सागका लागि जनकपुर तयार
जनकपुरधाम : १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जनकपुरधामस्थित कभर्डहल रंगरोगन गरी चिटिक्क पारिएको छ। वर्षौंदेखि फुटेका झ्याल र ढोकामा नयाँ सिसा लगाइएको छ । कभर्डहलको प्रयोगविहीन शौचालयमा टायल बिछ्याइएको छ । खेलका लागि चारैतिर बत्तीको व्यवस्था गरेर झकिझकाउ पारिएको छ । १३औं सागमा समावेश गरिएका २६ मध्ये एउटा खेल आयोजनाको अवसर जनकपुरले पनि पाएको छ। आफूले पाएको यो ऐतिहासिक अवसरलाई अविस्मरणीय बनाउन चाहन्छ, जनकपुर।
जनकपुरमा १३औं सागको कुस्ती खेल हुँदैछ। कुस्ती यस क्षेत्रको मौलिक खेल पनि हो। त्यसैले प्रतियोगितालाई भव्य बनाउन जनकपुरले कुनै कसर बाँकी राखेको छैन। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले बताए। ‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जिल्ला खेलकुद विकास समितिको संयुक्त टोलीले प्रतियोगिताको आवश्यक तयारी पूरा गरेको छ’, उनी भन्छन्।
‘खेलका लागि कभर्डहलको मर्मतसम्भार, रंगरोगन, भौतिक पूर्वाधार निर्माण, झ्यालढोका निर्माण, स्टेज र बत्ती जडान, शौचालय निर्माण, दर्शकदीर्घा, भीआईपी कक्ष, मर्मतलगायतका काम पूरा भइसकेको छ’, अध्यक्ष चौधरीले भने। उनले प्रतियोगितालाई लक्षित गरी खेलाडीको सुरक्षा, पाहुनाको स्वागत, प्रचारप्रसार, आवास व्यवस्थापन तथा खेल स्थलको सौन्दर्यकरणलगायतका व्यवस्थापकीय काम पूरा भएको जानकारी दिए।
देशको प्रतिष्ठा र गौरवसँग जोडिएकोले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पनि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। उनले भने, ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वयन गरी सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको छ। सुरक्षा व्यवस्थाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान टोली खटाइनेछ। खेलाडीको सुरक्षालाई मध्यनजर गरी एकीकृत सुरक्षा प्रणाली प्रयोगमा ल्याउन लागिएको हो।’
जनकपुरधाममा मंसिर २० देखि २३ गतेसम्म कुस्ती खेल हुने आयोजकले जनाएको छ। ‘दक्षिण एसियाका पाँच राष्ट्रले कुस्तीमा भाग लिएका छन्। माल्दिभ्स र भुटानका खेलाडी भने कुस्तीमा सहभागी छैनन्’, समितिका अध्यक्ष कमल चौधरीले भने। सागको कुस्तीमा पुरुष र महिला गरी ७५ जना खेलाडी सहभागी छन्। राखेपले कुस्ती खेलका लागि कभर्डहल मर्मतमा २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको उनले बताए।
००००
१३औं सागको कुस्ती खेलका लागि तयार पारिएको कभर्डहल। ० अन्नपूर्ण