समाजसेवामा अब्बल अर्मानी
काठमाडौं ठूलो भर्याङमा घर भएकी अर्मानी महर्जन हाल अमेरिकामा बस्छिन्। उनी ‘दी योङ वुमेन लिडरसिप’ स्कुल न्युयोर्क सिटीमा कक्षा ७ मा अध्ययन गर्दैछिन्। आमा राज्यलक्ष्मी महर्जन र बुवा आशानारायण महर्जनकी एक्ली सन्तान हुन् उनी। उनलाई समाजसेवामा विशेष रुचि छ। नाच्न गाउन, स्पीच दिन र गितार बजाउन सिपालु अर्मानीकुशल पौडीबाज समेत हुन्।
२०७२ सालमा नेपालमा शक्तिशाली भूकम्प गयो। करिब नौ हजार मानिसले ज्यान गुमाए। हजारौं मानिस घरबारविहीन भए। सयांै बालबालिका टुहुरा भए। अर्मानीअमेरिकामै बसेर नेपालको गतिविधि हेरिरहेकी हुन्थिन्। बिचल्लीमा परेका बालबालिकाको समाचारले उनको मन पोल्यो। केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। अमेरिकामै जन्मिए पनि उनलाई नेपालको औधी माया लाग्छ।
भूकम्पपीडित बालबालिकालाई सहयोग गर्न उनको मन हतारियो। आफू सानै थिइन्। जन्मदिनमा आफन्तले दिने केही पैसा उनले जम्मा गरेकी थिइन्। आफूले पढेर सकेका किताबहरू जम्मा पारिन्। बाटोमा गएर पुराना किताब बेच्न बसिन्। नेपालको झन्डा बनाएर सानो बक्समा ‘हेल्प फर नेपाल’ भनेर लेखिन्। नेपालमा सहयोग पठाउनका लागि एक्लो प्रयासमा अमेरिकाको सडकमा उनी पैसा संकलन गरिरहेकी थिइन्।
बाटोमा हिँड्नेहरूले उनको कामलाई प्रशंसा गर्थे। सकेको केही रकम उनको बक्समा खसालिदिन्थे। कोहीले उनका पुरानो किताब किनिदिन्थे र पैसा दिन्थे। यसरी उनले करिब नौ सय अमेरिकी डलर संकलन गरिन्। अमेरिकाको रेडक्रसको माध्यमबाट नेपालमा सहयोग पठाइन्।
उनको यो कामको चौतर्फी चर्चा भयो। २०७२ सालको अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा एनआरएन अमेरिकाले एक कार्यक्रम गरी अर्मानीमहर्जनलाई ‘अर्थक्विक भिक्टिम् अफ नेपाल’ नामक अवार्ड प्रदान गरेको थियो।
त्यसयता उनले हरेक वर्ष केही रकम गरिब विद्यार्थीका लागि सहयोग गर्दै आएकी छिन्। सिन्धुपाल्चोकमा रहेको श्री शिपा तीनघरे संस्कृत माध्यमिक विद्यालयमा पढ्ने दुईजना विद्यार्थीलाई अमेरिकाबाटै शैक्षिक सामग्री पठाउँदै आएकी छिन्। समाज कल्याण गतिविधि नेपालको सहयोगमा उनले ती दुई विद्यार्थीलाई वर्षभरिलाई पुग्ने कापी, कलम, किताब, झोला र अन्य शैक्षिक सामग्री प्रदान गर्दे आएकी छन्।
अमेरिकामा उनकी आमा शिक्षिका हुन् भने बुवा व्यवसायी। जन्मदिनमा उठ्ने पैसामा उनका बुवाआमाले केही रकम थपिदिन्छन्। उनी त्यो पैसा नेपालका बालबच्चालाई पढाउन सहयोग गर्दे आएकी छन्।
गत वर्ष उनले ललितपुरकी रीना महर्जनको दुवै मिर्गौला फेल भएको समाचार सुनिन्। उनले नेपाली ५० हजार रुपैयाँ उनका लागि प्रदान गरेकी थिइन्। यसरी अरूलाई सहयोग गर्न पाउँदा उनलाई अत्यन्तै खुसी लाग्छ। आफ्ना लागि त हरेक मानिस बाँचेकै हुन्छ तर उनलाई अरूका लागि बाँच्नु छ। सानै भए पनि सहयोग गर्ने मन छ।
अमेरिकामै जन्मे पनि उनलाई नेपालको माया लाग्छ। उनकी आमाले उनलाई नेपालको कथाहरू सुनाइरहन्थिन्। विकट गाउँका बालबालिकाले खान नपाएको, पढ्न नपाएको समाचार सुनाइरहन्थिन्। तिमी भाग्यमानी बच्चा हौ जसले सबै सुखसुविधा पाएर पढ्ेकी छौ भन्थिन्। उनलाई आफूले गरिब बच्चाहरूको लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो। बाटोमा माग्न बसेको असहायहरू देख्दा उनको मन कँुडिन्थ्यो।
हरेक वर्ष उनले केही न केही रकम नेपाली बच्चाको लागि छुट्ट्याएकी हुन्छिन्। यो वर्ष पनि बाढीले तराईका जिल्लामा निकै असर गर्यो। उनले बाढीपीडित बच्चाको लागि केही शैक्षिक सामग्री र लत्ताकपडा पठाएकी थिइन्। सबैलाई पुर्याउन सकिएन, ससाना बच्चाहरू कापी कलमको लागि दौडदै गएको भिडियो देखिन्। मानिस खानका लागि मात्रै दौडेको देखेकी थिइन् उनले। तर कापीकिताबको आसमा दौडिएका नेपाली बच्चाहरू देख्दा उनलाई निकै नराम्रो लाग्यो। खान र पढ्ने अधिकारबाट कुनै पनि बालबालिका बिमुख नहुन् भन्ने लाग्छ उनलाई।
हरेक वर्ष न्युयोर्क सिटी डिपार्टमेन्ट अफ एजुकेसनले निबन्ध प्रतियोगिता आयोजना गर्छ। जहाँ न्युयोर्कभर बस्ने बच्चाहरूको सहभागिता हुने गर्छ। यो पटक आमाको महŒव बारेमा प्रतियोगिता सञ्चालन भएको थियो। हजारांै प्रतियोगीलाई पछि पार्दै उनले आफ्नो आमाको बारेमा लेखेको निबन्ध प्रथम भयो। आयोजकले उनलाई ‘मदर अफ दी इयर’को उपाधि प्रदान गर्यो। उनी समाज कल्याण गतिविधि नेपालको सहयोगमा नेपालका विभिन्न कार्यमा सहभागी भइरहन्छिन्।
उनको भविष्यको सपना वैज्ञानिक बन्नेछ। एयर स्पेस इन्जिनियर बनेर नासामा काम गर्ने र रकेट उडाउने सपनामा आज आफूलाई तयार गर्दैछिन्। शान्त स्वभावकी अम्रानीलाई पढ्न मनपर्छ। घुमफिर गर्न, प्राकृतिक सुन्दरता हेर्न र गरिब दुखीलाई सेवा गर्न पाउँदा खुसी हुने अर्मानीसमाजसेवामा रमाउँछिन्।