इलामको समृद्धि सपना

इलामको समृद्धि सपना

नेपालको सुदूरपूर्वमा अवस्थित इलामको केही भाग तराईबाहेक चारैतिर पहाडले घेरिएको छ। मनोरम प्राकृतिक भू–बनोट समशीतोष्ण हावापानी, होचा र हरिया पहाड र उर्वर भूमिले ढाकिएको यस जिल्लालाई त्यहाँका किसानको परि श्रम र जाँगरले सम्पन्न र समृद्ध बनाएको छ।

सुदूरपूर्वको हिमाली शृंखलामा पर्ने कञ्चनजंगा हिमालको मनोरम दृश्य होस्, बिहानीपखको अन्तुबाट हुने सूर्योदयको सुनौलो घामको दृश्यावलोकन गर्दा होस्, हाम्रा आँखा कहिल्यै अघाउँदैनन्। इलाम सूर्योदयको जिल्ला पनि हो। अविरल पानी बगिरहने चार खोलाले सरस पारेको इलामलाई पाँचथरतिरका बूढापाका अझै पनि चार खोला भन्छन्। इलामको शिरमा रहेको सन्दुकपुर, चिन्तापु डाँडा, कञ्चनजंगा हिमशृंखलाको सुन्दर दृश्यावलोकन गर्न र हिउँले ढाकिएको मनमोहक दृश्यका लागि यो ठाउँ विश्वमै लोकप्रिय गन्तव्यका रूपमा विकसित हुँदै छ।

इलामका रमणीय स्थल, अन्तु, सिद्धिथुम्का, माङमालुङ आदि जानैपर्ने ठाउँ भएका छन्। माईपोखरी, गजुरमुखी, पाथिभराजस्ता धार्मिक स्थलले पनि इलाम एकपल्ट घुम्नैपर्ने जिल्ला भएको छ। ठूलो क्षेत्रफलमा फैलिएको चिया बगानले त इलामलाई अझ हरियो र मनमोहक बनाएको छ। आदिवासी लिम्बू, राई, लेप्चा संस्कृतिको पहिचान भएको यस जिल्लामा अन्य जनजातिका सांस्कृतिक कला पनि संरक्षित छन्। सरकारले यसलाई सुरक्षा गर्नेतर्फ पाइला चालोस्।

विभिन्न क्षेत्र र विद्यामा नाम कमाएका कर्मयोगी र साधक, राष्ट्रसेवक, कलाकर्मी, उद्यमी र चिन्तकहरूको धनी इलामले धेरै पहिलेदेखि देशको सेवा गर्दै आएको छ। अतिथि देवो भवः (अतिथि भगवान्सरह हुन्) इलामको सांस्कृतिक तथा धार्मिक प्रखरतालाई इलामेलीले आफ्नो दैनिकी बनाएका छन्। अतिथीय इलामको ‘८ अ’ मा थपिएको छ।

इलाममा आउने जोसुकै पाहुनालाई श्रद्धापूर्वक दाजु, दिदीजस्ता शब्दले साइनो नलगाई बोल्ने चलन छैन। कसैका घरमा तपाईं पुग्नुभयो भने प्रायः चिया नखुवाई पठाउँदैनन् इलामेलीले। इलाममा १९२० सालमा जंगबहादुर राणाका पालामा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले नजिकैको दार्जिलिङबाट चियाका बिरुवा ल्याएर रोपेको इलामको सदरमुकामबाट सुरु भएको चिया खेतीले इलामलाई हरियालीको जिल्ला बनाउन ठूलो मद्दत गरेको छ। दार्जिलिङमा अग्रजले सुरु गरेको चिया खेतीलाई हावापानीअनुकूल ठानेर थापाले इलाममा पनि रोपेको भनाइ छ।

अब हामी इलाममा विकासका सम्भावनाका पोका खोलेर हेर्दै जाऔं। कृषि नै इलामेको मुख्य व्यवसाय हो। सबैले गाईपालन गर्छन्। अहिले दूध उत्पादन धेरै भएकाले दूधसम्बन्धी उद्योग पनि खुल्न थालेका छन्। अहिले इलामको ललीपप, छुर्पी, चिज र घिउ सबैलाई मन पर्छ। खासगरी विदेशीले इलामको चिज मन पराउँछन्। इलामको अकबरे खुर्सानी र इस्कुसले छिमेकी पश्चिम बंगालका दार्जिलिङ, खर्साङ र गान्तोकसम्मै बजार पाएका छन्। चिया त इलामको विशेषतै हो। २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापना भएर चिया खेती प्रारम्भ भएपछि यसले धेरैको ध्यान आकर्षित गरेको हो।

चियाबाट इलामका कृषकले मनग्गे आम्दानी गर्न सकेका छन्। मकै, कोदो, तोरीजस्ता अन्न रोप्थे उनीहरू। अहिले त्यसलाई चियाले विस्थापित गरेको छ। स्थानीय व्यापारी उद्योगीले चियाका पातमा डलर पनि देख्न थाले। तर मजदुर उद्योगपतिमा कहिल्यै पनि प्रेम र सहिष्णुता कायम भएन। उद्योगपति कम मूल्य दिने र मजदुरको शोषण गर्ने, सरकार उद्योगीकै पक्षमा भएको निर्णयले मजदुर सशंकित भएका छन्। कोही बेला महिनौंसम्म मजदुर काममा नजाने क्रम बढ्दो छ। तत्कालीन सरकारले कौडीको मूल्यमा चिया बगानहरू विदेशी व्यापारीलाई बिक्री गरे। पैसा व्यापारीले कमाए। मजदुर भोकै परे। मजदुर र मालिकबीच राम्रो सम्बन्ध हुन सके इलाम चिया विश्वमै प्रख्यात हुन सक्छ। करोडौं रुपैयाँमा त्यसबेला बेचेको कमानबाट साहुले पैसा कुम्ल्यायो। तर सरकारलाई अहिले केही लाख मात्र तिर्ने गरेकाले भोलि चिया खेती खतराको स्थितिमा पर्ने संकेत पनि त्यहाँका मजदुरले देखाएका छन्। सरकारले हेर्ने कुरा हो यो।

सामूहिक विकासमा समन्वय राखेर सबैले हातेमालो गर्ने हो भने इलामको भविष्य उज्ज्वल छ।

सुरुमा ५० वर्षको लिजमा लिएको चिया कम्पनीले सरकारलाई वर्षैपिच्छे दुई करोडजति बुझाउनुपर्नेमा सांघाई समूहले नोक्सानी तेस्र्याएर थोरै रकम तिर्ने गरेको इलामेलीबीच चर्चा छ। इलामका सातवटा बगानबाट उत्पादन हुने चियामा त्यति धेरै नोक्सानी नहुने किसान बताउँछन्। इलामका सातवटा बगानबाट झन्डै एक लाख किलो पत्ति प्रशोधन गरिन्छ। धेरै विदेश पनि जान्छ। तर सांघाई समूहले आम्दानी कम देखाएर रकम घटाउँछ। कर तिर्दैन भन्छन् स्थानीय। सांघाई समूहलाई हटाएर नेपाल चिया विकास निगमका बगान स्थानीय उद्योगीलाई सञ्चालन गर्न दिने माग गरेको थाहा भएको छ।

इलामनजिकैको भारतको दार्जिलिङको चिया अमेरिका, बेलायतजस्ता राष्ट्रका रेस्टुराँका मेनुमा ‘दार्जीलिङ टी’ भनेर चिनारी गराइएको हुन्छ भने त्यही हावापानी त्यही उचाइमा उत्पादित ‘इलाम टी’ भनेर राख्नेबारे हाम्रो सरकार या सरोकारवालाले कहिल्यै ध्यान दिएनन्। राजा वीरेन्द्रले इलामलाई चियाको जिल्ला घोषित गरेपछि चिया खेती मौलाएको मानिन्छ।

इलामका थुप्रै औषधि र मसलामा प्रयोग हुने अलैंचीमध्ये इलाममा थुप्रै फल्थ्यो। किसानले एकैजनाले सय मनसम्मको खेती गर्थे। मूल्य पनि राम्रै पाइन्थ्यो। विदेशमा निर्यात हुन्थ्यो। त्यसबाट किसान धनी हुन्थे। तर त्यही खेतीमा फुर्के भन्ने रोग लागेर विनाश हुँदा न चिया विकास निगमले केही गर्‍यो, न त्यसबेलाको कृषि मन्त्रालय तथा अनुसन्धान शाखाले नै केही गरे। हामीकहाँ कृषि विशेषज्ञ छन्, तालिमका लागि विदेश पनि जान्छन् तर एउटा अलैंचीमा लाग्ने सामान्य फुर्के रोग निवारण गर्न सकेनन्। सरकारले समेत नसकेको काम किसानले के गर्थे ? इलामबाट हराएको त्यो अलैंची अहिलेसम्म फर्केको छैन।

