डाको रेलिङमा अड्किएको थियो। उनी केही घण्टासम्म रेलिङमै फसेका थिए। उनको अवस्था देखेर सबैजना डराएका पनि थिए। लामो प्रयासपछि मात्रै उनलाई सकुशल उद्धार गरिएको थियो।
सचिनलाई सुधार्न दाइ अजितले ठूलो भूमिका खेले। सन् १९८४ मा अजितले सचिनलाई क्रिकेट खेलसँग घुलमिल गराए। साना सचिनलाई अजितले नै रामाकान्त अर्चेकरसँग भेट गराए। रामाकान्त क्रिकेटका चर्चित प्रशिक्षक थिए। पहिलो चोटि अर्चेकरले सचिनको खेल मन पराएनन्। सचिनले पनि आफ्नो क्षमताअनुसार कौशल देखाउन सकेनन्। अजितले भाइलाई अर्को एउटा मौका दिन अनुरोध गरे। त्यसपछि अजितले केही समय आफैंले सचिनलाई क्रिकेट सिकाए। तर, सचिनको रुचि टेनिसमा थियो।
उनले जोन म्याकइन्रोलाई प्रेरणास्रोत मानेका थिए। त्यसैले केही समय उनले क्रिकेटमा खासै ध्यान दिएनन्। यो देखेर अजितले भारतमा टेनिसमा भन्दा क्रिकेटमा भविष्य राम्रो रहेको सम्झाए। उनलाई क्रिकेटमै मेहनत गर्न भने। त्यसपछि सचिन क्रिकेटमै समर्पित भए। छोटो समयमै उत्कृष्ट खेल्न थाले। भाइले राम्रो गर्न थालेपछि उनले फेरि अर्चेकरकहाँ लिएर गए। यसपटक अर्चेकर सचिनको खेल देखेर निकै प्रभावित भए। उनले आफ्नो एकेडेमीमा सचिनलाई भर्ना गरिदिए। उनी घन्टौंसम्म अभ्यास गर्थे।
सन् १९८७ मा सचिन भारतको प्रतिष्ठित रनजी ट्रफीका लागि मुम्बईबाट छनोट भएका थिए। तर उनले लामो समयसम्म प्लेइङ ११ मा स्थान बनाउन सकेनन्। सन् १९८८ मा गुजरातविरुद्धको खेलमा उनले अवसर पाए। उनले आफ्नो पहिलो घरेलु प्रतियोगितामै शतक बनाएर सबैलाई चकित बनाए। घरेलु प्रतियोगितामा चामत्कारिक प्रदर्शन गरेका सचिन सन् १९८९ मा पाकिस्तानविरुद्धको टेस्ट टोलीमा छनोट भए। सचिनलाई लिएर छनोटकर्ताको निकै आलोचना पनि भयो। ती आलोचनाको परवाह नगरी त्यस बेलाका प्रमुख चयनकर्ता राजसिंह डुंगरपुरले उनलाई आफ्नो खेलमा ध्यान दिन सुझाए।
१५ वर्षको उमेरमा टेस्ट टोलीमा छनोट भएका सचिनले पहिलो खेलमा १५ रन मात्र बनाए। पाकिस्तानका वाकर युनिसलगायत फास्ट बलरसँग डटेर खेलेका उनले एक पटक बलले नाकमा लागेर रगत बगिरहँदा पनि त्यसको परवाह नगरी खेलेका थिए। उनले १६ वर्षको उमेर न्युजिल्यान्डविरुद्ध एक सय १७ रन बनाउँदै शतकको खाता खोलेका थिए। त्यसपछि उनले कहिल्यै पछाडि फर्किनु परेन। लगातार कीर्तिमान बनाउँदै गए र ‘मास्टर ब्लास्टर’का रूपमा आफूलाई स्थापित बनाए।
(एजेन्सीको सहयोगमा)