आत्तिनु हुन्न मिन्स हुँदा
ललितपुर लुभूमा बस्छिन्, वीना सिलवाल। कक्षा ७ को पढाइ भर्खर सुरु भएको थियो। उनी पहिलो पटक महिनावारी भइन्। पेट असाध्यै दुख्यो उनलाई। ‘हेर न मेरो त यहाँ पनि घाउ भएछ’, आफ्नो मिल्ने साथीलाई उनले यसै भनिन्। शिक्षिकाले उनकी आमालाई विद्यालयमै बोलाइन्। आमाले उनलाई पतिको साथीको घरमा लगेर राखिन्। त्यहाँ उनी १५ दिनसम्म बसिन्।
पहिलोपटक भएकाले वीनालाई प्याड लगाउने तरिका थाहा थिएन। उनले घरबेटी आन्टीलाई सोधिन्। आन्टीले गम निकालेर टाँस्ने भनेर सिकाइन्। उनले पनि त्यसै गरिन्। प्याडबाट रगत लिक भएपछि उनले त्यसलाई निकाल्ने प्रयास गरिन्। तर प्याड उनको भित्री अंगमै टाँसिइसकेकाले निकाल्न सकिनन्। त्यतिबेला दुखाइले उनी धेरै रोइन्। उनकी दिदीले त्यसलाई निकालेर त्यहाँ भएका घाउमा बेटाडिन लगाइदिइन्। घाउ निको हुने मल्हम लगाएको एक सातापछि मात्र उनलाई पोलेको निको भयो।
उनी बसेको घर आफ्नो घर नजिकै थियो। आफ्नो घरको न्यास्रो लागेर उनी घरतिर हेरेर बस्थिन्। ‘ए घरको धुरी हेर्नु हुन्न, आमाबाबुलाई पिर्छ’ सबैले यसै भन्थे। तर उनलाई थाहा थिएन के हो पिर्ने भनेको। तैपनि सबैले भनेपछि होला नि भनेर उनले हेर्न छाडिदिइन्। हिँड्दा दुबोमा टेक्नु हुँदैन भन्थे। अनि लुगा सुकाउँदा डोरीमा सुकाउनु हुन्न भन्थे। यो १५ दिनको अवधिभर उनले आफ्नो शारीरिक परिवर्तनले गर्दा परेको पीडा त सहिन्।
काठमाडौं नजिकैको ठाउँमा हुर्के पनि समाजका यस्ता विभेद र व्यवहारले धेरै मनोवैज्ञानिक समस्या झेलिन्। सिरहा मिर्चैयाकी अञ्जना खड्का काठमाडौंकै एक विद्यालयमा पढ्थिन्। ९ कक्षाको आधाआधी भइसकेको थियो। घरमै बसेको बेला एक दिन उनी महिनावारी भइन्। पेट पनि धेरै दुखेकाले उनले रुँदै बाबालाई भनिन् ,‘ड्याडी रगत पनि आइरहेको छ।’ उनका बाबा चुपचाप नबोली बसिरहे। छोरी निकै रुन थालेपछि उनले आमालाई भन भने। आमा बाहिर गएकी थिइन्। घर आएपछि छोरीलाई बाथरुममा लगेर सबै सरसफाइ गराइन्। अनि प्याड पनि लगाइदिइन्। उनलाई राख्न फुपूको घरमा लगिएको थियो। तर त्यहाँ उनी दुई दिन पनि बस्न मानिनन्। फेरि आमाले घरमै ल्याएर एउटा कोठामा राखिदिइन्। प्याड लगाउँदा दुखेर आमाले कपडा लगाइदिएकी थिइन्। एक दिन ट्वाइलेट जाँदा कपडा बाटैमा झरेछ। उनको दाजुले देखेर ‘ए तेरो के खसेछ’ भनेको सम्झँदै उनी पेट मिचिमिची हाँस्छिन्।
दक्षिणकालीकी आशिका भण्डारीलाई यस बारेमा उनकी आमाले पहिलेदेखि नै भन्ने गरेकी थिइन्। त्यसैले उनी पहिलो महिनावारीमा त्यति आत्तिइनन्। महिनावारी भएका बेला उनकी आमा छोरीकै कोठामा सुत्थिन्। तर एक दिन आमा टेलिभिजन हेर्दै रमाइरहेकीले उनी ढोका लगाएर सुतिन्। बेलुकी छोरीले ढोका नखोले पछि परिवारमा सबै आत्तिएछन्। राति ३ बजे आशिका ब्युँझिएपछि निकै डराइन्। आफ्नी आमालाई बोलाएर ल्याएपछि उनी बल्ल निदाइन्। शान्तिनगरस्थित बेबिलन स्कुलमा कक्षा ७ मा पढ्ने सब्रिना थापा दुबई घुम्न गएको बेलामा महिनावारी भएकी थिइन्। त्यतिबेला उनी कक्षा ६ मा पढ्थिन्। राति सुतेकै बेला भएकाले उनले लगाएको हाफ पाइन्टमा पनि रातो लागेको