चापाकोटमा होमस्टे

पोखरा : फेवातालको सिरान चापाकोट देउराली गाउँमा होमस्टे सञ्चालनपछि विदेशी पर्यटक आउन थालेका छन्। पर्यटकको मुख्य केन्द्र लेकसाइडबाट १२ किलोमिटर दुरीमा रहेको यस गाउँका युवा काम खोज्दै ठूलै संख्यामा खाडीमा पुगेपछि युवालाई गाउँमै फर्काएर पर्यटनबाट आम्दानी लिन र कृषि उत्पादन बढाउन गत भदौदेखि होमस्टे सञ्चालनमा आएको हो।
यस गाउँबाट उत्तरमा सुन्दर हिमशृंखला अन्नपूर्ण, धौलागिरि, मनास्लु, माछापुच्छ्रे देख्न सकिन्छ। आँखा अघि फेवाताल ठिंग उभिएको छ। त्यसैले यो पर्यटकीय गाउँका रूपमा विकसित हुँदै गएको हो। यस गाउँमा ५१ घरधुरी छन्। यहाँका ५० प्रतिशत युवा रोजगारीकै खोजीमा कतार पुगेको चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले सुनाए।
नेपालमै रहेका युवा पनि अध्ययन र कामका लागि पोखरा बजार र काठमाडौंमा रहेकाले गाउँमा युवा देख्नै मुस्किल छ। गाउँमा युवा नहुँदा कृषि उत्पादनदेखि गाह्रोसाह्रो पर्दा समस्या पर्ने गरेको उनले सुनाए। पहिले धान, मकै, कोदो, तोरी फुल्ने फाँट अहिले बाँझै छन्। गाउँका सय रोपनीभन्दा बढी जमिन बाँझै रहेको पराजुलीले बताए।
दुई वर्ष कतारमा बसेर गाउँ फर्केका पराजुलीले अहिले गाउँमै पर्यटकका लागि होमस्टे सञ्चालन गरेको बताए। गत भदौदेखि यहाँका ७ घरमा होमस्टे सञ्चालनमा आएको हो। साउनदेखि २१ घरमा होमस्टे सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले बताए। यसका लागि स्थानीयले बाथरुम, शौचालयलगायत पूर्वाधार निर्माणको काम गरिरहेको उनले सुनाए। गाउँमा बाहुन, क्षेत्री, मगर र दलित समुदायको बसोबास छ।
होमस्टे सञ्चालन भएको ११ महिनामा करिब ३ सय विदेशी पर्यटक आएको अध्यक्ष पराजुलीले बताए। यहाँ आउने पर्यटकमा ९० प्रतिशत विदेशी छन्। १० प्रतिशत आन्तरिक पर्यटक रहेको उनले सुनाए। चापाकोट गाउँबाट रातको समयमा फेवाताल, पोखरा बजार र अन्नपूर्ण हिमालको सुन्दर दृश्य देखिन्छ। यहीँ सुन्दरतामा रमाउन विदेशी पर्यटक आउने गरेको स्थानीय ५६ वर्षीय रुद्र प्रसाद पराजुलीले सुनाए।
व्यावसायिक रूपमा होमस्टे सञ्चालन हुन थालेपछि एक दिनको एक हजार रुपैयाँमा बस्न, खान र खाजासमेत दिने गरेको छ।
गाउँमा होमस्टे सञ्चालन नहुँदै ५ वर्ष अघिदेखि आफ्नो घरमा विदेशी आउने गरेको उनले सुनाए। होमस्टे व्यावसायिक रूपमा गाउँमा सञ्चालन हुन थालेपछि पहिले पर्यटकलाई १ सय रुपैयाँमा कोठा र एक सय ५० रुपैयाँमा दालभात दिँदै आएकोमा अहिले सेवासुबिधा समेत बढाएर एक दिनको एक हजार रुपैयाँमा बस्न, दुई छाक खाना र खाजासमेत दिने गरेको उनले सुनाए।
गाउँमै युवा फर्काउन कामका बाँडफाँट गरेर पर्यटन, कृषि, पशुपालनमा लाग्ने योजना रहेको चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष पराजुली बताउँछन्। विदेशमा सिकेको सीप यहीँ प्रयोग गरेर रोजगारका अवसर सिर्जना गर्नेबारे अहिले गाउँमा बहस चलिरहेको छ। आफ्नो सीपअनुसार कोहीले कुखुरा पाल्ने, कोहीले बाख्रा, कोही सागसब्जी उत्पादन गरेर गाउँको होमस्टेमा आउने पर्यटकलाई खुवाउने गरी युवालाई गाउँमै फर्काउने योजना बनिरहेको उनले बताए।
गण्डकी प्रदेश सरकारले समृद्धिको आधार पर्यटन मानेको छ। यसैलाई आधार मानेर गत वर्ष दुई सय ७४ सामुदायिक होमस्टेको पूर्वाधार निर्माण गर्न १०÷१० लाख रुपैयाँ उपलब्ध गराएको थियो। यस वर्ष २५ करोड रुपैयाँ बजेट छुट्याएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियाले बताए। गण्डकी सरकारले पर्यटन विकासकै लागि सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषण गरेको छ। सन् २०२२ मा २० लाख पर्यटक ल्याउने लक्ष्य प्रदेश सरकारको छ।
कतारबाट फर्केर भैंसीपालन
पोखराको चापाकोट ओखलढुंगाका ३४ वर्षीय मनोज क्षेत्री ११ वर्ष कतारमा काम गरेपछि तीन वर्षअघि गाउँ फर्किंए। दाइ इन्द्रबहादुर र गणेश बहादुरसँगै मिलेर भैंसीपालन व्यवसाय सुरु गरे। क्षेत्री दाजुभाइले अहिले २२ वटा भैंसी पालेका छन्। भैंसीको दूध बिक्री गर्न समस्या नपरेको उनले सुनाए।
३ दाजुभाइमध्ये माइला इन्द्रबहादुर पनि १० वर्ष साउदी बसेर आएका हुन्। जेठा गणेश पनि कामको खोजीमा साउदी, इराक र अफगानिस्तान पुगेको उनले सुनाए। तीन जना दाजुभाइ मिलेर अहिले ५५ रोपनी पुख्र्यौंली जमिनमा भैंसी मात्र पालेका छैनन्, बाख्रापालन, तरकारी खेती र धान, मकै कोदो सिजनअनुसार खेती पनि गर्दै आएका छन्। ती दाजुभाइले विदेशको अनुभवलाई गाउँमै लगाएको र मनोजले सुनाए। ‘हामी छिट्टै होमस्टे सञ्चालनको तयारीमा छौं’, उनले भने।
प्रतिक्रिया दिनुहोस !
