बारपाक र लाप्राकबीच सीमा विवाद : गाउँ खतरामा परेको भन्दै बारपाकीले गरे सडक अवरुद्ध

बारपाक र लाप्राकबीच सीमा विवाद : गाउँ खतरामा परेको भन्दै बारपाकीले गरे सडक अवरुद्ध

गोरखा : धार्चे गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा बारपाकका बासिन्दाले अवरोध गरेका छन् । सडककै कारण बारपाकको तसरा गाउँ खतरामा परेको बहाना बनाई बारपाकका बासिन्दाले सडक अवरुद्ध पारेका हुन् ।

मनसुन सकिएपछि गाउँ जाने मुख्य सडक सफा गर्ने काममा पनि बारपाकका बासिन्दाले अवरोध गरेको धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ बताउँछन् । 'मनसुन सकिएपछि सबै कच्ची सडक सफा गर्नू भनेर जिल्ला समन्वय समितिले आव्हान गर्‍यो र हामीले गाउँपालिका प्रवेश गर्ने मुख्य सडक सफा गर्न बुधबार डोजर लगेका थियौं,' गुरुङले भने, 'तर डेढ दुईसय जना बारपाकी सडकमा भेला भएर बाटो छेके। डोजरका लागि लगिएको इन्धनको ड्रम खुकुरीले छप्काएर सबै नष्ट गरिदिए ।'

एनआरएनएद्वारा गुप्सीपाखामा एकीकृत बस्ती बनाउने काम पनि सडक अवरोधका कारण रोकिएको स्थानीय मार्सिङ गुरुङले बताए । 'एनआरएनका अध्यक्ष हेलिकोप्टरमा आएर घर हस्तान्तरण गर्ने भनेर गाउँलेलाई गुप्सीमा बोलाए । हामी सय जना जति आएका थियौं । बैठक चल्दै थियो, बारपाकीहरु पूरै उल्टेर आए, धार्चे गाउँपालिकाले सडक सफा गर्न ल्याएको डोजरलाई घेरा हाले भन्ने खबर आयो । अनि हामी पनि सबै त्यतै गयौं, 'गुरुङले भने, 'उनीहरु झोलामा हातहतियार लिएर आएका रहेछन् । डोजरको तेल फाल्दिसकेका रहेछन् । हेर्दा सबैको हातहातमा लाठीमुङ्ग्री थियो । हाम्रो पक्षबाट जो बोल्यो, उसलाई घेरा हाल्ने, हुटिङ गर्ने, आतंकित गर्ने गर्न थाले ।'

उनका अनुसार वडासदस्य रामबहादुर गुरुङमाथि सामान्य हातपात समेत भयो। कुनै हालतमा पनि सडक मर्मत गर्न नदिने अडान लिएपछि आफूहरु गाउँ फर्किएको उनले बताए । बारपाकतर्फका संघर्ष समितिका संयोजक जीतबहादुर घलेले भने लाप्राकीले कब्जा गरेको बारपाकको जमिन फिर्ता नगरेसम्म सडक अवरोध हुने जिकिर गरे।

'जडिबुटी र खानेपानीको मुहान भएको हिमालको फेदीमा पर्ने रालाङ र सासिङ भन्ने ठाउँ लाप्राकीले कब्जा गरेका छन्, घलेले भने, 'त्यो नछाडेसम्म हामी हाम्रो जमिन हुँदै जाने सडक अवरोध गरिरहन्छौं,'उनले भने,' मुहान दर्ता गरेर हामीलाई जानकारी नै नदिई बारपाकतर्फ पर्ने भण्डारीपुक भन्ने ठाउँबाट पानी लगेका छन् । उनीहरुले मनलाग्दी हिसाबले जताततै झण्डा गाडेर सीमाना मिच्ने काम नछोडेसम्म हामी पनि छोड्दैनौं ।'
  
यसअघि दुई गाउँपालिकाको सीमा विवाद समाधान गर्न सदरमुकाममा बसेको बैठक बिना निर्णय टुंगिएको थियो । बारपाक र लाप्राकको सीमा विवाद प्याकेजमा समाधान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । 'अल्पकालीन समस्या छिट्टै र दीर्घकालीन समस्या स्थलगत अध्ययन गरी समाधान गर्नुपर्छ,' उनले भने, 'त्यसका लागि कात्तिक 3 गते सदरमुकाममा बैठक आव्हान गरेका छौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.