ओखलढुंगामा पुनर्निर्माण ८३ प्रतिशत सकियो तर बस्ती स्थानान्तरण अन्योल
ओखलढुंगा : ओखलढुंगामा भूकम्पपछिको पुनर्निर्माणको काम ८३ प्रतिशत सकिएको बताइएको छ ।
भूकम्पबाट निजी आवाश गुमाएका पीडितहरुमध्ये ८३ प्रतिशतले घर निर्माण गरेर तेस्रो किस्ता अनुदान समेत लिइसकेका छन् । ०७२ बैशाख १२, १३ र २९ गतेको भूकम्पका कारण २१ हजार ३ सय ३८ घर पूर्ण रुपमा ध्वस्त भएका थिए । तीमध्ये २० हजार ४ सय ७३ जनाले पहिलो किस्ता अनुदान लिएकोमा हालसम्म १६ हजार ९ सय ३८ जनाले तेस्रो किस्ता अनुदान लिएका हुन् ।
तेस्रो किस्ता लिन घर निर्माण सम्पन्न गर्नुपर्ने भएकाले सोही संख्यामा निजी आवाश पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । इकाइ प्रमुख युवराज खरेलका अनुसार २ हजार घरहरु निर्माण सम्पन्न हुने चरणमा छन् । घर पूर्ण क्षतिमा परेर पनि जिल्लाभरका ८ सय ६२ जना लाभग्राहीले अनुदान सम्झौता गरेका छैनन् भने सम्झौता गरेर पहिलो किस्ता खातामा आए पनि रकम नलिएका २ सय रहेको खरेलले जानकारी दिए ।
अनुदान नलिनेहरुको विवरण स्थानीय तहमा पठाइ लिन जानकारी गराउने काम भएको उनको भनाइ छ । भूकम्पले षति भएका पाँच सरकारी भवन र दुई सडक निर्माणाधीन अवस्थामा रहेका छन् भने आठ ओटा खानेपानी समेत निर्माणको चरणमा छन् ।
स्थानीय सरकार, कर्मचारी तथा जनप्रतिनिधिको सकारात्मक सहयोगका कारण पुनः निर्माणको कामले गति लिएको इकाइका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले बताइन् । उनले भूकम्पका कारण मानव बस्ती मात्र नभइ खानेपानीका मुहान सुक्ने पहिरो जान्जस्ता विपद् निम्तिएको बताइन् । पुनः निर्माणका चरणमा रुख कटान बढेको, पानीका स्रोत मासेर सडक निर्माण गरेकाजस्ता कारणले भूकम्पपछि वातावरणमा नकारात्मक असर परेको अधिकारीको भनाइ छ ।
बस्ती स्थानान्तरण सुस्त
भूकम्पपछि आवाश पुनर्निर्माण सकिन लागे पनि बस्ती स्थानान्तरणको काम सुस्त छ । साथै शैक्षिक संस्थाको पुनर्निर्माण पनि सुस्त हुँदै छ । भूकम्पपछिको पहिरोका कारण स्थानान्तरण गर्नुपर्ने १ सय ९९ परिवार भए पनि अहिलेसम्म ९३ परिवारका लागि जग्गा व्यवस्थापन गरिएको छ । उनीहरुको स्थानान्तरणको काम घर निर्माणपछि मात्र हुने बताइएको छ । अन्य परिवारको अझै जग्गा यकिन भइसकेको छैन ।
भूकम्पपछिको पहिरोले मोलुङ गाउँपालिकको हर्कपुर र प्राप्चा, लिखुको टारकेराबारी, खिजीदेम्वाको रगनी, चम्पादेवीको विलन्दु र चिसंखुगढी गाउँपालिकाको माम्खा लगायत बस्ती पहिरोका जोखिममा रहेको भूगर्भविद्ले बताएका छन् ।
पहिरोका कारण घर बनाउन घडेरी समेत जोखिममा परेका क्षेत्रमा भूर्गभविद्कै सिफारिसका आधारमा बस्ती स्थानान्तरणको काम सुरु भएको थियो । यसको प्रक्रिया र जग्गा प्राप्तीका चरणले समयमा सोचेजस्तो प्रगति नभएको खरेलले बताए । उनले विस्थापितहरुलाई जग्गा खरिद गरेपछि एकीकृत बस्ती निर्माण लगायत संभाव्यता अध्ययन तथा व्यक्तिका चाहना आदिका कारण समयमा प्रगति देखाउन कठिन भएको उनको भनाइ छ ।