पोखरा र भरतपुर समझदारी : वाइल्डलाइफ र पर्यटन सँगसँगै
पोखरा : पर्यटनको राजधानी पोखरा र जैविक विविधताको राजधानी भरतपुर महानगरपालिका बीच पर्यटन विकास र प्राकृतिक स्रोतको संरक्षणमा सहकार्य गर्ने सहमति भएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र पोखरा महानगरपलिकाका मेयर मानबहादुर जीसीले यससम्बन्धी १२ बुँदा समझदारीपत्रमा शनिबार सम्झौता गरेका छन्।
विश्वमै पहिलोपटक आरोहण गरिएकोे हिमाल अन्नपूर्ण प्रथम (८ हजार ९१ मिटर) धौलागिरि, मनास्लुलगायत ८ हजार मिटरमाथिका हिमालयको आरोहण र पदयात्रामा आउने पर्यटकको गेटवे पोखरा भएकाले साहसिक पर्यटनका लागि चर्चित छ। पोखरामा हुने साहसिक खेल प्याराग्लाइडिङ, बञ्जिजंप, जिपलाइन, अल्ट्रालाइट, जस्ता हावामा हुने गतिविधि, र्याफ्टिङ, कायकिङ, क्यानोनिङ जस्ता पानीमा हुने साहसिक खेलका कारण पनि पोखरा विश्व पर्यटन बजारमा परिचित छ।
भरतपुर महानगरपालिका विश्वमै दुर्लभ एकसिंगे गैंडा, पाटेबाघलगायत जंगली जनावर र जैविक विविधताका लागि विश्वमै प्रख्यात छ। वन्यजन्तु पर्यटनका हिसाबले विश्वमै अग्रणी विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्यि निकुञ्ज, नारायणी नदीलगायत पर्यटकीय आकर्षणका कारण भरतपुर महानगरपालिकामा गैंडा, बाघलगायत जैविक विविधता अवलोकन गर्न पर्यटक पुग्ने गर्दछन्।
दुई भिन्न÷भिन्न प्राकृतिक विविधताका धनी सहरबीच पर्यटन विकासमा सहकार्य मात्र नभएर दुवै पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन गर्न पनि समझदारी भएको हो। यसैगरी दुवै महानगरपालिका बीच पर्यटनसँग सम्बन्धित सूचना तथा जानकारी एवं अध्ययन अनुसान्धानबाट पत्तालागेका नयाँ विषयको सूचना आदानप्रदान गर्ने पनि समझदारी भएको पोखरा महानगरपालिकाले बताएको छ।
दुई सहरबीच सञ्चालन भइरहेका हवाई र सडक यातायात सेवालाई विस्तार र सृदृढ गर्ने, पोखरा महानरभित्रको कुनै एक सडकको भरतपुर मार्ग नामकारण गर्ने र भरतपुरमा भएको कुनै एक सडकको पोखरा मार्ग नामाकरण गर्ने पनि समझदारीपत्रमा उल्लेख छ। दुवै महानगरपालिकामा अवस्थित तालतलैया, नदी, रामसारमा सूचीकृत सम्पदा संरक्षण र सम्बद्र्धन गर्न सहयोग गरिनेलगायत बुँदा छन्। समझदारी हस्ताक्षर भएको मितिले ५ वर्षका लागि कायम हुने समझदारी पत्रमा उल्लेख छ।
कार्यक्रममा भरतपुर महानगरपालिककी मेयर रेनु दाहालले दुई भिन्न प्राकृतिक विविधता भएका सहरको पर्यटन विकास गर्न सहकार्य गर्ने गरी समझदारी भएको बताइन्। पोखरा नेपालकै पहिलो पर्यटकीय आकर्षणको केन्द्र भएकाले यहाँ आउने पर्यटकलाई भरतपुरको प्राकृतिक विविधता अवलोकन गर्न पठाउने र भरतपुर पुग्ने पर्यटकलाई पोखरामा साहासिक गतिविधिका लागि पठाउनुपर्ने बताइन्। यो समझदारीले भिजिट नेपाल २०२० लाई सफल बनाउन पनि सघाउने उनले विश्वास गरिन्। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले पर्यटकलाई ढाक्नेभन्दा पनि आउँछु भन्ने गरी पर्यटकीय पूर्वाधार विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस !