दसैंमा साहित्यको स्वाद

दसैंमा साहित्यको स्वाद

‘हामी डराउँछौं किनकी हामी जान्दैनौं, हामी जान्दैनौं किनकी हामी बुझ्दैनौं, हामी बुझ्दैनौं किनकी हामीलाई जानकारी छैन, हामीलाई जानकारी छैन किनकी हामी सञ्चार गर्दैनौं, हामी सञ्चार गर्दैनौं किनकी हामी अलग्गिएका छौं’, मार्टिन लुथर किङको यो भनाइलाई साहित्यमा जोडें भने एउटा नयाँ स्वाद आउन सक्छ।

हामी मानिस हरपल सञ्चारमा सहभागी भइरहन्छौं तर त्यो सञ्चार स्वादिस्ट र पूर्ण हुन्छ जब स्रोत (वक्ता) त्यस विषयको ज्ञानमा दखल राख्छ। साहित्य सञ्चारका लागि एउटा महत्र्वपूर्ण पक्ष हो। साहित्य लेख्दा वा पढ्दा पाइने स्वाद जब सञ्चारमा बदलिन्छ त्यसले पुनः नयाँ सिर्जना गर्छ, एउटा नयाँ स्रष्टासमेत जन्माउन सक्छ।

दसैं नेपालीको घरआँगनमा आइसकेको छ। धेरैले घरमा रक्सीका महँगा बोतल ठड्याएर आफ्नो परिचय दिन्छन्, कोही नयाँ गाडी भित्र्याइरहेका छन् तर थोरै भए पनि केहीले दसैंमा नयाँ साहित्यिक कृति किनेर पुस्तकालयमा सजाउन थालेका छन्। अन्यत्रको बजेट कटाएर भए पनि किताब किन्न खर्चिएका छन्। केही लेखक–पाठक त बर्सेनि हजारौं रकम यस्तै सिर्जनात्मक (आख्यान÷गैरआख्यान) पुस्तकका लागि खर्चिन्छन् नै, चाहे त्यो साहित्यिक महोत्सव, प्रदर्शनी होस् चाहे दसैं विशेषको चाड। केही दशक सुस्ताएको नेपाली साहित्य पछिल्लो समय पुनः जुर्मुराएको छ, सँगै पाठक पनि ह्वात्तै बढेका छन्। अझ बौद्धिक पाठकको जमातसमेत बढ्नाले लेखकमा समेत चुनौतीका चाङ थपिएका छन्।

चर्चित व्यक्तित्व हरिवंश आचार्य आफूलाई पाठक बढी भन्न रुचाउँछन्। कलाकार उनी लेखक, गायक, गीतकारलगायत थुप्रै क्षेत्रमा विशिष्ठ पहिचान बनाएर पछिल्लो समय बालसाहित्यकारको पंक्तिमा आफूलाई उभ्याइरहेका छन्। दसैंमा कस्तो साहित्यको स्वाद लिइरहेका छन् उनले ? ‘भर्खरै ‘खबजु’ पढें, मन छोयो’, नेपाली किताबमात्रै पढ्ने बताउने उनले नेपालीमा अनुवाद भएकाले हिन्दी यो कृति पढिसकेको जानकारी दिँदै थपे, ‘दसैंमा अमर न्यौपानेको उपन्यास गुलाबी उमेर पुनः पढ्छु, निलम कार्की निहारिकाको योगमाया र कथा र अमृता लम्सालको हजुरआमाका कथा पढ्छु।’

हरिवंशलाई शब्द, शब्दले तान्छ। विषयवस्तुले पनि तान्छ। शब्दको बुनाइ हेरेपछि किताब पूरै पढ्ने वा नपढ्ने उनले निर्णय गर्छन्। नाम चलेका लेखकका किताब उनका रोजाइमा पर्छन् भने कसैले सिफारिस गरेको किताब नयाँ लेखक भए पनि उनी किनेर पढ्छन्। ‘खासगरि कथा पढ्न रुचाउँछु किनकि चलचित्र बनाउन म पनि नयाँ नयाँ कथा खोजिरहेकै हुन्छु’, उनी भन्छन्, ‘डा. रविन्द्र समीरको मृत्युको आयुले तानेको छ, यो उपन्यास र लघुकथाको फ्युजन छ जुन फरक प्रस्तुतिमा कसैले नलेखेको किसिमको भएकाले पुनः पढ्दै छु।’

