बाँचुन्जेल नेता

बाँचुन्जेल नेता

काठमाडौं : कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा (मसाल) को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो।

सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्। त्यसयताको ४४ वर्ष (एक वर्ष आन्तरिक कारबाही) सिंह निरन्तर शीर्ष नेतृत्व (महासचिव पद) मा छन्। उनी ०५७/०५८ सालमा केही समय कारबाहीमा पर्दा मात्र नेतृत्वमा रहेनन्।

सिंहलाई महाधिवेशनमा पार्टीभित्र टक्कर दिने नेतै देखिएनन्। अन्य केही नेताले भित्री आकांक्षा देखाए पनि सिंहसामु नेतृत्वको दाबी गर्ने हिम्मत कसैले गरेनन्। यसरी सिंह पाँचौंपटक महामन्त्री भए।

‘केन्द्रीय समितिमा नयाँ पुस्ताका पनि चुनिनुभएको छ, हामी पुराना पुस्ताका पनि छौं,’ सिंहले अन्नपूर्णसँग भने, ‘नेतृत्वको निर्णय महाधिवेशनले गर्ने हो। आवश्यकताले कसलाई दिँदा उपयुक्त हुन्छ भन्ने ठान्छ, उसैलाई दिने हो, मलाई आवश्यकता ठान्यो अनि आफैंले नेतृत्व लिएँ।’

सिंह २०१४ सालदेखि नै नेकपाको केन्द्रीय समितिमा छन्। वयोवृद्ध सिंहले नेतृत्व नछोड्दा नेताहरू पदमा बस्न निकै लालायित हुँदा रहेछन् भन्ने सन्देश गएको छ। सिंह भने साथीहरूको विश्वास र आफ्नो सक्रियताले नेतृत्वमा रहिरहेको जिकिर गर्छन्। उनी भन्छन्, ‘लेनिनवादी सिद्धान्त भनेको नेतृत्वमा भरसक निरन्तरता हुनुपर्छ भन्ने हो। आवश्यकताअनुसार परिवर्तन पनि हुन सक्छ। तर साथीहरूको विश्वास र आफ्नै सक्रियताले मैले फेरि नेतृत्व पाएको हुँ।’

सिंह त उदाहरण मात्र हुन्। नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने धेरै नेता छन्। कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र माले महासचिव सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन्। यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन्।

सेक्टर काण्डपछि ०४६ भदौमा तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य (किरण) ले सुम्पेयता दाहालले नेतृत्व छोड्नुपरेको छैन। पार्टीको नाम पटकपटक फेरियो, तर पार्टी हाँक्ने जिम्मेवारी दाहालकै काँधमा छ।

दाहालले नेतृत्व गरेको नेकपा (मशाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत (माओवादी), माओवादी केन्द्र हुँदै अहिले नेकपा बनेको छ। दाहाल उनले एकल अध्यक्षदेखि सामूहिक नेतृत्वसम्म गरिरहेका छन्।

उनले गत वर्षदेखि हालका प्रधानमन्त्रीसमेत रहेका केपी ओलीसँग सामूहिक नेतृत्वमा पार्टी हाँकिरहेका छन्। तत्कालीन एमालेसँग एकता गरेपछि उनले आफ्नो भूमिका कमजोर भएको ठानेका त छन्, तर अधिकार खोजीमा उनका पछिल्ला अभिव्यक्ति ‘प्रखर’ रूपमा आउन थालेको छ। दाहालले कहिले महामन्त्री त कहिले अध्यक्षका रूपमा निरन्तर पार्टी नेतृत्व हाँकेको तीन दशक बितेको छ। उनी अझै नेकपाको एकता महाधिवेशनबाट एकल नेतृत्व गर्ने योजनामा छन्।

निरन्तर नेतृत्वमा रहने अर्का नेता हुन् माले महासचिव सीपी मैनाली। उनी ०३५ देखि ०३९ सम्म तत्कालीन मालेको महासचिव थिए। ०५४ मा एमाले छाडेर मैनाली, वामदेव गौतमलगायतले माले पुनर्गठन गरे। वामदेव ०५८ मा एमालेमै फर्किए। तर मैनाली फर्किन मानेनन्। उनले आफ्नै नेतृत्वमा सानो समूह सञ्चालन गरिरहे। माले ०५८ सालयता मैनालीकै नेतृत्वमा छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि निरन्तर पार्टी नेतृत्व सम्हाल्ने नेता हुन्। ८२ वर्ष पार गरिसकेका बिजुक्छे नेमकिपाको सुरुदेखि एकछत्र नेतृत्वमा छन्। ०३१ सालमा नेपाल मजदुर किसान संगठनको नेतृत्वमा रहेका बिजुक्छे ०४६ पछि पार्टी आकारमा आएको नेमकिपा नेतृत्वमा छन्। उनले गत संसद्को चुनावमा नउठेर पुस्ता हस्तान्तरण गरे। तर पार्टी नेतृत्व भने कब्जामै राखेका छन्।

