सांस्कृतिक सेतु

सांस्कृतिक सेतु

कुनै पनि व्रतको तीन प्रकार हुन्छ– कायिक, वाचिक र मानसिक। कायिक व्रतमा शास्त्रवर्जित हिंसा, कुआचार एवं कुत्सित दर्शन आदिलाई ल्याउनु श्रेयष्कर हुन्छ। वाचिक व्रतमा कुवचन, निन्दा आदिलाई त्याग्नुपर्छ। मानसिक व्रतमा विषयवासनाबाट टाढा बसेर मनलाई सात्विक बनाउन आवश्यक हुन्छ।

विवाह पञ्चमी व्रतको अनुष्ठानमा यी तीनवटै किसिमको विधि अपनाउन आवश्यक हुन्छ। विवाह पञ्चमी मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा प्रत्येक वर्ष मनाउने परम्परा त्रेतायुगदेखि जीवन्त छ। जनकपुरअवस्थित बारह बिघामा धनुषयज्ञ सम्पन हुन्छ। धनुषयज्ञपश्चात् स्वयम्वर मर्यादा पुरुषोत्तम रामचन्द्रको शुभविवाह विदेहराज जनकजीद्वारा विधिवत् अयोध्या नरेश दशरथजीलाई निमन्त्रणा पठाइन्छ। राजा दशरथ जन्ती लिएर मिथिलाको प्राचीन राजधानी जनकपुर आउनुहुन्छ। यस जन्तीमा साधु, सन्त, विद्वान् सभासद् रथमा सवार भएर आएका केही स्थानहरूको भ्रमण गर्दै नेपालको मटिहानी भन्ने ठाउँमा आएर विश्राम गर्नुहुन्छ। मटिहानीको आफ्नै मांगलिक महत्त्व वर्णित छ मिथिला महात्म्यमा।

यहाँस्थित लक्ष्मीनारायण सर (तालाब) बाट माटो ल्याएपछि भगवान् रामचन्द्रको मटकोर विधि सम्पन हुन्छ। मिथिलाञ्चलभरिमा कुनै पनि विवाहको प्रारम्भमा मटकोरको विधि सम्पन हुन्छ। मर्यादा पुरुषोत्तम रामचन्द्रको विवाहमा किन मटिहानीको माटोको प्रयोग गरियो भने यहाँको माटोको गौरव गरिमा छ। यहाँको माटो शुद्ध र पवित्र मानिन्छ।

मांगलिक बाजागाजाका अतिरिक्त हात्ती, घोडामा सवार लावालस्करलाई जनकपुरमा भव्य स्वागत गरिन्छ। यसको पुनरावृत्ति आज पनि यथावत् रूपमा हुने गर्छ। यही मंसिर ५ गते अयोध्याबाट लावालस्करसहित हिँंडेको जन्ती भारतको कतिपय ठाउँको भ्रमण गर्दै मटिहानीमा आएर रात्रि विश्राम गर्‍यो। एक सय पचासभन्दा बढी साधुसन्तको टोली सर्वप्रथम राम मन्दिर पुग्छ। मंसिर ६ गते यो जन्ती जनकपुर आइपुगेको छ। तिलकोत्सवको नेतृत्व जानकी मन्दिरको मूल महन्थ गर्नुहुन्छ भने राममन्दिरको नेतृत्व राममन्दिरको महन्थ गर्नुहुन्छ। पाँचौं दिन मर्यादा पुरुषोतम राम र जगद्जननी जानकीको मटकोर हुन्छ।

जानकी मन्दिरबाट जगदजननीको भूमिका निर्वाह गर्ने कन्यासहित बाजागाजाका साथ यो टोली जनकपुरधामअवस्थित ऐतिहासिक, धार्मिक महत्त्व बोकेको गंगासागरमा पुगेर मटकोरको विधि सम्पन हुन्छ। छैंटौं दिन अर्थात् मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा भगवान् रामचन्द्र र भगवती सीताको शुभविवाह मैथिली संस्कृतिको परम्पराअनुसार हर्षोल्लासमय वातावरणमा सम्पन हुन्छ। यसै दिन दिउँसो महन्थ र साधुसन्त तथा निमन्त्रित अतिथिहरूको अगुवाइमा राममन्दिरबाट भगवान् रामको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदानमा स्वयम्वर सम्पन हुन्छ। स्वयंम्वरपछि दुवै डोला जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुने गरेको छ। यस अवसरमा मिथिलानीहरूको मगमगाउँदो मुखबाट विवाह गीतको स्वरलहरीबाट सम्पूर्ण जनकपुर प्रतिध्वनित भएको प्रतीत हुन्छ।

सप्ताहव्यापी सीताराम विवाहोत्सव जनकपुरमा मंगलबारदेखि प्रारम्भ भएको छ। प्रत्येक राति रामलीला गरिन्छ। जनकपुरको मात्र होइन, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी आदिका अतिरिक्त छिमेकी राष्ट्र भारतबाट असंख्य तीर्थयात्रीहरू रामजानकीको शुभविवाह हेर्न आउँछन्। अघिल्लो वर्ष उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा अयोध्याबाट लावालस्करका साथ जन्ती आएको स्मरणीय छ। उहाँलाई भव्य स्वागतका अतिरिक्त छप्पन्न व्यञ्जनसहितको भोजनको व्यवस्था थियो। जानकी मन्दिरको प्रांगणमा सीतारामको संकीर्तन अहर्निष भइरहन्छ। मिथिलानीहरू मैथिली विवाह गीत गाउनमा आत्मविभोर हुन्छन्, आनन्दित हुन्छन्।

“चलु चलु देखु सखी जनकपुर धाम हे

देखियनु गे रामचन्द्र के कोने रंग कोहबर हे

काँचहि बाँसकेर कोबर घर हे

हे गेउरे ढेउरल छनि कोबर केर घर हे“

यसै कलात्मक कोहबर घरमा नवविवाहित दुलहा–दुलही सुहागरात मनाउने गर्छन्, जुन आजीवन रहन्छ दाम्पत्य जीवनमा र दाम्पत्य जीवनलाई सरस, सुन्दर र स्मरणीय बनाउँछ।

यसपालिको विवाह पञ्चमीको अलग्गै विशेषता छ। किनभने नेपाल भ्रमण बर्ष २०२० को प्रारम्भ १ जनवरी २०२० देखि यसको विधिवत् उद्घाटन हुने कार्यक्रम छ। जनकपुर धार्मिक पर्यटनका लागि धेरै प्रसिद्ध स्थानमा पर्छ। जनकपुरको गन्तव्य धार्मिक प्रयटकहरूका लागि धेरै महत्त्वपूर्ण गन्तव्यका रूपमा प्रमाणित हुन्छ।

धार्मिक पर्यटनको परियोजनामा यदि २ नम्बर प्रदेश सरकार गर्न प्रतिबद्ध छ भने यो सुनौलो अवसर सावित हुनेछ। किनभने जनकपुरको आफ्नै महिमा छ गरिमा छ। जनकपुरको विवाह पञ्चमी महोत्सवको अर्को महत्त्वपूर्ण स्थान के छ भने यो नेपाल र मित्रराष्ट्र भारतका बीचमा धार्मिक तथा सांस्कृतिक सेतुको काम शदीयौंदेखि गर्दै आएको छ। यसपालिको विवाहपञ्चमी महोत्सव धार्मिक पर्यटनमा एउटा मिलको पत्थर प्रमाणित हुनेछ भने विश्वास गरिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.