सीसी क्यामेरा जोडेपछि चोरी घट्यो, रक्सीले मातेर हल्ला गर्न छाडे
पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा ६ महिनाअघि एकै दिनमा ११ घर फोरिए । सार्दिखोला बचत तथा ऋण सहकारी फोरेर १ लाख रुपौयाँ चोरी भयो । गाउँमा चोरीका घट्ना निकै बढ्यो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्र पर्ने यस गाउँको माथिल्लो क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी र जडीबुटीसमेत गैह्कानुनी रुपमा बाहिरिने गरेको थियो ।
गाउँमा चोरी बढेपछि सीसी क्यामेरा जडान गर्ने उपाय खोजिएको वडा अध्यक्ष बिक्रम गुरुङले बताए । गत फागुन महिनामा गाउँका ११ ठाउँमा सीसी क्यामेरा जडान भएपछि भने चोरीका घट्ना रोकिएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । दिनमा हुने मात्र होइन राति हुने गतिबिधिसमेत अहिले सीसी क्यामेराबाट निगरानी हुँदैआएको छ ।
सीसी क्योमेरा जडापछि चोरीका घट्ना मात्र होइन राति रक्सी खाएर होहल्ला गर्ने कार्य पनि नियन्त्रण भएको भुजुङखोला टोल विकास संस्थाका अध्यक्ष सुमन श्रेष्ठले बताए। वडा अध्यक्ष गुरुङकाअनुसार माछापुच्छ्रे गाउँपालिकाको ५ लाख र अन्नपूर्ण संरक्षण क्षेत्रको २ लाख ७५ हजार लगानीमा सीसी क्यामेरा जडान गरिएको हो ।
गाउँमा चोरीका घट्ना बढेपछि वडाको मागअनुसार सीसी क्यामेराका लागि बजेटको व्यवस्था गरेको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।
गाउँमा चोरीका घट्ना घटेपछि गाउँलेलाई ढुक्क भएको छ । वन्यजन्तुको अबैध चोरी शिकारीको पनि नियन्त्रण हुने वडा अध्यक्ष बिक्रमले विश्वास गरे । संरक्षण क्षेत्रको सम्भावित चोरी शिकार हुने क्षेत्रमा पनि क्यामेरा जडा गर्न सके नियन्त्रण हुने अन्नपूर्ण संरक्षण व्यवस्थापन समिति सार्दीखोलाका पूर्व अध्यक्षसमेत रहेका वडा अध्यक्ष गुरुङले बताए ।
माछापुच्छ्रे गाउँपालिकाको पिपर, खुमाई क्षेत्रमा कालीज प्रजातीका चरा चोरी शिकारी हुने गरेको संरक्षणकर्मीको भनाइ छ । यस क्षेत्रमा डाँफे, मुनाल, फोक्रास, लगायतका ५ कालिज प्रजातीका चराको वासस्थान हो । पछिल्लो समय चोरी शिकारका कारण यस क्षत्रेका कालिज प्रजातीका चरा संकटमा पर्दै गएको चरा गाईड शेषकान्त शर्मा बताउछन् ।
प्रतिक्रिया दिनुहोस !