रहेछ। के होला भनेर उनले टिस्यु राखेकी थिइन्। पहिलो पटक महिनावारी हुँदा उनी त्यति आत्तिइनन्। किनकि घरमा सबैजना भइरहने हुनाले यसबारे उनलाई थाहा थियो। तर प्याड लगाउनुपर्छ भन्ने चाहिँ उनलाई थाहा थिएन। उनकै साथी युनिशा श्रेष्ठलाई भने पहिलोपटक धेरै डर लागेको थियो। ममी, बाबा र दिदीले तिमी मिन्स भएको हो, नडराउ भनेपछि उनी नर्मल भइन्। ६ कक्षा पढ्दा नै उनी भएकी थिइन्। पेट पनि धेरै दुखेको थियो।
उनकै कक्षाकी प्रकृति कुमारी साह भने आफ्नै जन्मदिनको दिन भएकी थिइन्। जन्मदिन मनाउने विषयमा निकै उत्साहित प्रकृति मिन्स भएपछि निकै रोएकी थिइन्। तर उनको जन्मदिनको कार्यक्रम भने रोकिएन। त्यसैले गर्दा पनि उनी खुसी नै भइन्। रिया यादव गत चैतमा मात्रै महिनावारी भएकी हुन्। अहिले दुई पटक भइन्। आफ्नी बेस्ट प्रे्रmन्डलाई भनेर ममीलाई स्कुलमा बोलाइन्। घरमा ममीले प्याड लगाउन सिकाइदिनुभयो। त्यतिबेला पेट दुखेको उनलाई सम्झना छ। तर पनि महिनावारी एक जैविक प्रक्रिया भएकाले आत्तिनु नहुने सन्देश उनी आफ्ना साथीलाई दिन चाहन्छिन्। स्त्रीरोग विशेषज्ञका अनुसार पहिलो पटक महिनावारी हुँदा शरीरमा रहेका हर्मोनमा परिवर्तन हुने हुँदा धेरै शारीरिक परिवर्तन पनि देखिन्छन्। यस्ता परिवर्तन सामान्य भएकाले पहिलो पटक महिनावारी हुँदा किशोरीले आफूमा हुने शारीरिक र मानसिक असरप्रति नआत्तिकन दिनचर्यालाई सामान्य बनाउनुपर्ने चिकित्सकको सुझाव छ।
महिनावारीका लक्षणहरू
राम्रै कुरा सुन्दा पनि चिटचिट हुनु रिस उठ्नु
अनुहारमा डन्डिफोर आउन थाल्नु
वाकवाकी लाग्नु
ढाड र कम्मर दुख्नु
तल्लो पेट दुख्नु
सेतो पानी बग्नु
दुखाइ कम गर्न यसो गरौं
दैनिक ९ देखि १२ गिलास पानी पिउने
तातो पानी र तातो सुप पिउने
हट वाटर ब्यागले पेट र कम्मरलाई सेक्ने
साधारण व्यायामहरू गर्नेयसरी लगाइन्छ प्याड
शान्तिनगरस्थित बेबिलन नेसनल स्कुलमा विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी प्याड लगाउने तरिका सिकाइएको छ। कतिपय अवस्थामा आमाहरूले पनि आफ्ना छोरीलाई प्याड लगाउने तरिका बताउन हिचकिचाउने र कतिपयले गलत तरिकाले सिकाउने भएकाले आमाहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।
युनाइटेड डिस्ट्रिब्युटरको तर्फबाट सुजिता प्रधान र छायाँ महर्जनले विद्यार्थीलाई महिनावारी कीन हुन्छ, यसका लक्षण, यो हुँदा अपनाउनुपर्ने सावधानी, प्याड लगाउने र यसलाई डिस्पोज गर्ने तरिका समेत सिकाएका छन्। पहिले प्याडलाई यसको खोलबाट निकाल्नु पर्दछ। त्यसपछि यसमा टाँसिएको कागजलाई बिस्तारै निकाल्नु पर्दछ।
यसरी गम भएको टाँस्सिने भागलाई आफ्नो पेन्टीको बीचमा टाँस्नु पर्दछ। आवश्यकताअनुसार प्याडलाई दुई तीन घण्टामा पनि परिवर्तन गर्न सकिन्छ। तर अधिकतम ६ घण्टा बढी समयसम्म एउटै प्याड लगाइराख्नु भने हुँदैन। यसरी प्याडलाई पेन्टीबाट निकालिसकेपछि विस्तारै त्यसलाई बटार्ने र प्याडको खोलमा वा पत्रिकामा बेरेर डस्टबिनमा फ्याँकिदिनु पर्दछ। प्याडलाई कहिले पनि ट्वाइलेटमा हालेर फ्लस गर्नु हुँदैन। अन्तिममा साबुनपानीले राम्रोसँग हात धुनुपर्छ।