बजारमा पुस्तकजस्ता पनि र जति पनि आउन सक्छन् तर सबै कृति पाठकको रोजाइमा नपर्न सक्छन्। विगतमा लामो समय नेपाली साहित्यमा यति धेरै प्रतिस्पर्धा थिएन। अहिले बिक्रीमात्र होइन, पठन संस्कृति र पाठकको संख्या दुवै बढेको छ। एकातिर लेखकअनुसार पाठक बढेका छैनन् भन्ने टिप्पणी बजारमा छँदै छ भने अर्कोतिर पाठकले आफ्नो स्वाद, सन्दर्भ र समाज पुस्तकमा नपाएको अवस्था पनि छँदै छ। निरन्तर नपढ्ने तर मन परेको पुस्तक जतिसुकै मोटो भए पनि एकै दिनमा सक्ने पाठक पनि छन्। जसरी मन परेको फिल्म दर्जनौंपटक हेर्ने युवा छन् त्यस्तै पाठक पनि नेपाली साहित्यका छन्। पछिल्लो समय प्रविधिका कारण पनि पाठक बढेका छन्।

प्रज्ञा प्रतिष्ठानको आख्यान विभाग प्रमुख माया ठकुरीलाई मनपर्ने साहित्यिक स्वाद पृथक छ। राजधानीमा करिब तीन सय सडक बालबालिका छन् जसमध्ये करिब आधा बालिका छन्। ठकुरी तिनका कथा पढ्न चाहन्छिन् तर त्यसमा घोत्लिएर कुनै लेखकले साहित्यिक कृति लेखेका छैनन्। ‘तिनै सडक पुग्न बाध्य छोरीहरू शरीर बेच्न बाध्य छन्। घरभित्रै सिरकमा काम्ने छौं, सडकमा रातभर बोराको भरमा बाँच्न विवश तिनको हालत साहित्यमा उतारिनु आवश्यक छ, मैले पनि लेख्नुपर्छ भन्ने ठानेकी छु’, उनी भन्छिन्। यसैवर्ष मदन पुरस्कार प्राप्त योगशराजको ‘रणहार’ र उषा शेरचनको कथा संग्रह ‘आँधी’ दसैंमा पढ्ने उनको योजना छ।

‘सेतो धरती’ उपन्यासले पाठकमाझ दह्रो डेरा जमाएका अमर न्यौपाने अहिले ‘गुलाबी उमेर’ मार्फत छरिएका छन्। दसैंमा उनी अबका नयाँ कृति डा. सञ्जीव उप्रेतीको उपन्यास ‘हंश’, चलेका चिकित्सकको जीवनी ‘सन्दुक रुइत’, सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’, शैलेन्द्र अधिकारीको उपन्यास ‘निर्वेद’ पढ्ने सोचमा छन्। ‘फरक सोच र दृष्टिकोणका साथमा नयाँ लेखनशैली मेरोको रोजाइमा पर्छ’, उनी थप्छन्, ‘आख्यान इमोसनल होस् जसमा दार्शनिक पक्ष पाइयोस्।’ ‘समर लभ’ बाट युवाबीच प्रिय बनेका सुबिन भट्टराई कृतिका पात्रसँग पाठक जोडिएको हुनुपर्ने तर्क गर्छन्। छैठौं उपन्यासको तयारीमा रहेका उनी भन्छन्, ‘विषयभन्दा लेखनशैलीले बढी तान्छ, पढ्दा अन्डरलाइन गरुँ गरुँ लाग्ने वाक्य होउन्, त्यसमा मात्र साहित्यको स्वाद पाउँछु।’

दस वर्षे गृहयुद्ध, त्यसमा पुरुष बढी होमिए पनि महिलालाई कति र कसरी असर परेको छ, त्यसकै कारण इजरायललगायत देशमा काम गर्न पुगेकाको भाषा र कामजस्ता विषयमा देखिएको पीडा आदि समेटेर ‘तोदा’ उपन्यास आयो। तोदा लेखिका उमा सुवेदी यस दसैंमा सरुभक्त र सञ्जीव उप्रेतीका दुई नयाँ उपन्यासबाट नयाँ साहित्यिक तिर्खा मेट्दै छिन्। यसअघि ‘घनचक्कर’ उपन्यासबाट पाठकको दिमाग चकराइदिएका उप्रेती ‘हंश’ र ‘पागलबस्ती’ जस्ता कृतिबाट छाप बनाएका सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’ मा नयाँ स्वाद पाउनेमा पाठक विश्वस्त छन्।

