विकल्पमा हाइब्रिड गाडी

विकल्पमा हाइब्रिड गाडी

काठमाडौं : संसारमा विद्युतीय स्रोतबाट चल्ने सवारीसाधनको विषयमा बहस चलिरहेको छ। पेट्रोलियम पदार्थबाट चल्ने गाडीको विकल्पका रूपमा विद्युतीय सवारीलाई लिइएको छ। तर, विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री सबैको चिन्ताको विषय छ। ब्याट्रीमा प्रयोग हुने लिथियम आयन संसारकै दुर्लभ तत्वमध्ये पर्छ। यसैबीच विद्युतीय सवारीको भविष्यका लागि लिएर थुप्रै टिप्पणी आए।

अहिले हाइब्रिड प्रविधिका सवारीसाधन चर्चामा छ। हाइब्रिड पेट्रोलियम इन्धन र विद्युतीय स्रोत दुवैबाट चल्ने गाडी हो। यसलाई इन्धनको खपत कम र लिथियम आयनको दुर्लभतालाई ख्याल गरेर उपयोगी प्रविधिका रूपमा लिइएको छ।

सन् १८८९ मा डा. फर्डिनान्ड पोर्सेले हाइब्रिड कारको निर्माण गरेका थिए। तत्कालीन अवस्थामा सीमित मानिसले आफ्नो घरमा सानो चार्जिङ स्टेसन राखेर विद्युतीय सवारी चलाउँथे। यो विश्वको पहिलो हाइब्रिड कार थियो यद्यपि यसलाई हाइब्रिड नाम दिइएन। यसलाई उनले ल्याटिनमा ‘सेम्पर भिभस’ नाम दिएका थिए। यसको अर्थ हुन्छ ‘दीर्घ जिवी’। यसमा रियर सस्पेन्सन थिएन। दुई जोडा इन्जिन, दुई जेनेरेटरसहित ७४ वटा ब्याट्री आवश्यक पथ्र्याे।

१९९७ मा जापानमा टोयोटाको प्रियस सार्वजनिक गरेपछि हाइब्रिड गाडीको बजार विस्तार हुनथाल्यो। पछि पेट्रोलियम पदार्थको मूल्य सस्तिएपछि हाइब्रिडको बजार खस्किन थाल्यो। सन् २०१७ मा विश्वभर झन्डै एक करोड हाराहारीमा हाइब्रिड गाडी बिक्री भए। २०१८ मा जापानले करिब ७५ लाख हाइब्रिड गाडी बिक्री गरेको थियो। यो संसारकै सबैभन्दा बढी बिक्री रेकर्ड हो।

अहिले विश्व बजारमा हाइब्रिड गाडीको प्रयोग फैलिएको छ। इन्धनको बचतसँगै विद्युतीय माध्यमबाट चल्ने यो गाडीलाई सबैले रुचाउन थालेका छन्।

नेपालका लागि हाइब्रिड गाडी किन उपयुक्त छ। हाइब्रिड गाडी इन्धनको बचत र स्वच्छ पर्यावरणका लागि उपयुक्त हुने अटो व्यवसायी बताउँछन्।

नेपालमा भने हाइब्रिड सवारीसाधनको परिचय भर्खरै मात्र सुरु भएको छ। पहिलो पटक सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई भन्सारमा छुट दिने व्यवस्था गरेको थियो। बजेटमार्फत हाइब्रिड कारमा भन्सार तथा अन्तःशुल्क छुट दिने व्यवस्था ग‍र्‍यो। यो व्यवस्थाअनुसार साविकमा प्यासेन्जर कारमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्कमा ५०-५० प्रतिशत छुट दिने व्यवस्था छ।

तर, विभिन्न वर्गका हाइब्रिड कार हुने भएकाले सरकारी परिभाषाले सबै खाले हाइब्रिड कार ल्याउन मिल्ने थियो। त्यही आधारमा सुजुकीका स्मार्ट हाइब्रिड कार ५० प्रतिशत भन्सार तथा अन्तःशुल्क छुटमा नेपाल भित्रिए।

प्लग–इन हाइब्रिड र पियोर हाइब्रिडले मात्र भन्सार तथा अन्तःशुल्क छुट पाउने भएका छन्। अर्थ मन्त्रालयले भन्सार विभागमार्फत कार्यालयलाई हाइब्रिड कारको पुनर्परिभाषा गरी पत्र पठाएको थियो। अब पेट्रोल र ब्याट्री दुवैबाट चल्ने कारलाई हाइब्रिड कार भनिने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले गरेको नयाँ परिभाषाअनुसार अब स्मार्ट र माइल्ड हाइब्रिड कारले छुट सुविधा पाउने छैनन्। यस्ता कारले गाडीको माइलेज बढाउने नभई इन्जिन स्टार्ट गर्न र गाडीको पावर बढाउन मात्र सहयोग पु‍र्‍याउँछ।

हाल विश्व बजारमा विभिन्न किसिमका हाइब्रिड कार उत्पादन हुँदै आएका छन्। हाइब्रिडका प्रकारमा मुख्य गरी माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड, प्लगइन हाइब्रिड र पियोर हाइब्रिड रहेको पाइन्छ। स्मार्ट र माइल्ड हाइब्रिड सवारी स्टार्ट गर्न र पावर बढाउन विकास भएको प्रविधि हो। यसले सवारीको माइलेज वृद्धिमा खासै ठूलो भूमिका खेल्दैन।

त्यस्तै प्लग इन हाइब्रिड कार इन्धनबाट र कारमा भएको ब्याट्री प्लगको माध्यमबाट चार्ज गरी चलाउन सकिन्छ। पियोर हाइब्रिड कार इन्धनबाट नै चल्छ। जसमा ब्रेक लगाउँदा जेनेरेट हुने इलेक्ट्रिसिटीबाट मोटर रिचार्ज भई सवारी चल्ने प्रविधि छ। जसका कारण यस्ता कारले १ एक लिटर इन्धन खपतमा ४० किलोमिटरभन्दा बढी माइलेज दिन्छन्।

सरकारले भन्सार छुट दिन खोजेको यस्तो हाइब्रिड कारमा हो। भारत सरकारले पनि सन् २०१५ देखि २०१७ सम्म यस्ता हाइब्रिड कारलाई कर छुट सुविधा दिएको थियो। तर, सन् २०१७ पछि भने सुजुकीले उत्पादन गर्ने यस्ता माइल्ड हाइब्रिड वा स्मार्ट हाइब्रिड कारलाई दिइएको सुविधा कटौती गरेको थियो।

यसैगरी यस्ता स्पेसिफिकेसन भएका सवारी साधन आयातमा लाग्ने अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ। सरकारले पनि हाइब्रिड कारको स्पष्ट व्याख्या नगर्दा नाममात्रका हाइब्रिड कारले कर छुटको सुविधा पाएका छन्।

सरकारले २०७५ चैतमा व्यापार घाटा न्यूनीकरण गर्ने सम्बन्धमा राष्ट्रिय कार्ययोजना ल्याएको थियो। त्यसैका आधारमा पेट्रोलियम पदार्थको आयात न्यूनीकरण गर्न सरकारले इन्धन खपत कम गर्ने हाइब्रिड कारमा साविकमा लाग्दै आएको कारको भन्सार तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो।

सरकारले इन्धन र ब्याट्री दुवैबाट चल्ने पियोर हाइब्रिड सवारीलाई छुट दिन खोजेको हो। विगतमा पनि एक-दुईवटा हाइब्रिड कार नेपाल आएका थिए। तर, ती कार साविक भन्सार तथा अन्तःशुल्कमै आएका थिए। नेपालमा हाल कारमा ८० प्रतिशतसम्म भन्सार, ६० देखि १०० प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत भ्याट, ८ प्रतिशत सडम मर्मत तथा सम्भार दस्तुर लाग्दै आएको छ।

आर्थिक ऐन २०७६ मा हाइब्रिड सवारीसाधन आयातमा लाग्ने भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था थियो। तर, भदौ ४ को मन्त्रिपरिषद्को बैठकले अन्तः शुल्क र भन्सारमा ५० प्रतिशत छुट दिने व्यवस्था हटाउने निर्णय ग‍र्‍यो।

अहिले प्लग इन सवारीसाधनमा मात्रै छुटको व्यवस्था आएपछि हाइब्रिडको सवारीसाधनको बजार विस्तार हुन नसकेको अटो व्यवसायी बताउँछन्। टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका सेल्स एन्ड मार्केटिङ म्योनजर बिवेक बलामी बताउँछन्।

उनका अनुसार सरकारले सुरुवातमा गरेको नीतिगत व्यवस्थाले हाइब्रिड गाडीको बजार बढ्नेमा व्यवसायी उत्साहित थिए। ग्राहक पनि उल्लेख्य रूपमा झुम्मिएको उनले बताए। उनले भने, ‘सरकारले नीतिगत व्यवस्था फेरेपछि ग्राहकको आकर्षण घट्न थालेको छ। ८० प्रतिशतसम्म सस्तोमा पाइन्थ्यो गाडी।’

प्लग इन हाइब्रिड गाडीको प्रविधि महँगो भएको उनले बताए। संसारमै प्लग इन सवारीमा मानिसको आकर्षण कम भएको उनको भनाइ छ।

नाडा अटो सोको अवसर पारेर टोयोटाले र्‍याभ फोर र क्याम्री हाइब्रिड सार्वजनिक गरेको थियो।

टोयोटाले अहिले चार-पाँच वटा नयाँ प्रविधिमा काम गरिरहेको छ।

उता सीजी मोटोकर्पले तीन नयाँ मारुती सुजुकीका हाइब्रिड प्रविधिको कार नेपाली बजारमा भिœयाएको थियो।

कम्पनीले हाइब्रिड प्रविधिको सियाज, इर्टिगा र एसक्रस नेपाल ल्याएको थियो। वातावरणमैत्री र माइलेज धेरै दिने कारको माग बढेकाले हाइब्रिड कार ग्राहकलाई उपलब्ध गराउन खोजिएको सीजीका बजार प्रबन्धक करुण शाक्यले बताए।

‘पछिल्लो समय ग्राहक वातावरणप्रति सचेत हुन थालेका छन्। इन्धन खरिदमा राष्ट्रको खर्बौं रुपैयाँ बाहिर गएको छ’, शाक्यले भने, ‘यसलाई रोक्न कम्पनीले हाइब्रिड कार आयात गरेको हो। यी हाइब्रिड कारले वायु प्रदूषणका साथै इन्धन खपत पनि घटाउँछ।’

के हो हाइब्रिड गाडी ?

हाइब्रिड गाडी अन्य गाडीको तुलनामा फरक छ। यसले वातावरणमा समेत सहयोग पुर्‍याउँदछ। हाइब्रिड गाडी दुई प्रकारको शक्तिको उपयोग गर्ने साधन हो।

एउटा इलेक्ट्रिकबाट चल्ने र अर्को इन्धनबाट चल्ने।

हाइब्रिड गाडीले इन्धनको खपत कम गर्ने र वातावरणीय पर्यावरण जोगाउने विज्ञले बताएका छन्। जसका कारण वातावरण सफा हुने दाबी गरिएको छ।

विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रम बढ्दो छ। यद्यपि त्यसका लागि पूर्वाधार बनाउन समय लाग्ने र त्यसअघि हाइब्रिड गाडी नेपालका लागि उपयुक्त हुने व्यवसायीको तर्क छ।

हाइब्रिड प्रणालीको प्रयोगले वातावरणका लागि हानीकारक कार्बनडाइअक्साइडको उत्र्सजनलाई कम गर्ने दाबी विज्ञहरूको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.