अलमलमा अति वरिष्ठ ज्येष्ठ नागरिक
काठमाडौं : ८० वर्ष नाघेकालाई ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’ को दर्जा दिने सहमति गरेको महिला तथा सामाजिक समितिले पछि हट्ने संकेत गरेको छ।
समितिले अघिल्लो बैठकमा सम्मानका लागि भन्दै यस्तो दर्जा दिने लगभग सहमति भएको थियो। तर सुविधा बिनाको दर्जा मात्रै भएको भन्दै आलोचना भएपछि समितिले यो विषयलाई पुनः छलफलमा ल्याएको छ।
यसअघि समितिले ७० नाघेकालाई वरिष्ठ ज्येष्ठ नागरिक र ८० माथिकालाई अति वरिष्ठ ज्येष्ठ नागरिकको दर्जा दिने सहमति गरेको थियो। ‘सेवा-सुविधा बिनाको सम्मान मात्रै नहुने भनेर विज्ञले सुझाव दिएका छन्’, समिति सभापति निरुदेवी पालले भनिन्, ‘केही दिन सकिन्छ भने राखौं नभए फेरि एकपटक सोच्नुपर्छ। अहिलेलाई विचाराधीनमा राखौं।’
यो विषयलाई समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई मिलाएर ल्याउन निर्देशन दिएको छ। सांसदले पनि यो विषय सोच्नै पर्ने भएको पालले बताइन्। ‘विशेष सुविधा दिन सकिन्छ भने राखौं’, कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘हैन भने वर्गीकरण गरेर मात्रै केही हुँदैन।’
तर केही सांसदले भने विशेष सेवा दिएर भए पनि ८० नाघेकालाई सम्मान दिनुपर्ने तर्क गरे। ‘जहाँ-जहाँ अप्ठ्यारो हुन्छ त्यहाँ-त्यहाँ ८० नाघेका थोरै जनसंख्यालाई त राज्यले सेवा दिनसक्छ’, सांसद उमा रेग्मीले भनिन्, ‘त्यसकारण निर्णय उल्ट्याउनुभन्दा वृद्धाभत्तामा भए पनि केही सोचौं।’
केही सांसदले भने दर्जाको मात्रै सम्मान दिनुभन्दा पनि ज्येष्ठ नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने तर्क गरे। ‘सबै नागरिकलाई समान गरौं। दर्जा तोकेर विभेद नगरौं’, सांसद गंगा चौधरीले भनिन्, ‘बरू ज्येष्ठ नागरिकलाई सुरक्षाको ग्यारेन्टी गरौँ।’ राज्यले नै ७० वर्षमाथिकालाई ज्येष्ठ नागरिकको दर्जा दिएर भत्तासमेत दिएका कारण अब वर्गीकरणको आवश्यक नरहेको सांसद विनाकुमारी श्रेष्ठले बताइन्।
सरकारले भने, ‘अति वरिष्ठ’को सम्मान दिएका ज्येष्ठ नागरिकको सुविधा बढाउने आश्वासन अहिलनै दिन नसकिने बताएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सेवा वृद्धिमा प्रयास गर्ने बताइन्।
‘अहिले नै यो गर्न सक्छौं भन्न सकिँदैन। केही सम्बोधन गर्न सकिएला। राज्यको स्रोत साधनले भ्याएसम्म सम्बोधन गर्न सकिएल। तर अहिले भत्ता भने थप गर्न सकिने अवस्था छैन’, उनले भनिन्, ‘अहिले ज्येष्ठ नागरिकले यातायातामा ५० प्रतिशत छुट पाउँछन्। अति वरिष्ठलाई ६५ प्रतिशतसम्म पुर्याउन सकिन्छ। स्वास्थ्य क्षेत्रमा पनि हेर्न सकिन्छ।’