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीमा पनि उस्तै अवस्था छ। उक्त पार्टीको अध्यक्षमा उपेन्द्र यादव छन्। सुरुमा एनजीओ बनाएका मधेसी जनअधिकार फोरमलाई यादवले ०६३ सालदेखि पार्टी बनाए। त्यसयता उनले पार्टी नेतृत्व छोडेका छैनन्। उनले बेलाबखत अन्य पार्टीसँग एकता गरेका छन्, पार्टी नाम फेरका छन् तर नेतृत्व छोडेका छैनन्।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकतापछि भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएर यादवले कार्यकारी अध्यक्ष आफैंले राखेका छन्।

चालीसको दशकमा नेतृत्व सहज हस्तान्तरण गरेका कम्युनिस्ट नेता मोहन वैद्यको हकमा पनि पछिल्लोपटक नेतृत्व आफंैमा सीमित राख्न खाजेको आरोप लाग्न थालेको छ। तत्कालीन माओवादी विभाजनपछि ०६९ सालमा वैद्यकै नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो। त्यसपछि वैद्य पनि निरन्तर पार्टी नेतृत्वमा छन्। उनी अहिले नेकपा (क्रान्तिकारी माओवादी) को महासचिव छन्। पहिले अध्यक्षात्मक प्रणालीमा रहेको उनको पार्टीले केही समय अगाडि राष्ट्रिय सम्मेलन गरेर महासचिव प्राणालीमा गएको हो।

राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्व हस्तान्तरण गर्न नचाहने नेतामै गनिन्छन्। उनले पनि ०६४ सालदेखि पार्टी नेतृत्वमा एकछत्र राज गरिरहेका छन्।

कांग्रेसमा भने गिरिजाप्रसाद कोइराला छँदासम्म उनकै कब्जामा पार्टी थियो। निरन्तर १३ वर्ष सभापति बनेका कोइराला पार्टी सभापति रहेका अवस्थामा दिवंगत भए।


टिप्पणी

 जब्बर प्रवृत्ति
 कृष्ण पोखरेल, राजनीतिक विश्लेषक

दलका नेताहरू सितिमिति नेतृत्व छाड्न चाहँदैनन । नेपालमा मात्र होइन, अन्य कतिपय देशमा पनि त्यही अवस्था छ । नेतृत्व छाडेपछि अरू काम गर्ने ठाँउ हुँदैन । विकसित मुलुकका नेताहरुले भने नेतृत्व छोडेपछि समाजका अरू क्षेत्रमा काम गर्छन् । संस्मरण लेख्छन् । त्यसको बिक्रीवितरणबाट राम्रै आम्दानी गर्छन् । आफ्ना अनुभव आदानप्रदानका लागि विभिन्न ठाउँमा जान्छन् ।

तर हामीकहाँ त्यस्तो केही छैन । नेपालमा मात्र होइन, विकासोन्मुख मुलुक जहाँ पनि कुनै नेता राजनीतिक दलको नेतृत्वमा आएपछि हत्तपत्त नेतृत्व छोड्न चाहँदैन । कि मरेपछि मात्र नेतृत्व अर्काेमा सरेको वा हस्तान्तरण भएको छ । कि त कुनै विशेष कारणले अर्काे कुनै नेता स्थापित भएर, शक्तिशाली भएर आएपछि मात्र नेतृत्व परिवर्तन भएको छ ।

कम्युनिस्ट पार्टीमा हेर्ने हो भने त टुटफुट र विभाजनपछि मात्र नेतृत्वमा अर्काे व्यक्ति आएको देखिएको छ । मोहनविक्रमदेखि पुष्पकमल दाहालसम्म, नारायणमान बिजुक्छेदेखि सीपी मैनालीसम्म निरन्तर नेृतत्वमा रहिरहनु त्यसैको एउटा कडी हो । अहिले नेकपा (मसाल) मा फेरि पनि मोहनविक्रम सिंह वयोवृद्ध अवस्थामा नेतृत्वमा आउनुभएको छ । भूमिगत अवस्थामा सम्पन्न पार्टी महाधिवेशनले उहाँ (सिंह) लाई नै पार्टी महासचिव निर्वाचित गरेर नेतृत्वमा ल्याएको छ । उहाँँ नै निरन्तर नेतृत्वमा आइरहनुको कारण त्यही हो । अन्यमा पनि अवस्था त्यही छ । मसाल वान म्यान वान पार्टी जस्तो पनि हो । मोहनविक्रम नै हो उक्त पार्टीको सबै थोक । अनि अरूले कसरी नेतृत्वमा आउन पाउँछन् ?

उहाँकै पार्टीले संसदीय मोर्चाका रूपमा राष्ट्रिय जनमोर्चा बनाएर फेरि अर्काे वयोवृद्ध नेता चित्रबहादुर केसीलाई पनि अध्यक्ष बनाइराखेको छ । त्यो मोर्चाले चुनाव लड्ने र पार्टी अर्धभूमिगत राख्ने पुरानो निर्णयमा उहाँहरू अडिग भइरहनुभएको छ । लेनिनको पालादेखि नै निश्चित समय मोर्चा बनाएर चुनाव लड्ने र पार्टी भूमिगत बनाउने प्रचलन थियो ।

कम्युनिस्ट पार्टीको पुरानो धङधङी मोहनविक्रमको मसालमा जीवितै छ । त्यसैकारण पनि अरूको भन्दा भिन्न अवस्था पनि छ उहाँहरूको । उहाँको एउटा सोच छ, त्यो सोचवाट निर्देशित भएका मान्छेको बीचमा उहाँ नै दार्शनिक हो, उहाँ नै नेता हो । त्यहाँभित्र अर्काे कोही निस्केको छैन । उहाँको शेषपछि यो पार्टी नै अर्काे ढंगले बिस्तारै हराएर जान्छ ।

नेपाली कांग्रेसमा हेर्नुहुन्छ भने प्रायः नेतृत्वकर्ताको निधनपछि अर्काे आउन पाएको छ । अपवादका रूपमा मात्रै कोही नेता स्थापित भएर आई नेतृत्व परिवर्तन भएको छ । अन्यथा भएको छैन । कृष्णप्रसाद भट्टराईलाई विस्थापित गरेर गिरिजाप्रसाद कोइराला आउनुभयो । होइन भने गिरिजाप्रसाद कोइरालाको निधनपछि सुशील कोइराला र सुशीलको निधनपछि मात्र अहिलेका सभापति शेरबहादुर देउवा नेतृत्वमा आउनुभएको हो । नत्र जीवितै रहँदा नेतृत्वमा आउन सक्नुभएको थिएन । अगाडि पनि बीपीको निधनपछि मात्र कार्यवाहक बनाइएको थियो कृष्णप्रसाद भट्टराईलाई ।

कम्युनिस्ट पार्टीहरूले पार्टी विधानमा यति वर्षपछि राजनीतिबाट रिटार्यड हुने भनेर व्यवस्था गर्न खोजेका थिए । यसको अभ्यास तत्कालीन अवस्थामा नेकपा एमालेले गर्न खोजेको थियो । तर अहिले माओवादीसँगको एकताका क्रममा ती सवै विषय छोडिए । नयाँ विधानमा त्यो कुरा हटाइयो । प्रधानमन्त्रीको पद गयो, फेरि अर्काे पटक प्रधानमन्त्री बन्न अवसर आइहाल्छ कि भनेर लाइनमा उभिहाल्ने प्रवृत्ति राजनीतिक नेताहरूमा छ ।

जिन्दगीभर राजनीति गरेको छु, अरू कुनै काम छैन । समाजले अरू कुनै काममा लाग्यो भने के भन्ला ? त्यसमा स्थान पाऊँला÷नपाऊँला भनेर पनि सकुन्जेल लागिरहने प्रवृत्ति दलहरुमा देखिन्छ । परिस्थितिले नै किनारा लगाए मात्र अलग कुरा, नत्र निरन्तर नेतृत्व नछोड्ने जब्बर प्रवृत्ति कांग्रेस–कम्युनिस्ट सबैमा देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.