निर्णायक खेल : टस हारेर फिल्डिङ गर्दै नेपाल
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले निर्णयक खेलमा सिंगापुरको सामना गरिरहेको छ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
सिंगापुर र नेपालबीचको यस खेलको विजेता नै शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुनेछन् । पहिलो खेलमा कतारसँग ४ विकेट पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा कुवेतलाई ७ विकेटले हराएको थियो । यस प्रतियोगितामा सिंगापुर अपराजित छ।
यस खेलको विजेता टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्वस्तरीय छनोट प्रतियोगिता खेल्नेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।