साग खेलकुद : पोखरामा व्याडमिण्टन टिम इभेन्टबाट सुरु हुँदै
पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा आइतबार व्याडमिण्टनको टीम इभेन्ट खेलबाट औपचारिक प्रतियोगिता सुरु हुँदैछ । साग खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा ८ खेल हुँदैछन् ।
व्याडमिण्टनमा सहभागी हुन सातै देशका खेलाडी तथा अफिसियल पोखरा आइसकेको कास्की जिल्ला व्याडमिण्टन संघका अध्यक्ष डम्बरसिँह गुरुङ जानकारी दिए । भोलीबाट टिम इभेन्टसुरु हुन्छ र टिम इभेन्टसकिएपछि अरु इभेन्टहुनेछन् ।'
१८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वाटरफाइनल खेल हुने तालिका रहेको छ । यस्तैगरी १९ गते सबै इभेन्टका सेमिफाइनल र २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिए ।
महिला टिमतर्फ भारत र श्रीलंका वाई पाएर क्वाटरफाइनमा प्रवेश गरेका छन् । यसैगरी पाकिस्तान र माल्दिभ्स अर्को खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन् । यसैगरी पुरुषतर्फ भारत र श्रीलकाले वाई पाएर सिधै क्वाटरफाइनलको यात्रा तय गरेका छन्। पाकिस्तान र बंगलादेश र अर्को खेलमा नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरामा हुने १३ औं साग खेलकुदको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरामा हुने व्याडमिण्टनमा टिम इभेण्टसँगै महिला पुरुष सिंगल, डबल्स र मिक्स इभेन्टपनि समावेश गरिएको छ । सातै देशले सहभागी जनाउने एक मात्र खेल ब्याडमिन्टनका लागि ९४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता २० मंसिरसम्म चल्नेछ । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १४ कास्य गरी २८ पदकका लागि खेल हुनेछ ।
पोखरा फुटबल स्टेडियम तयार
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुँदैछ । साग फुटबल प्रतियोगिताका लागि प्यारापिटसहित फुटबल मैदान तयार भएको छ ।
खेलकुद प्रतियोगिताका लागि करिब दश हजार सिट क्षमताको फुटबल स्टेडियम लगभग तयार भएको हो । पोखरा फुटबल स्टेडियममा १६ हजार ५ सय दर्शक क्षमताका प्यारापिट बन्ने भए पनि साग खेलकुदकालागि करिब दश हजार सिट तयार पारिएको हो । 
प्यारापिटका लागि आवश्यक सामाग्री फ्रान्सबाट ल्याएर फिट गरिएको हो । फुटबल मैदानमा दुबोको चपरी भारतबाट ल्याएर बिच्छयाइएको हो । पूर्व तिर ५५ सय सिट क्षमता पश्चिम तर्फ ३५ सय र भिआइपी सिटसहित करिब दश हजार क्षमताको प्यारापिट सागका लागि लगभग तयार भएको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दिपक बरालले जानकारी दिए । पोखरा फुटबल मैदानमा मंसिर १७ देखि २४ गते सम्म साग फुटबल प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिता हुँदैछ ।
साग खेलकुदअन्र्तगत पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिण्टन र भारत्तोलन लगायत ८ खेल हुने छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम यसरी पारिएको छ तयार ।
पोखरामा ४८ स्वार्णसहित कुल ९ सय ४६ पदकका लागि प्रतिस्पर्धा हुने छ । ८ खेलका लागि ६ सय ७६ खेलाडी सहभागी हुँदै छन । प्रतियोगितामा ७ देशका खेलाडीको सहभागीता रहने छ । महिला खेलाडी ४ सय ४ जना र पुरुष खेलाडी २ सय ७२ जना रहने सागका टेक्नीकल कमिटीका अध्यक्ष विद्याप्रसाद मर्शानीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !