गुल्मी पहिरो : मृतकको संख्या ६ पुग्यो (अपडेट)
गुल्मी : गुल्मीमा गए राती गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। घर पुरिएपछि उद्दारमा हेलिकप्टर पठाउन पहिरो पीडितहरुले माग गरेका छन्। गुल्मीको सत्यवती गाउँपालिका-३ ठुलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा पहिरो जाँदा ६ जनाले ज्यान गुमाइसकेका छन्। ५ घर पहिरोले पुरिएको छ। दर्जनौं घरमा क्षति पुगेको छ। पहिरोले गाउँ चिराचिरा भएकाले उद्दार गर्न कठिनाइ भएको छ। यातायातका साधन पुग्न सकेका छैनन्। उद्दारका लागि सरकारले हेलिकप्टर पठाउन स्थानीयले माग गरेका छन्।
घाइतेलाई उपचारका लागि अस्पतालसम्म लैजान सडक अवरुद्ध भएको स्थानीय वडा सदस्य अर्जुन तरामुले जानकारी गराए। ‘घटना भएको स्थान म बसेको ठाउँदेखि तीन मिनेटको दुरीमा छ’,टेलिफोनमा कुरागर्दै उनले भने,‘स्थानीय वृद्धवृद्धालाई घरबाट निकालेर रुखमुनी राखेको छु।’ पहिरो गएको स्थान आँखा अगाडि भए पनि बेपत्ताहरुको खोजी गर्न नसकिएको उनले बताए। उद्दारमा यातायातका साधन पुग्न नसकेकाले हेलिकोप्टरको आवश्यकता देखिएको तरामुले जानकारी गराए।
पहिरोमा पुरिएर वडा नम्वर ३ ठुलोलुम्पेकका ३० वर्षीया तिलकुमारी तरामु, १० वर्षीय दर्शन तरामुको मृत्यु भएको छ। त्यस्तै, वडा नम्वर ४ का लिम्घाका ६५ वर्षीया छल्लली विक, २८ वर्षीया पम्फा विक, १२ वर्षीया अञ्जली विक, १० वर्षीय हेमन्त विकको मृत्यु भएको स्थानीयले बताएका छन्। स्थानीय १० वर्षीया करिस्मा तरामु र १३ वर्षीया धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ। सत्यवती गाउँपालिका गुल्मीको दुर्गम क्षेत्रमा पर्दछ। गएराति ३ बजेदेखि पहिरो गएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !