विपद व्यवस्थापनमा सहकार्य
चितवन : भत्किएको संरचनामा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलले तालिम सुरु गरेको छ। चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालयमा पाँच देशका सुरक्षाकर्मीको सहभागितामा तालिम सुरु गरिएको हो। तालिमको गहृमन्त्री रामबहादुर थापा बादलले उद्धघाटन गरे।
तालिममा नेपालसहित अफगानिस्थान, माल्दिप्स, श्रीलंका र भुटानका गरी १८ जना विदेशी र ६ जना नेपाली सुरक्षाकर्मीको सहभागीता छ। बिपद्को क्षति न्यूनिकरण र उद्धारका लागी तालिम केन्द्रित तीन हप्तासम्म सञ्चालन हुने छ।
नेपालमा नै पहिलो पटक भत्किएको संरचनामा गरिने खोजी तथा उद्धारका लागि तालिम सञ्चालन भएको हो। ठूला पहाड खसेपछि गरिने कामबारे तालिममा सिकाइनेछ। बिपद्मा परेकालाई सुरक्षित तरीकाबाट उद्धार गरी प्राथमिक उपचारको तरिकाको बारेमा प्रयोगात्मक अभ्याससमेत गराईने सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एवंम् समादेशक किशोर प्रधानले बताए। ‘भूकम्पसहित ठूला पहाड भत्किएको बेला गरिने उद्धारमा केन्द्रित तालिम हो’, उनले।
गृहमन्त्री थापाले बिपद् व्यवस्थापन शिक्षालयले पानीमा डुबेकाहरुको उद्धार कार्य गर्ने तरिकाबारे गरेको प्रदर्शनको अवलोकन गरेका थिए। कुरिनटारस्थित त्रिशुली नदीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले प्रदर्शन गरेका थिए। ‘हत्केलामा ज्यान राखेर जुन काम गर्नुभएको छ त्यसले सिंगो राष्ट्र नै गौरवान्वित भएको छ’ मन्त्री थापाले भने, ‘वर्र्षेनी बाढी पहिरो आउने हाम्रो देशमा ठूलो धन जनको क्षति रोक्न भएको तपाईहरुको भूमिका सराहनीय छ।’