अक्षर इच्छा
फूलको पहाड बिसाएर जाँदै छु
यी लेख्दै गरेका कविताका पाना पल्टाएर
बहिरहनेछ बतास
सम्झनु
हावामा मिसिएको हुनेछ
मेरो रोकिएको आवाज
प्रेमले मलाई सम्झिनेहरूले
टाढा गएको साथीको याद सम्झिनु
हतारमा हिँडिरहेको यात्री
बाटोमा अलमलिन सक्छ
मैले माया दिन नसकेकाहरूले
एउटा रुखो अन्जान यात्री
कुनै स्टेसनमा छुटेको सम्झिनु
जानु अघि
जिन्दगीले जान्न नसकेका प्रश्नहरू
अधुरो छोडेर जाउला
गतिशील पृथ्वीमाथि रोकिएको
एक जोर पाइला सम्झिनू
शान्ती ठटालको मखमली आवाज गुञ्जिरहनेछ
‘सम्हालेर राख, सँगालेर राख
फेरि फुल्ने हो कि होइन, जोवनको फूल’
स्मृतिको उही विशाल बाटो भएर ओइलिने
एक थुँगा घडी फूल
समयसँगै ओइलिएको सम्झिनू।
प्रतिक्रिया दिनुहोस !
३