संघर्षले खारिएकी सारापोभा

संघर्षले खारिएकी सारापोभा

मारिया सारापोभा त्यस्ती महिला टेनिस खेलाडी हुन्, जसलाई कोर्टभित्र र बाहिर उत्तिकै रुचाइने गरिएको छ। कोर्टभित्र गरेको प्रदर्शन र कोर्टबाहिरको गसिपले सारापोभालाई सदैव चर्चामा ल्याउने गर्छ। पाँच पटककी ग्रान्डस्लाम विजेता तथा पूर्वशीर्ष विश्व वरीयताकी सारापोभा विश्वका सुन्दर खेलाडीमध्येमा पर्छिन्। उनको सुन्दरताले हरकोहीलाई लोभ्याउने गर्छ। सारापोभा टेनिस कोर्टमा उदाउनुअघि अर्की रुसी टेनिस खेलाडीको खुबै चर्चा हुने गथ्र्यो।

कोर्टभित्र खासै जम्न नसके पनि कोर्टबाहिर चर्चाको शिखरमा रहेकी थिइन्, अन्ना कोर्निकोभा। खासगरी उनको सुन्दरताले विश्व उनको पछि लागेको थियो। जब टेनिसमा सारापोभाको उदय भयो, तब कोर्निकोभाको चर्चा विस्तारै सेलाउन थाल्यो। किनभने कोर्निकोभाको सुन्दरतालाई अर्की रुसी सुन्दरी सारापोभाले छायाँमा पारेकी थिइन्। सारापोभा टेनिस कोर्टबाहिर मात्र होइन, कोर्टभित्र पनि त्यत्तिकै सफल थिइन्। उनले अन्तर्राष्ट्रिय टेनिसमा पाइला चालेको छोटो समयमै ठूला उपलब्धि हासिल गरेकी थिइन्।

सन् २००१ बाट विश्व टेनिस महासंघ (डब्ल्यूटीए)को प्रतियोगितामा प्रतिस्पर्धा गर्न सुरु गरेकी सारापोभा फरकफरक समयमा पाँच पटक महिलाको शीर्ष वरीयतामा पुगेकी थिइन्। उनी कुल २१ साता शीर्ष वरीयतामा बसेकी थिइन्। ग्रान्डस्लाम जित्ने विश्वकै १० खेलाडीमध्येकी एक तथा रसियाकी एक्ली महिला खेलाडी पनि हुन् सारापोभा। उनीसँग ओलम्पिक पदक पनि छ। सन् २०१२ मा लन्डनमा भएको ओलम्पिक खेलकुदको टेनिस महिला सिंगल्सतर्फ उनले रजत जितेकी थिइन्।

तर, सारापोभाले त्यत्तिकै यो सफलता हासिल गरेकी होइनन्। यसका लागि उनले निकै ठूलो संघर्ष गरेकी छन्। उनलाई खेलाडी बनाउन बुवाआमाले ठूलो दुःख गरेका छन्। छोरीको सपना साकार बनाउन आफ्ना चाहना र इच्छालाई तिलाञ्जलि दिएका थिए। बुवाआमाको समर्पणलाई मारिया सारापोभाले खेर जान दिइनन्। उनले बुवाआमाको सपना साकार पारिन्। आफूलाई निखार्न उनले निकै मेहनत गरिन्। र्‍याकेट समाउँदा समाउँदा पाखुरा साह्रै दुख्थ्यो। खेल्दाखेल्दै खुट्टा पनि बाउँडिन्थ्यो। तर, उनले त्यसको परवाह गरिनन्। मेहनत नगरी सुख पाइँदैन भन्ने बुवाको भनाइलाई शिरोधार्य गरिन् र मेहनतलाई नै आफ्नो कर्म बनाइन्।

सन् १९८७ मा रुसको न्यागन सिबेरियामा जन्मिएकी सारापोभाले सानै उमेरदेखि र्‍याकेट समातेकी हुन्। सारापोभाका बुवा युरी र आमा ऐलेना बेलारुसको गोमेलका स्थायी बासिन्दा थिए। सन् १९८६ मा चेर्नोविलमा आणविक दुर्घटना भएपछि उनीहरूले आफ्नो गाउँ छाडेर न्यागन पुगेका थिए। उनीहरू बसाइँ सरेको एक वर्षपछि सारापोभा जन्मिएकी थिइन्। सारापोभा दुई वर्षको भएपछि उनको परिवार सोची बसाइँ सर्‍यो।

युरीले आफ्ना मित्र अलेक्जेन्डर काफिलनिकोभको आग्रहमा सारापोभालाई टेनिस खेल्न लगाएका थिए। अलेक्जेन्डरका छोरा युभजेनी टेनिसमा कहलिएका खेलाडी थिए। दुईवटा ग्रान्डस्लामको उपाधि विजेता युभजेनी विश्व नम्बर एकको उपाधि जित्ने पहिलो रुसी खेलाडी पनि थिए। त्यही कारण अलेक्जेन्डरले सारापोभालाई टेनिसमै लगाउन जोड गरेका थिए। उनले सन् १९९१ मा विश्वचर्चित छोराको र्‍याकेट दिएर टेनिस खेल्न हौस्याएका थिए।

सानो उमेरमै विश्वचर्चित खेलाडीको र्‍याकेट बोकेकी सारापोभाले बुवासँगै स्थानीय प्रतियोगिताहरूमा सहभागिता जनाउन थालिन्। सारापोभाले चार वर्षको उमेरमै चर्चित रुसी प्रशिक्षक युरी युट्किनसँग सिक्ने अवसर पाइन्। सारापोभाको टेनिसप्रतिको रुचि देखेर छक्क परेका युरीले उनलाई निखार्न कुनै कसर बाँकी राखेनन्। दुई वर्ष युरीसँग प्रशिक्षण लिएकी सारापोभाले सन् १९९३ मा ६ वर्षको हुँदा मस्कोमा आयोजना भएको टेनिस क्लिनिकमा सहभागी हुने अवसर पाइन्।

सारापोभालाई मार्टिना नाभरातिलोभाले अमेरिकाको आईएमजी एकेडेमीमा जान सुझाइन्। त्यही एकेडेमीबाट आन्द्रे आगासी, मोनिका सेलेस, अन्ना कोर्निकोभालगायतका विश्वचर्चित खेलाडी उत्पादन भएका थिए। अमेरिकाको फ्लोरिडामा जानका लागि सारापोभाको बुवासँग एथेष्ट पैसा थिएन्। तर पनि युरीले हार मानेनन्, सारापोभालाई फ्लोरिडा पठाउन पैसाको जोहो गर्न लागे। केही पैसा जम्मा भएपछि उनीहरू अमेरिका जाने तयारीमा लागे। सारापोभा र युरीलाई भिसा दिए पनि आमालाई भने भिसा दिएन्। आमालाई रुसमै छाडेर सारापोभा बुवासँग अमेरिका गइन्। छोरीका लागि खर्च जुटाउन युरीले विभिन्न काम गरे। भाँडा माझ्नेदेखि गाडी धुनेसम्मको काम गरेर पैसा जम्मा गरे। निकै मेहनत गरेर कमाएको पैसा बुझाएर युरीले छोरीलाई एकेडेमीमा भर्ना गराए। वार्षिक ३५ हजार डलरमा सारापोभाले आईएमजी एकेडेमीमा भर्ना पाइन्। उनले एकेडेमीबाट विभिन्न प्रतियोगिताको उपाधि जितिन्।

उनले एकेडेमीद्वारा प्रदान गरिने राइजिङ स्टार अवार्ड जितिन्। उनले १४ वर्षको उमेरमा सन् २००१ मा व्यावसायिक टेनिसमा पाइला चालिन्। उनले १४ वर्ष नौ महिनाको उमेरमा अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाइन्। यसपछि उनले कहिल्यै पछाडि फर्केएर हेर्नु परेन। सफलता उनका पछाडि लागिरहे।

सारापोभा यस्ती खेलाडी हुन्, जसले प्रायोजकबाट ठूलो साथ पाइरहिन्। लगातार ११ वर्ष विश्वकै मार्केटेवल खेलाडीको सूचीमा अग्रस्थानमा रहेकी सारापोभा प्रतिबन्धमा पर्दासमेत प्रायोजकले उनको साथ छाडेनन्। सन् २०१६ मा डोपिङमा असफल भएर प्रतिबन्धमा रहँदा पनि उनले प्रायोजकको साथ पाइरहिन्। यही कारण उनी संसारमा सर्वाधिक कमाइ गर्ने टेनिस खेलाडीमा दरिन पुगिन्।

वाडाले प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन गरेको अभियोग लगाएपछि अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ)ले उनलाई सन् २०१६ मा दुई वर्षको प्रतिबन्ध लगाइदिएको थियो। उनको अपिलपछि इन्टरनेसनल कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर््सले प्रतिबन्ध १५ महिनामा छोट्याइदिएको थियो। १५ महिनाको प्रतिबन्धको अवधि कटाएर सारापोभा टेनिस कोर्टमा फर्किसकेकी छन् र अन्तर्राष्ट्रिय सफलता पनि हासिल गरिरहेकी छन्। उनी अहिले पुरानै फर्ममा आउन लगातार मेहनत गरिरहेकी छन्। आफ्नो जीवनमा धेरै संघर्ष गरेकी सारापोभाले त्यही संघर्षबाट सफलताको शिखर चुम्दै आएकी छन्। - एजेन्सीको सहयोगमा
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.