बिदा भए मदनमणि
काठमाडौं : चर्चित उपन्यास ‘माधवी’ का स्रष्टा मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। उनलाई निमोनिया भएपछि गत साता अस्पताल लगिएको थियो। बुधबार डिस्चार्ज गरिएका उनको कालिकास्थानस्थित निवासमा निधन भएको हो। उनको बिहीबारै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। दीक्षित डेढ दशकदेखि मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए।
राष्ट्रकवि माधव घिमिरेले ईश्वरको हस्तक्षेपलाई समेत चुनौति दिने दीक्षितको क्षमता, बौद्धिकता र सिर्जनात्मकता अब्बल रहेको बताए। ‘यस्ता चिन्तक कि उहाँले ईश्वरले गरेको हस्तक्षेपसमेत मान्नुभएन तर यथार्थवादी चिन्तनमा अन्तर्राष्ट्रिय मञ्चमा उभ्याए पनि हाकाहाकी ढंगले बोल्न सक्ने खुबी उहाँमा थियो’, घिमिरेले भने, ‘वेदलाई अरूले भगवान्को वाणी भनेर विश्वास गरेकै सन्दर्भमा उहाँले करिब एक हजार वर्षको इतिहास अध्ययन गरेर माधवी लेख्नुभयो, त्यस्तो विषय चिर्ने हिम्मत चानुचुने मान्छेमा हुँदैन।’
१९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्मिएका दीक्षितका माधवी, ग्याँस च्याम्बरको मृत्यु, ऋग्वेद ः केही प्रमुख सूक्त, भूमिसूक्त, मेरी निलिमा, चरैवेती, मेरी आमाको प्रश्नलाई आज जबाफ चाहिएको छ, त्यो युग, बर्लिन डायरीका पाना, दस लाख हिरोसिमातिर, जीवन महाअभियान, हिन्दूसंस्कृतिको परिशीलन, मेरी मातालगायत ४६ कृति प्रकाशित छन्। पूर्वीय र पाश्चात्य दर्शनमा गहिरो अध्ययन गरेका दीक्षित शिक्षक, पत्रकार, साहित्यकार हुँदै पूर्णकालीन लेखनमा सक्रिय थिए।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दीक्षितले याज्ञवल्क्य लेखेर मिथिलाञ्चलवासीलाई ‘विशेष उपहार’ दिएको बताए। उनले भने, ‘खासमा याज्ञवल्क्य मिथिलाञ्चलवासीले लेख्नुपर्ने हो तर विद्धान्समेतको सहयोग लिएर गहिरो अनुसन्धान गरी दीक्षितले लेख्ने काममा कुनै सम्झौता गर्नुभएको छैन।’ उनका अनुसार नेपाली भाषा, साहित्य, दर्शन र इतिहासका क्षेत्रमा दीक्षितले गरेको योगदान अतुलनीय छ।
२०१९ सालको रुपरेखा पत्रिकामा ‘कसले जित्यो कसले हार्यो’ शीर्षकको कथा प्रकाशन गरी दीक्षित साहित्य लेखनमा लागेका थिए। साहित्य लेखनमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई मदन पुरस्कार, साझा पुरस्कार, पद्म श्री साधना सम्मान प्रदान गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जीवनको अन्तिम घडीसम्म साहित्य प्रवद्र्धनमा लागेका दीक्षितको प्राज्ञिक उच्चता सदा जीवन्त रहने बताए। उनले भने, ‘नेपाली भाषासाहित्यमा विशिष्ट योगदान दिइरहेका दीक्षितको प्राज्ञिक उच्चता सदा जीवन्त रहनेछ।’
सरकारले दीक्षितको योगदानको कदर गर्दै २०५१ सालमा पाँच वर्षका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो। तर उक्त समय सन्तोषजनक रहेन। उनको ‘असफल पाँच वर्ष’ नामक किताब साझा प्रकाशनले छापेको थियो। तत्कालीन सदस्यसचिव ध्रुवचन्द्र गौतमसँग मनमुटाव भएकाले काम गर्न नसकेको सोही किताबमा लेखिएको छ।
दीक्षितले गौतमलाई विश्वास गरेर लगे पनि कामको सिलसिलामा कुरा नमिलेको र क्रमशः द्वन्द्व बढ्दै गएको साहित्यकार नारायण ढकाल बताउँछन्। उनले भने, ‘दीक्षितले प्रज्ञा प्रतिष्ठानका पाँच वर्षलाई सुखद हुन नसकेको मात्र होइन, जीवनकै अँध्यारो कालखण्ड भनी असन्तुष्टि जनाएका छन्।’
२०१३ सालमा ‘हालखबर’ पत्रिकाको प्रधानसम्पादक बनेका दीक्षितले बिपी कोइराला प्रधानमन्त्री भएपछि आफ्नै सम्पादन र प्रकाशनमा २०१५ सालदेखि ‘समीक्षा’ साप्ताहिक पत्रिका सुरु गरेका थिए।
समीक्षामा छापिएका लेखको चिन्तन, सिर्जना र बौद्धिकताले तत्कालीन समयमा सबैलाई प्रभाव पारेको उनको बुझाइ छ। ढकालले थपे, ‘उहाँ अब्बल फोटो पत्रकार पनि हो। मूलपानीमा पानी नभएको र पानी थाप्न गाग्रीको लाइन राखेको तस्बिर खिचेर छाप्नुभएको थियो।’ ग्यास चेम्बरको मृत्युमा नाजीहरूले क्याम्पमा गरेको अत्याचारको विषयलाई त्यो उचाई दिनसक्नु दीक्षितको बौद्धिक क्षमताको उपज भएको ढकालले बताए।
किन लगिएन प्रज्ञा ?
दीक्षितको शव अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित निवासमै राखियो। उनको शव नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा लगिएन। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठानमा दिनहुँ विविध कार्यक्रम भइरहने भएकाले एकातिर उत्सव मनाइरहँदा अर्कोतिर मृत्युको दुःखद् दृश्य नदेखाउने निर्णय प्राज्ञ परिषद्ले गरेका कारण नलगिएको बताए। ‘यद्यपि प्रतिष्ठानका पदाधिकारीलाई लैजाने निर्णय भने छ तर यसको अभियन्ता नै दीक्षित हुनुभएकाले उहाँकै अडानका कारण प्रतिष्ठान पुर्याइएन’, उप्रेतीले भने। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराई, पूर्वप्रधानमन्त्री माधव नेपाललगायतले पशुपति आर्यघाटमा दीक्षितलाई आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए। दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन्।