इलामको हावापानी र भूमि नगदेबालीका लागि अनुकूल छ। इलाममा विकासका सम्भावनाका थुप्रै थैला छरिएका छन्। अलैंचीबाहेक इलाममा आलु, ओलन, छुर्पी अम्रिसो (घाँस) अदुवा र अलैंची खेती ठूलो मात्रामा हुन्छ। अहिले पर्यटन उद्योग पनि मौलाएर आउँदै छ। अन्तुको सूर्योदय हेर्न र तराईका घामबाट विरक्त भएका कन्याममा चिया खेती हेर्दै वनभोज गर्न आउने गर्छन्। यहाँको भीड देख्ता र काम नपाएका मान्छेले पर्यटकलाई घोडामा दौडाउने तथा चियापसल, रेस्टुराँ खोल्ने हुँदा पर्यटन उद्योग पनि इलामको ठूलो उद्योग हुने सम्भावना देखिन्छ। कन्याम क्षेत्रमा रोड गाउँपालिका फिक्कलतिर लाग्दा बाटामा देखिने थुप्रै ससाना होटेल र भोजनालयले त्यही भन्छन्।

इलामलाई प्रकृतिले दिएको वरदान नै भनूँ, एउटा डाँडाको टुप्पोमा उभिएर तपाईंले चारैतिर आँखा गुमाउनु होस्, कतै पहाड चर्केका या माटो देख्नु हुन्न। इलामको विशेषता हो यो। विमानबाट नेपालको पश्चिमतिर लाग्दा कैयन् ठाउँमा पहिरो गएका उराठलाग्दा दृश्य देखिन्छ। इलाममा सबैले घरमा गाई पाल्ने भएकाले दैनिक रूपमा हजारौं लिटर दूध विराटनगर जान्छ भने दूध उद्योगहरू पनि घरेलु रूपमा विकसित हुँदैछन्।

अहिले नेपालमा नयाँ राजनीतिक व्यवस्था लागू भएपछि इलाममा सूर्योदय नगरपालिकाले केही योजना बनाएर विकास गर्ने प्रयत्न गर्दै छ। नगरपालिकाका मेयर कर्णबहादुर राई अध्यक्ष भएपछि नगरपालिकामा निकै परिवर्तन आएको देखियो। उनले केही दिनअघि आफ्नो क्षेत्रमा जन्मेका विभिन्न क्षेत्रका विशिष्टता हासिल गरेका केही इलामेली व्यक्तिलाई सम्मान गरे। असल काम गर्नेलाई प्रोत्साहन दिने त्यस्ता कार्यक्रम त्यस क्षेत्रमा पहिले भएकै थिएन भन्दा पनि हुन्छ। लोकतन्त्रको चरित्र र आदर्शलाई सुर्योदय नगरपालिकाले कायम राखेको कार्यक्रममा अन्य सबै दलका प्रतिनिधिलाई समान रूपमा बोल्न दिइएको कुरा प्रशंसनीय छ। दलहरूबीच वैमनस्य हुन्छ, तर त्यहाँ यसको लेस मात्र पनि देखिएन। कार्यक्रमका मुख्य अतिथि इलामका वर्तमान सांसद झलनाथ खनाल थिए।

यसरी सामूहिक विकासमा समन्वय राखेर सबैले हातेमालो गर्ने हो भने इलामको भविष्य उज्ज्वल छ। विकासका सम्भावनाका थुप्रै अवसर प्राप्त छन्। यातायात सञ्चार सबैको सुविधा छ। केवल इलामका पौरखी हात उठ्नुपर्छ। विकास पनि हुन्छ। चन्द्रागिरि हिलको जस्तो केवलकार कन्यामबाट अन्तु लैजान सके सुनमा सुगन्ध हुनेछ। सायद नगरपालिकाले यसबारे पनि सोच्ला नै।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.