नयाँ नोटमा घट्यो आकर्षण

नयाँ नोटमा घट्यो आकर्षण

काठमाडौं : यो वर्षको दसैंमा नयाँ नोटको सटही एक चौथाई घटेको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार गत वर्ष साढे १२ अर्बको नयाँ नोट सटही भएकामा यो वर्ष साढे ९ अर्बमात्रै सटही भयो। यसले बैंकमा लाइन लागेर नयाँ नोट साट्ने प्रवत्ति घटेको देखिएको छ। गत वर्ष प्रतिव्यक्ति सटही सीमा २७ हजार रुपैयाँ दिएकामा यो वर्ष १८ हजार ५ सयमात्रै दिएका कारण सटही घटेको हुनसक्ने प्रवक्ता निरौला बताउँछन्।

वाणिज्य बैंकहरूमार्फत पनि सुकिला नोट बजारमा पठाएका कारण पनि राष्ट्र बैंकमा आएर नोट सटही गर्ने क्रम सुस्ताएको उनले बताए। त्यसो त, अघिल्ला वर्षमा थापाथलिस्थित राष्ट्र बैंक कार्यालयबाट नोट सटही सुविधा दिने गरेकामा यो वर्ष बालुवाटारबाट यस्तो सुविधा दिएकाले पनि नोट सटही कम भएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।

राष्ट्र बैंकमा लाइन लागेर नोट साट्ने घटेसँगै तीन वर्षभित्र यस्तो व्यवस्था नै खारेजी गर्ने योजनामा राष्ट्र बैंक लागेको छ। २०६६-६७ देखि लागू भएको सफा नोट नीतिको पूर्णकार्यान्वयन गरेर राष्ट्र बैंकले नयाँ नोट साट्ने सुविधा बन्द गर्न लागेको हो। यसका लागि नयाँ र सफा नोट छान्ने ‘सर्टिङ मेसिन’ ल्याएर प्रयोगमा ल्याइसकेपछि नयाँ नोट सटही गर्ने सुविधा नै बन्द गर्ने योजनामा राष्ट्र बैंक पुगेको छ।

अन्य देशका केन्द्रीय बैंकले दुई दशकभन्दा अघिदेखि प्रयोगमा ल्याइसकेको सर्टिङ मेसिन राष्ट्र बैंकले अबको तीन वर्षभित्र नेपालमा पनि सञ्चालन गर्ने योजना बनाएको छ। ‘त्यसपछि मुद्रा व्यवस्थापन प्रणाली पनि पूर्णतः स्वचालित हुने छ’, निरौला भन्छन्, ‘त्यसपछि बजारमा जतिबेला पनि सफा नोट प्राप्त हुने भएकाले राष्ट्र बैंकले अहिलेको जस्तो नोट सटही गर्ने व्यवस्था खारेज हुनेछ।’

यसअघि दसैंको समयमा मात्रै नयाँ नोट बजारमा पठाउने गरेको राष्ट्र बैंकले गत सालदेखि छठ, ल्होसार, इद, संविधान दिवस, नयाँ वर्षमा पनि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा दिन थालेको थियो। धार्मिक, सांस्कृतिक र राजनीतिक पर्वमा पनि नयाँ नोट बजारमा पठाउन थालिएको निरौला बताउँछन्। ‘अब हामी यस्ता पर्वबाहेक सबै समयमा नयाँ नोट जारी गर्ने योजनामा छौं’, उनी थप्छन्। राष्ट्र बैंकले नोट छान्ने मेसिन ल्याइसकेपछि वाणिज्य बैंकले पनि टेबुलमा राख्न मिल्ने खालका ‘डेस्कटप सर्टिङ मेसिन’ प्रयोगमा ल्याउनुपर्ने प्रवक्ता निरौलाले बताए। त्यसपछि बैंकबाट झुत्रा नोट ग्राहकले पाउने छैनन्। राष्ट्र बैंकले पनि द्रुत गतिमा नोट छान्न सक्ने मेसिन राख्नेछ। तर यसका लागि लागत अनुमान र खरिद प्रक्रिया भने अघि बढिसकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.