रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : प्रधानमन्त्री ओली
भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोजगारीका लागि युवा विदेश जानुपर्ने बाध्यता हटाउने बताएका छन्। शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ। जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अब चाँडै युवालाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउँछौं। ’देश विकासका लागि अहिले उपयुक्त समय आएको भन्दै ओलीले रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोज्ने उल्लेख गरे।
त्यस्तै अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले कतिपय मान्छे क्रान्तिका नाममा हिंसा भड्काउन लागेको आरोप लगाए। ‘नेपाललाई गरिब बनाई राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हिंसालाई नेपाली समाजले अस्वीकार गरिसकेको छ।’
ओलीले शुक्रबार नै कटुन्जे–सुवर्ण चौक–तीनधारा सडक निर्माणको पनि शिलान्यास गरेका छन्।