भाइटीकामा रमाए पर्यटक (फोटो फिचर)
पोखरा : पोखरा भ्रमणमा रहेका पर्यटकले सप्तरंगी टीका लगाएर तिहार मनाएका छन् । 
मंगलबार भाइटीको अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको १२ औं भाइटीका महोत्सवमा पर्यटक रमाएका हुन् । महोत्सवमा सहभागी १२ देशका ३० पर्यटकले टीका लगाए । उनीहरुले टीका मात्र लगाएनन् देउसी र भैलोसमेत खेलेर रमाइलो गरे ।
भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षका पर्यटक दोहो¥याएरसमेत टीका लगाउन पोखरा आउन थालेका छन् । फ्रान्सकी मिसेल मोजा ८ औं पटक पोखरामा भएको भाइटीका महोत्सवमा सहभागी भएकी छन् । यस वर्ष उनी छोराबुहारी र नातीनातीनासहित तिहार मनाउन नेपाल आएकी हुन् । 
पश्चिमाञ्चल होटल संघको आयोजनामा संस्कृतिक पर्यटनको विकास गर्न भाइटीका महोत्सव हुँदै आएको छ । भाइटीका महोत्सवमा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलियालगायतका देशका पर्यटकको सहभागीता रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
महोत्सवमा भाग लिएर नेपाली परम्परा अनुसार तिहारमा टीका लगाउन पाउँदा आफूले निकै नौलो अनुभव गरेको महोत्सवमा सहभागी फ्रान्सका मोजो इमानुअलले बताए ।
महोत्सवमा रेन्वो चिल्ड्रन होमका वालिकाले पर्यटकलाई टीका लगाइदिएका थिए । पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टीका लगाएर उपहार दिएका थिए । पर्यटकले पनि बालिकाहरुलाई दक्षिणा दिएका थिए । पर्यटकले देउसी भैलो र सांस्कृतिक कार्यक्रममा भरपुर मनोरञ्जन लिए । सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए । 
तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय महोत्सवले लिएको आयोजक संघका सचिव गणेश पहारीले जानकारी दिए । 


पोखरामा भाएको भाइटीका महोत्सवमा ८ औं पटक सहभागी भएकी फ्रान्सकी मिसेल मोजो । तस्बिर : कृष्णमणि बराल
प्रतिक्रिया दिनुहोस !