कालिमाटीमा अत्याधुनिक रंगशाला बन्ने
सिन्धुली : कमलामाई नगरपालिका-५ कालिमाटीमा अत्याधुनिक प्रविधिसहितको रंगशाला बन्ने भएको छ। रंगशालाको शनिबार पूर्व कृषिमन्त्री तथा संघीय सांसद हरिबोल गजुरेलले सिलान्यास गरे।
३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार तीन सय ९७ रुपैयाँको लागतमा रंगशाला निर्माण हुन लागेको हो। सिलान्यासपछि सांसद गजुरेलले रंगशाला निर्माणले स्थानीयको जीवनस्तर माथि उठ्ने र युवा शक्तिले खेलका माध्यमबाट राष्ट्रलाई चिनाउन सक्ने भएकाले गुणस्तरीय र समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिए।
रंगशाला निर्माण जिम्मा तामाङ मरिन कन्स्ट्रक्सनले पाएको छ। ६ महिनामा पर्खाल लगाउने, चौर सम्याउने र अन्य निर्माणको काम अघि बढाउने सहमति भएको सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीले जानकारी दिए। एक सय मिटर लम्बाई र ६० मिटर चौडायको खेल मैदान निर्माण हुने र एकै पटकमा १५ सय जनाले प्रत्यक्ष खेल अवलोकन गर्न सक्ने उनले जानकारी दिए। ३ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा दुधौलीमा पनि रंगशाला निर्माण गरिने दर्जीले जानकारी दिए।