बधूशिक्षामा आलोच्य
हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्दछन्।
वेश्या लौ नहउन् तथापि घरको काम् ता सबै नास्तछन्।।
‘बधूशिक्षा’ कृतिभित्रको यो कवितांश आदिकवि भानुभक्त आचार्यले लेखेका हुन्। यसकै आधारमा भानुभक्त वर्तमानमा आलोच्य हुन पुगेका छन्। आलोच्य भानुभक्तलाई जोगाउन भानुभक्तकै हस्ताक्षर भएको ३३ श्लोके खेस्रा ‘बधूशिक्षा’ मा ‘हाँस्नु छैन कदापि नारीहरूले वैश्यै हुन्या हाँस्दछन्। वैश्या लौ नहउन् तथापि घरको काम् ता सबै नास्तछन्।’ भन्ने पाठभेद लिएर आउने जीवनीकार पनि देखिएका छन्। सो हस्तलिखित बधूशिक्षा’ मा देखिएको पाठभेद उल्लिखित पंक्तिमा भएको वैश्यै र वैश्या शब्द छन्।
यी शब्दले हिन्दु पद्धतिभित्र पाइने ब्राह्मण, क्षत्री, वैश्य र शूद्र वर्णमध्ये वैश्य वर्णकी स्त्रीलाई भनिएको भन्ने अर्थ निकालेर ‘बधूशिक्षा’ को खेस्रा प्रतिसमेत छपाउने जीवनीकारले आलोच्य भानुभक्तलाई आलोचनाबाट मुक्त बनाउने प्रयत्न गरेका छन्। यिनै विषयमा टिप्पणी गर्न ‘बधूशिक्षा’ ले प्रतिनिधित्व गर्ने नारी समाज, वेश्या र वैश्या शब्दले दिने अर्थसँग सम्बन्धित रही यो आलेख तयार गरिएको छ।
भानुभक्तले ‘बधूशिक्षा’ मा बधूले गर्नुपर्ने विभिन्न कामको वर्णन गर्ने सन्दर्भमा ‘प्रातः कालमा महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून्। सो ईश्वर पति हुन् ... ... बाट सुरु गरी ‘स्त्रीको धर्म पतिव्रता अति ठुलो...’ भन्दै यसको अन्त्य गरेका छन्। यसभित्र सम्पूर्ण वर्णित विषयहरू विभिन्न जातजाति र संस्कृति मान्ने सबै नेपाली नारीलाई समान रूपले लागू हुँदैनन्।
भाषिक दृष्टिले पनि बधू शिक्षाको महत्त्व अलग देखाउन सकिएला तर यसले दिने ईश्वर पति हुन् र नारीनिम्ति पतिव्रता धर्म धेरै ठूलो छ भन्ने सन्देश नेपालको विविध जातीय संस्कृतिका दृष्टिले जातिगत रूपमा फरक छ। भानुभक्तले ‘बधूशिक्षा’ मा तनहुँ मनुङका खनाल र आफ्नै आचार्य परिवारभित्र आदर्श मानिने बधू चरित्रलाई फोटोग्राफीका रूपमा उतारेका छन्। यो फोटोग्राफी क्षत्रीका बधूमा देखिए पनि विशेष गरेर यस फोटोग्राफीले नोकरचाकर राख्न सक्ने ब्राह्मण परिवारभित्र देखिने तत्कालीन आदर्श बधूको चरित्र उतारेको छ। अनि तत्कालीन बधूको आदर्शबाट विपथन हुन खोजेका तरापतिजस्ता ब्राह्मणका बधूलाई यस कृतिले नियन्त्रण गर्न खोजेको छ।
‘बधूशिक्षा’ मा भानुभक्तले बेलुकी सुत्ने बेलामा आफ्नोतर्फबाट पतिलाई किसमिस, दाख, बदाम र नरिवल ख्वाउन सक्ने हैसियतका उच्च मध्यम वर्गका बधूको अपेक्षा गरेका छन्। राणाकालीन नेपाली समाज आर्थिक र जातीय विविध वर्गका रूपमा विभक्त थियो। आर्थिक र जातीय रूपमा धेरै नेपालीको अवस्था दीनहीन थियो। यस अवस्थामा पनि नारीले बधूशिक्षाअनुसार आचरण गरे पितृकूल र पतिकूलसहित मरणोपरान्त मुक्ति प्राप्त गर्छन् भन्ने सन्देश दिएर ’बधूशिक्षा’ लाई अन्त्य गरिएको छ।
‘बधूशिक्षा’ ले दिएको यो सन्देश नारीप्रतिको भानुभक्तीय आस्था हो। चेतनाको विकसित यात्रामा अविवाहित (बधू नहुने) रहने चाहना विकसित हुन थालेको वर्तमानले भानुभक्तीय आस्था दुत्कार्छ। भानुभक्तकालीन समाज हेर्दा नारी चेतना र अधिकारले ठूलो फट्को मारिसकेको देखिन्छ। त्यसैले भानुभक्तको बधूशिक्षा आलोच्य हुन पुगेको हो। वर्तमान समयमा पनि ‘हँस मत पगली प्यार हो जाएगा’ भनेर नेपाली मोटरमा देखिने उद्धरणले नारी हाँसोलाई व्याख्या गरेकै छ भने भानुभक्तले आफ्नो समयको नारी हाँसोको व्याख्या त दुईतीन पंक्तिमा गरेकै छन्। तसर्थ तत्कालीन नेपाली समाज र नारी चेतनाको वृत्तभित्र बसेर बधूशिक्षाको अध्ययन गर्ने हो भने भानुभक्त आचार्य आलोचनाभन्दा माथि उठेका देखिन्छन्।
तारापतिको परिवारजस्ता राणाकालीन पहाडी नारीलाई भानुभक्तले अर्काका घरमा नजानु कहिल्यै भनेर शिक्षा दिएका छन्। तत्कालीन काठमाडौं सहरका कुलिन नारीलाई त घर वा कोठाको झ्यालबाट सडकतिर हेर्नसमेत निषेध थियो भनिन्छ। तर यहाँ अर्काका घरमा नजानु र आफ्नो घर वा कोठाको झ्यालबाट बाहिर सडकतिर नहेर्नुको आशय फरक–फरक छन्। पहिलोले वर्षभरि पर्ने चाडपर्व, दसैं, तिहार, पूजा, यज्ञ र श्राद्ध आदिमा चाहिने सामानको संग्रह गर्न लगाएको छ भने दोस्रोले तत्कालीन सम्भ्रान्त परिवारका सडकमा हिँड्ने उद्दण्ड युवकबाट नारी अस्मितालाई सुरक्षित गर्न खोजेको छ।
गाउँघरमा तत्कालीन जिम्वाल र मुखियाका उद्दण्डता नभएका होइनन्। भानुभक्तले गाउँ र सहरको लोक पर्यवेक्षणबाट त्यस्ता उद्दण्डहरूलाई नजिकैबाट चिनेका थिए। सामान्य अवस्थामा सहरमा सडकतिर हेर्दा र गाउँघरमा अर्काको घर पुग्दा हुने दुर्घटनाबाट नारीलाई सुरक्षित गर्न भानुभक्तले माथिको पंक्ति ‘हाँस्नु हुन्न कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन्। वेश्या लौ नहउन् तथापि घरको काम्ता सबै नास्तछन्’ भनी लेखेको अर्थ निकाल्न सकिन्छ। यहाँ दोस्रो पंक्तिबाट भानुभक्तले वेश्या हुने नारी मात्र हाँस्छन् भनेका छैनन्। हाँसखेल गर्दागर्दै बधूहरूले आफ्नो घरमा गर्नुपर्ने काम गर्नसमेत भ्याउँदैनन् र हाँस्तैमा दिन बित्दछ भनेका छन्। त्यसैले हाँस्ने नारी वेश्या नै हुन्छन् भनेर भानुभक्तले किटानी अभिव्यक्ति दिएका छैनन्।
