माडी खोलामा जिप खस्दा चालकको मृत्यु
रोल्पा : रोल्पाको माडी खोलामा जिप खस्दा चालकको मृत्यु भएको छ। शुक्रबार बेलुका रोल्पा नगरपालिका–७ भलामा नजिकैको सडकबाट भे १ ज ४६५६ नम्बरको जिप खसेको हो।
दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षिय चालक दिलबहादुर बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक लिलाराम आचार्यले जानकारी दिए । उनकाअनुसार गाडी धनिसमेत रहेका चालक बुढामगरको शव शनिबार बिहान मात्र फेला परेको हो। शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको थियो।
जिप सडकबाट २ सय मिटर तल खोलामा खसेको छ। दुर्घटना लगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए। वर्षात्को खोला ठूलो भएकाले जिप भित्र अन्य मानिस भए, नभएको एकिन गर्न कठिनाई भएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालित गरिएको छ। हिमताल यातायात समितिको जिप चालकले आफ्नै पत्नीलाई माईत छोड्न निमृ पुर्याएर सदरमुकाम लिबाङ फर्कदै गर्दा दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस !