भारतीय 'झोले डाक्टर'का मेडिकलको औषधि जफत
बाँके : बाँकेको नरैनापुर गाउँपालिकाको मटेहियामा रहेका दुई वटा भारतीय झोले डाक्टरका मेडिकलको ताला तोडेर औषधि नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये एकजनालाई ज्यान मुद्दा र अर्कोलाई अवैध मेडिकल सञ्चालन र औषधि औषधि बेचबिखनको मुद्दा दायर गरिने भएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगन्ज शाखा कार्यालय प्रमुख निनु श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाह, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक गिरिराज भण्डारीलगायतको जिल्ला अनुगमन टोली बुधबार मटेहिया पुगेर भारतीयले सञ्चालन गरेका अवैध मेडिकलकोसबै औषधि नियन्त्रणमा लिएको सहायक प्रजिअ उपाध्यायले बताए ।
मटेहियामा अवैध मेडिकल सन्चालन गरेर बसेका भारतीय झोले डाक्टर राजेशसिंह ठाकुरले गरेको उपचारको क्रममा सोमबार बिहान नरैनापुर गाउँपालिका ५ मटेहियाका गयाराज धोबी र राप्ती सोनारी ७ गेदवाका मानिकराम धोबीको मृत्यु भएको थियो ।
उनको मृत्यु लगत्तै प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले स्थलगत अवलोेकन गरी प्रहरी प्रशासनलाई तत्काल अनुगमन गर्न निर्देशन दिएका थिए । अनुगमन टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा ठाकुरको मेडिकलका सम्पूर्ण औषधि पसलको मुचुल्का उठाएर औैषधि नियन्त्रणमा लिएको हो । अनुगमन टोलीले दुबै मृतकका घरमा आफन्तलाई भेटेर घटनाबारे जानकारी पनि लिएको थियो ।
त्यसैगरी मटेहियामा नै रहेको अर्का भारतीय झोले डाक्टर शिवम् गुप्ताको मेडिकलको पनि ताला तोडेर औषधि नियन्त्रणमा लिइएको थियो । औषधि व्यवस्था विभाग प्रमुख श्रेष्ठले दुबै मेडिकलबाट नेपालमा प्रतिबन्धित औषधिहरु भेटिएको बताइन् । उनले भनिन्, ‘अवैध औषधिहरु भेटिएका छन् । चिकित्सकले मात्र दिन मिल्ने खालका औषधि पनि पाइयो । नेपालमा प्रतिबन्धित औषधि पनि भेटिएका छन् । ती सबै औषधि हामीले नियन्त्रणमा लिएका छौँ ।’
अनुगमन टोली पुग्दा दुबै झोले डाक्टर भागेका थिए । अनुगमन टोलीले बुधबार नरैनापुर ५ मा नेपालीले अवैध रुपमा सञ्चालन गरेको मेडिकल ‘मुंशरिफ साइदून क्लिनिक’लाई शिलबन्दी गरेको थियो ।
इजाजत नलिएर सञ्चालन गरेको सो मेडिकलका अवैध औषधि, एन्टिबायोटिक्स लगायतका औषधि नियन्त्रणमा लिएको जिप्रका बाँकेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । उनका अनुसार अनुगमन टोली पुग्दा मेडिकल सञ्चालक कागजात ल्याउने बाहानामा भागेका थिए ।
इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार नरैनापुर गाउँपालिकामा सबै वडामा १६ जना झोले डाक्टरले अवैध रुपमा मेडिकल सञ्चालन गरेको भेटिएको छ । इप्रका इन्चार्ज प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार वडा नं. १ मा २ जना, २ मा ३ जना, ४ मा १ जना, ५ मा सात जना र ६ मा २ जना भारतीय झोले डाक्टरले अवैध क्लिनिक सञ्चालन गरेर उपचार गरिरहेका छन् । मटेहिया स्वास्थ्य चौकीले नरैनापुर गाउँपालिकालाई पत्राचार गरेर अवैध रुपमा सात जना झोले डाक्टरले उपचार गरिरहेको जनाएको छ ।