पोखराको सेती नदीमा हरिबोधिनी एकादशी मेला
पोखरा : हरिबोधिनी एकादशीमा पोखराको सेती नदीमा लागेको मेला समापन भएको छ। शुक्रबार बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्न भक्तजनको मेला लागेको थियो । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।
भगवान विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा गरीन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन छ ।पोखराको सेती नदीमा फूल तार्न ठूलो संख्यामा भक्तजन ढोलीमा फूल, प्रसाद लिएर सेतीमा पुगेका थिए । भजन, कृतन, नाचगान गरेर भक्तजन सेती नदीमा पूजा गरेर तोरन सेती नदीमा तारे।
ठूलो एकादशी समेत भनिने हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । असाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ ।
त्यसैले असाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी र कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हिन्दु धर्मग्रन्थमा तुलकी, पिपल, दूबो र शालिकग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिन्छ ।






प्रतिक्रिया दिनुहोस !