उक्त श्लोकमा भानुभक्तको किटानी अभिव्यक्ति छ भनी गरिने आलोचनालाई श्लोकको दोस्रो पंक्तिले नै खण्डन गरेको छ। समग्र ‘बधूशिक्षा’ ले दिएको सन्देशसँग यस श्लोकको वेश्या शब्दलाई जोड्न सकिन्छ। कविले जस्तो खालकी आदर्श बधूको परिकल्पना गरेका छन्, त्यस आदर्शका निम्ति छिल्लिएर हाँस्ने काम वर्जित हुन्छ। छिल्लिएर हाँस्ने सन्दर्भमा भानुभक्त आलोचनाभन्दा माथि छन्। तर, यसलाई सामान्य हाँसोका रूपमा अथ्र्याउने हो भने भानुभक्त आलोच्य बन्न सक्छन्।
आलोचनाबाट जोगाउन एकजना भनुभक्तका जीवनी लेखक (व्रतराज आचार्य) ले ‘हाँस्नु हुन्न कदापि नारीहरूले वैश्यै हुन्या हाँस्तछन्। वैश्या लौ ती नहउन् तथापि घरको काम् ता सबै नास्तछन्’ भनी लेखिएको ‘बधूशिक्षा’ को खेस्राको प्रतिच्छवि प्रकाशमा ल्याएका छन्, मूल प्रति भने तनहुँ चुँदीरम्घाको भानु पुस्तककालयमा सुरक्षित जनाइएको छ। यी जीवनीकारले हाँस्नु हुन्न भनेर ब्रह्मण, क्षत्री, वैश्य र शूद्र आदि चार वर्णमध्ये वैश्य वर्णका नारीलाई भनिएको हो भन्ने अर्थ गरेका छन्। किनभने, संस्कृत भाषामा वैश्य वर्णको स्त्रीलिंग वैश्या हुन्छ। यी जीवनीकारले नारीले हाँसी भने त्यो वेश्या होइन, वैश्या हुन्छे भन्ने अर्थ लगाएका छन्। गाउँघरको वैश्य समाजमा उन्मुक्त हाँसो स्वाभाविक मानिन्छ तर ब्रह्मण नारीले वैश्याले जस्तो छिल्लिने हाँसो हाँस्नु हुन्न भन्ने उनको अर्थ छ।
वैश्या शब्दलाई व्रजभाषामा वेश्या अर्थमा प्रयोग भएको देखिन्छ। यो प्रयोग सन्त कबीरको दोहामा फेला पर्छ, जस्तै— ‘कुष्टी हो संत बंदगी कीजिए। जो हो वैश्या को प्रभु विश्वास, चरण चित दीजिए।।’ र ‘कबीर चोरी जारी वैश्या वृत्ति कबहु ना करयो कोए। पुण्य पाई नरदेही, ओच्छी ठौर न खोए’ यहाँ भानुभक्तीय वा नेपाली अर्थमा वैश्या शब्दको प्रयोग भएको छ।
यी दोहामा प्रयुक्त वैश्या संस्कृत भाषाको वैश्य शब्दको स्त्रीलिंगी रूप होइन, व्रजभाषामा वेश्यालाई बुझाउने शब्द हो। भानुभक्त पनि काशीमा बसेर पढ्दा र पटकपटक काशी आउँदाजाँदा तुलसीदास र कबीर आदिका व्रजभाषामा लिखित साहित्यसँग परिचित हुनुपर्छ। व्रजभाषाको प्रभाव पुराना नेपाली कवि, कविका बाजे श्रीकृष्ण आचार्य, जोसमनी परम्परा आदिका रचनामा पनि परेको देखिन्छ।
यस प्रसंगमा पुरानो नेपाली भाषा साहित्यबाहेक भानुभक्तीय साहित्यमा पनि व्रजभाषाको प्रभाव केकस्तो छ ? भन्ने अध्ययन महत्त्वपूर्ण मानिन्छ। तर यस लेखमा के भन्न सकिन्छ भने मुद्रित ‘बधूशिक्षा’ मा प्रयोग भएको वेश्या शब्द नेपाली भाषाको शब्द हो भने आदिकविको हस्ताक्षर भएको खेस्रा बधूशिक्षाको वैश्या शब्द वेश्यालाई बुझाउने व्रजभाषाको शब्द हो। भानुभक्तले उक्त बधूशिक्षाको खेस्रामा वेश्या अर्थ बुझाउन व्रजभाषाको वैश्या शब्द प्रयोग गरेका हुन्। त्यस कारण वेश्या र वैश्या शब्द अलगअलग भाषाका एउटै अर्थमा प्रयोग हुने समानार्थी शब्द हुन्।