प्लस टु पढ्ने विद्यार्थीको कोठाबाट पेन गन र लागुऔषध
पोखरा : पोखरामा पेन गन र लागुऔषधसहित एक युवा पक्राउ परेका छन्। लागुऔषध सेवन, ओसारपसार तथा हतिरा समेत बोकी हिँड्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले कास्कीको कास्कीकोट घर भइ पोखरा ७ मासबार बस्ने वर्ष २४ का सागर रानाभाटको कोठा तलाशी गर्दा पेन गन सहित लागुऔषध फेला पारेको हो। पेन गन पोखरामा पहिलो पटक भेटिएको बताइएको छ।
१२ कक्षामा अध्ययनरत रानाभाटको कोठाबाट प्रहरीले एक थान पेन गन सहित पेन गनमा लाग्ने गोली ७ थान बरामद गरेको हो। पेन आकारकारे पेन गनको टुप्पो पट्टिको लेख्न मिल्ने जस्तो भागमा गोली अड्काउने र पेनको बिच भागमा गोली भर्ने र फेद तर्फ बटम दबाउन मिल्ने सिस्टम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए।
प्रहरीले उनको कोठाबाट ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, डाइजापाम ६० थान, १५ चक्की नाइट्रोसन, पासपोर्ट तथा नागरिकता १० थान पनि फेला पारेको बताएको छ। हतियार तथा लागुऔषध सहित समातिएका रानाभाटलाई बुधवार प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस !