पोखरामा किसान बजार सञ्चालन

पोखरामा किसान बजार सञ्चालन

पोखरा : किसानले उत्पादन गर्ने बस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी पोखराको बिरौटामा मंगलबारदेखि किसान बजार सञ्चालनमा आएको छ। किसानले उत्पादन गर्दा लागेको मिहिनेतअनुसार उचित मूल्य पाउन र उपभोक्ताले पनि किसानबाट सोझै खरिद गर्दा सस्तो मूल्यमा बस्तु पाउने गरी पोखराको बिरौटामा पहिलोपटक किसान बजार सञ्चालनमा आएको हो।

पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा बिरौटास्थित कृषि विभाग कार्यालयको स्वामित्व र खाद्य तथा कृषि सामग्रीले उपयोग गर्दै आएको जमिनमा स्टल बनाइ बजार सञ्चालनमा आएको छ। १० लाख बजेटमध्ये पहिलो चरणमा साढे ६ लाख रुपैयाँको लगानीमा २५ वटा स्टल बनाएर कृषि बजार सञ्चालनमा आएको पोखरा महानगरपालिकाका कृषि तथा पशु महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

किसान बजारमा किसान आफैंले उत्पादन गरेका बस्तु तरकारी, खाद्यान्न, दुग्धजन्य बस्तु, माछा, खसी, बोका, हस्तकलाका सामग्रीलगायत बिक्री वितरणमा राख्न सक्ने व्यवस्था गरिएको उनले बताए। अरु बिचौलिया मात्र होइन किसानबीच नै बिचौलियाको भूमिका हुन नदिन महानगरपालिकाले अरु किसानबाट खरिद गरेर ल्याएको बस्तु पनि किसान बजारमा बिक्री गर्न बन्देज लगाइएको उनले बताए।

किसानले उत्पादन गरेका बस्तु एक दुई दिन राख्नु परे पनि उचित व्यवस्थापनका लागि कोल्डस्टोरको व्यवस्था महानगरपालिकाले गर्ने पोखरा महानगरपालिकाका कृषि तथा पशु महाशाखा प्रमुख कडरियाले जानकारी दिए। महानगरपालिकाले डिजिटल तराजुलगायत बस्तु बिक्री गर्दा आवश्यक पर्ने सबै सामग्री महानगरपालिकाले नै व्यवस्था गरेको बताए। किसानले आफूले उत्पादन गरेको अर्गानिक तरकारी तथा खाद्यन्न लिएर बिक्रीका लागि आउने र उत्पादन उपभोक्तालाई बिक्री गर्ने वातावरण बजारमा हुने उनले सुनाए। किसानले थोक विक्रेतालाई बिक्री गर्दाभन्दा २० देखि ३० प्रतिशत बढी मूल्य पाउने र उपभोक्ताका लागि थोक विक्रेताबाट किन्ने मूल्यभन्दा सस्तोमा मूल्य निर्धारण गरिने उनले बताए।

किसानले उत्पादन गरेका बस्तु सोझै उपभोक्ताकोमा पु¥याउन पहिलोपटक बिरौटामा सञ्चालनमा आएको किसान बजारमा महानगरपालिकाका वडा नम्बर २१, २२, ३३ र १७ का किसानले उत्पादन गरेका वस्तु राख्ने व्यवस्था गरिएको हो। महानगरपालिकाका विभिन्न स्थानमा यस्ता किसान बजार सञ्चालनका लागि यस वर्ष एक करोड रुपैयाँ बजेट छुट्याएको छ।

पोखराको लामाचौर, काहुँखोला, लेखनाथको तालचोकलगायत क्षेत्रमा छिट्टै नै किसान बजार सञ्चालन गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले बताए। किसानले उचित मूल्य पाउन् र उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले किसान बजार सञ्चालनमा ल्याइएको उनले सुनाए। किसानलाई कृषि उत्पादनमा लाग्न प्रेरणा दिन र उपभोक्तालाई एक दुई पैसा भए पनि सस्तो र विषादीमुक्त गर्ने वातावरण बनाउने उद्देश्यले किसान बजार स्थापना गरिएको महानगर प्रमुख जीसीले बताए।

किसान बजार सञ्चालनले होलसेलर व्यवसायीलाई बिक्री गर्दाभन्दा धेरै राम्रो मूल्य पाइएको पोखरा २२ पुम्दीभूम्दीकी किसान अग्निमाया बरालले बताइन्। किसान बजारको कारणले किसानले उत्पादन गरेअनुसार राम्रो मूल्य पाउने र उपभोक्ताले पनि सस्तो मूल्य पाउने भएकाले किसानको हितमा हुने यस्ता किसान बजार अन्यत्र पनि स्थापना गर्नुपर्ने उनले सुझाइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.