पछिल्लो समय विषयवस्तु र प्रस्तुति दमदार भएका सबै विषय र क्षेत्रका पुस्तक पाठकको रोजाइमा पर्न थालेका छन्। ‘खासकुरा विषय हो, दोस्रो कसरी प्रस्तुत गरिएको छ र तेस्रो कल्पनाशीलता र चौथो भाषाशैली’, ‘प्रश्नहरूको कारखाना’ कविता संग्रहकी लेखिका सरिता तिवारी भन्छिन्, ‘साहित्यिक विषयमा विविधता आउन थालेका छन्, पोलिटिकल ट्रेजेडी, त्यसले समसामयिक समय, समाज र राजनीतिमा पारेको प्रभाव पढ्न र लेख्न रुचाउँछु।’ जब ‘स्ट्रेस’ फिल गर्छिन् उनी तब पारिजातका कृति पढ्न थाल्छिन्। दक्षिण भारतमा लेखिएको ‘घासर घोसर’ लाई युग पाठकले नेपालीमा अनुवाद गरेपछि पढेको बताउने उनले त्यसमा पारिवारिक व्यवस्था, तिनको उल्झन, महिलाबीचको द्वन्द्व, पात्रको निरिहता आदिले आफूलाई तानेको बताइन्। उनी भन्छिन्, ‘साहित्यको स्वाद लेखक होइन, पाठक सन्तुष्ट हुनुमा छ।’

नयाँ स्वाद खोज्ने पाठकले नेपाली साहित्यका अभिभावक व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, गोपालप्रसाद रिमाल, केदारमान व्यथित, बालकृष्ण सम, मोतीराम भट्ट, भानुभक्त आचार्य, ह्दयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल, पारिजात, रमेश विकल, भीमनिधि तिवारीलगायत कृतिमा ध्यान पु¥याउन सकेका छैनन्। त्यसबेलाको मनोवैज्ञानिक यथार्थवादी, प्रगतिवादी र प्रयोगवादी, स्वच्छन्दतावादी, सामाजिक यथार्थवादी आदि धारा अँगालेर लेखिएका विविध विधाका कृतिमा पाइने स्वाद अहिलेका कृतिमा नपाइन सक्छ। अस्तित्ववादी, शून्यवादी, मानवतावादी र विसंगतीवादी मूल्य बोकेका कथा खोज्नु परे अतितमै फर्कदा पाठकले त्यो स्वाद पाउनेछन्।

मार्टिन लुथर किङले भनेजस्तै समाज चिन्न र सञ्चार गरिरहन ‘साहित्य’ उपयुक्त माध्यम हो। त्यसैले पनि आत्मकथा, यात्रा साहित्य, सफलताको कथा, जीवनी आदिमा पाठक बढेका छन्। बजारमा सनसनी मच्चाएर ह्वात्तै बिक्री बढाउने पुस्तकभन्दा पुराना तर कालजयी पुस्तकले पाठकको जीवनमा ‘कायापलट’ गर्न सक्छ। नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका कृति जुन ‘इतिहास’ बनिसकेका छन् तिनले नयाँ पुस्ताका पाठकलाई ‘विशेष खुराक’ दिनसक्छन्। चलेका चटपटे पुस्तकभन्दा अनुसन्धानमूलक कृतिमा ‘समाज र जीवन’ भेट्टाउन थालेका छन्। नयाँ समयमा पुरानो ‘जुग’ घुलमिल गरी अघि बढ्न अबका पुस्ताले मदन पुरस्कार पाइसकेका सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, मोदनाथ प्र िश्रतको ‘मानव’, शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, मदनमणि दीक्षितको ‘माधवी’, बुद्धिनारायण श्रेष्ठको ‘नेपालको सीमाना’ आदिजस्ता गहनतम कृति पनि पढ्ने कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.