पोखरेलीलाई चकित पार्ने बबरशमशेरका ती धारा
पोखरा : विसं १९७६ सालमा जुद्धशमशेर राणा प्रधानमन्त्री थिए। पश्चिमको कमाण्ड सम्हालेका थिए बबरशमशेर राणाले। त्यही बेला बबरशमशेरका छोरा बालशमशेरको १४ वर्षे कलिलो उमेरमै मृत्यु भयो।
त्यसबखत पोखरामा पानीको अचाक्ली दुःख थियो। छोराको मृत्युशोकमा रहेका बबरशमशेरलाई त्यो हटाउन मन लाग्यो। उनले १९७६ सालमा धारा निर्माण गर्ने तयारी गरे। पोखरामा धारा ल्याउन पानीको स्रोत खोजी भयो।
पोखरामा पानी ल्याउन मेथलाङ डाँडाको धारापानीको मुल उपयुक्त देखियो। र, त्यहाँ दुईवटा पानी ट्याकी निर्माण गरियो। त्यो बेला पोखराको जनसंख्या १५ सय रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका पोखराको भैरवटोल निवासी आनन्दराज मुल्मीको सम्झना छ।
उनका अनुसार त्यो बेला स्थानीय जनसंख्यालाई ध्यानमा राख्दै काठमाडौंबाट मिस्त्री झिकाएर मुख्य बजार क्षेत्रका २१ स्थानमा धारा ठड्याइयो। पोखरा आएका ती मिस्त्रीहरु यतै घरजम गरेर बसे र उनीहरुका सन्तान अहिले पनि पोखरामै छन्। त्यो बेला पोखरेलीको खानेपानी स्रोत भनेकै नजिकैको डाँडाका फेदीमा फुट्ने मुल थिए।

भैरवटोलका स्थानीय मेथलाङको फेदी लक्ष्मीधारामा पानी लिन जान्थे। मोहोरिया, विन्ध्यवासिनिका मानिसहरु सिमपानीमा पानी लिन पुग्थे। सिमलचौर, मालेपाटनका मानिस धारापानीमा जान्थे। त्यस्तै रानीपौवा, फुलवारीका स्थानीय काहँडाँडाको फेदीको पानी थिउँथे र बैदामका स्थानीय फेवातालकै पानीलाई खानेपानीको रुपमा प्रयोग गर्ने गरेको मुल्मी सुनाउँछन्।
१९७७मा निर्माण सकिएर धारामा पानी खस्दा पोखरेलीहरु चकित परेको भैरवटोलका जगतबहादुर ताम्राकार(९०) बताउँछन्। पोखराको पहिलो धारा नै बाल धारा हो। त्यो बेला भैरवटोल, बगर, तेस्रापट्टी, पालीखेचोक, रानीपौवा, सिमलचौर, पस्याङ लगायतका २१ स्थानमा धारा ठड्याएर पानी वितरण गरिएको उनी सम्झिन्छन्।
१०० वर्ष पुराना ती ऐतिहासिक धारा मध्ये अहिले ५/७ वटा मात्र बाँकी छन्। बबरशमशेरले बेलायतबाट किटका धारा मगाएर धारा पोखरामा ठड्याएको बगालेटोल सुन्दरमार्गका उत्तम उलक सुनाँछन्। शहरमा आगलागी भयो भने पानि यिनै धाराबाट पानी तानेर आगो निभायने प्रविधि जडान समेत गरिएको छ। आगलागी भएमा पानी तान्न मिल्ने गरी धारा निर्माण भए पनि यसको उपयोग भने कहिल्यै नभएको उलक बताउँछन्।
धारासँगै चौपायाले पनि पानी पिउन मिल्ने गरी बनाइएको ढुङ्गाको डुढ अहिले पनि देख्न सकिन्छ। पोखरामा चौपायाका लागि ठाउँ–ठाउँमा पोखरी पनि बनाइएका थिए। तर, अहिले ती पोखरी अतिक्रमणमा परेर गायब भइसकेका छन्।
१०० वर्ष पुराना बेलायती शैलीका धारा अझै पनि उतिकै बलीया छन्। यस्ता ऐतिहासिक महत्वका धाराको संरक्षण गरी पानी पिउने व्यवस्था गर्नु पर्ने भैवरटोल मोहोरिया टोल विकास संस्थाका अध्यक्ष अष्टमान प्रधानाङ्ग बताउँछन्।

प्रधानाङ्गका अनुसार त्यो बेला समाज निकै धार्मिक थियो। सामाजिक काम धर्म संग जोडिएर हुन्थ्यो। पाटी, पौवा, धारो, कुँवा निर्माण हुन्थ्यो। अहिले भने नेपाली परम्परा, संस्कृति र नेपाली पन नै हराउँदै गएको छ।
पोखरा महानगरपालिका–८ ले प्राचिन राणकालीन बाल धारा मर्मतका लागि १लाख रुपौयाँ छुट्याएको छ। ऐतिहासिक महत्वको १०० वर्ष पुराना धारा पुनः संञ्चालनमा ल्याउने उद्देश्यले धारा व्यवस्थित गर्न लागिएको पोखरा महानगरपालिका–८ का वडाअध्यक्ष रुद्रनाथ बरालले बताए।
पोखरामा रहेका २१ वटै धारा संरक्षण गर्नु पर्नेमा उनले जोड दिए। यस विषयमा कुरा उठेपनि सुनुवाई नभएपछि वडास्तरिय बजेटबाटै सिमालचौरमा रहेका धारा व्यवस्थित गरि पुनः संञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !