१३औं सागका लागि प्याराग्लाइडिङको बन्द प्रशिक्षण सुरु

पोखरा : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि पोखरामा प्याराग्लाइडिङ खेलको बन्द प्रशिक्षण सुरु भएको छ। मंसिर १५ गते देखि २४ गतेसम्म हुने १३औं साग खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङसहित सात खेल पोखरामा हुने बताइएको छ। १८औं एसियन गेम्स (एसियाड) मा नेपालले प्याराग्लाइडिङ खेलमा एक मात्र पदक रजत जितेको थियो। इन्डोनेसियामा भएको एसियाडअन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको थियो। सागमा स्वर्ण पदक ल्याउने उच्च मनोबलका साथ पोखराको सराङकोटमा साउन १५ गतेदेखि प्रशिक्षण भइरहेको प्याराग्लाइडिङका प्रमुख प्रशिक्षक योगेश भट्टराईले जानकारी दिए।
प्रशिक्षणमा पुरुषतर्फ एसियाडमा रजत जित्ने पाँचै जना खेलाडी विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापासहित २१ जना बन्द प्रशिक्षणमा रहेका छन्। महिलातर्फ एसियाडमा सहभागीसहित ६ जना खेलाडीले प्रशिक्षण लिइरहेको प्रशिक्षक भट्टराईले बताए। अहिले आठौं राष्ट्रिय खेलकुदबाट सेलेक्सनमा परेका खेलाडी सबैलाई प्रशिक्षण दिइएको छ। बन्द प्रशिक्षणमा सहभागी २१ जना पुरुष खेलाडीबाट साग खेलकुदका लागि पाँच जना छानिनेछन्।
महिलातर्फ तीन जनाले सार्क खेलकुदका लागि टिकट पाउनेछन्। सेलेक्सन कमिटीले खेलाडी नाम मागेपछि छनोट भएका खेलाडीका नाम पठाइनेछ। साग खेलकुद प्रतियोगितामा क्रस क्रन्टी र एकुरेसी गरेर प्याराग्लाइडिङतर्फका दुई विधाबाट आठ स्वर्णसहित २४ पदकका लागि प्रतिस्पर्धा हुने प्रशिक्षक भट्टराईले बताए। नेपालले आठवटै स्वर्णसहित सबै पदक ल्याउने गरी तयारी गरिरहेको पनि उनले सुनाए। खेलाडी युकेश गुरुङले तयारी राम्रो भइरहेको बताए। ००००
ग्लाइडरसहित खेलकुद सामाग्री उपलब्ध गराउन माग
सार्क खेलकुदमा सबैभन्दा धेरै पदकको सम्भावना भएको खेलमध्ये प्याराग्लाइडिङ खेल पनि हो। १८औं एसियाडमा यसै खेलले एक मात्र पदक रजत जितेको थियो। अहिले पोखरमा प्याराग्लाइडिङका लागि बन्द प्रशिक्षण चलिरहेको छ। खेलाडीले आफ्नै ग्लाइडरको प्रगोग गरेर प्रशिक्षण लिइरहेको प्रमुख प्रशिक्षक योगेश भट्टराईले बताए।
हामीसँग प्याराग्लाइडिङको सबै विधामा सार्कमा सबै पदक जित्न सक्ने क्षमता भएका खेलाडी भए पनि त्यसअनुसारका प्रतियोगिताका लागि आवश्यक ग्लाइडर नभएको भट्टराईले सुनाए। प्रतियोगिताका लागि हाइइक्युपमेन्ट चाहिन्छ। प्रोफेसनल खेलाडीका लागि उचाइमा जान, तल झर्न, जम्पमा जान त्यहीअनुसारका ग्लाइडर हुनुपर्छ। एसियाडमा पदक ल्याउँदा पनि नेपाली खेलाडीले आफ्नै ग्लाइडरसहितका सामग्री प्रयोग गरेका थिए।
एउटा खेलाडीका लागि दुईवटा ग्लाइडरसहितको सेट चाहिन्छ। यसको मूल्य करिब १० लाख पर्दछ। अहिले खेलाडीले आफ्नै ग्लाइडरबाट प्रशिक्षण लिइरहेको उनले बताए। प्रतियोगिता जित्न सक्षम राम्रा खेलाडी भएर मात्र हुँदैन। त्यसैअनुसारको खेलकुद सामग्री पनि हुनुपर्ने उनले सुनाए। विदेशी खेलाडीसँग सुविधायुक्त राम्रा सामग्री हुने हाम्रा खेलाडीसँग क्वालिटी सामग्रीकै अभावमा पछि पर्ने अवस्था आउन नहुने उनले बताए। राखेपले बेलैमा सामग्री उपलब्ध गराउने उनले विश्वास गरे।
प्रतियोगिताका लागि प्रयोग हुने ग्लाइडर हेरेर दुई सयदेखि तीन सय घण्टा उडान भर्न मिल्ने आयुका हुन्छन्। खेलाडीले आफैंले एउटा ग्लाइडर सेट पाँच लाख रुपैयाँमा किने पनि अहिलेबाटै प्रशिक्षण लिँदा धेरै उडान गर्नुपर्ने हुन्छ। एकुरेसीका लागि प्रयोग हुने ग्लाइडर तीनदेखि चार घण्टा मात्र उडान गर्न मिल्छ। टेन्डम पाँच सयदेखि ६ सय घण्टा उडान गर्न मिल्छ। यसरी ग्लाइडरको आयु नै तोकिएको हुन्छ। सार्कका लागि खेल्ने अन्तिम खेलाडीको सेलेक्सन छिटो गरी उनीहरूलाई चाहिने सामग्री उपलब्ध गराएर थप प्रशिक्षण उपलब्ध गराउन सके सबै पदक नेपालले जित्ने उनले विश्वास गरे।
यसैले प्याराग्लाइडिङ खेल महँगो साहसिक खेल हो। यस प्रतियोगितामा बिना इन्जिनको ग्लाइडरको भरमा भीरबाट हाम फालेर आकाशमा विचरण गर्दै भनेकै ठाउँमा उत्रन सक्नु पर्छ। आकाशमा तोकिएको स्थानमा पुगेर दिएको ताकेट छिटो पूरासमेत सक्नु पर्छ।
प्रतिक्रिया दिनुहोस !
