डुवाथोलनमा नेपाललाई स्वर्ण
पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पोखराको फेवाताल किनारमा मंगलबार भएको डुवाथोलन खेलमा नेपालले एक स्वर्ण पदकसहित तीन पदक हात पार्न सफल भएको छ।
५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साँढे दुई किलोमिटर दौडमा नेपालले एक स्वर्णसहित तीनवटा पदक हात पार्न सफल भएको हो। भारत, श्रीलंका र नेपालकै लक्ष्मण मल्ललाई पछि पार्दै पुरुषतर्फको डुवाथोलनमा नेपालका हिमाल टमटाले निर्धारित दुरी ५७ मिनेट ३३ सेकेण्डमा पार गरी नेपाललाई स्वर्ण पदक दिलाएका हुन्।
यस प्रतियोगितामा नेपालका लक्ष्मण मल्ल नेपालकै टमटा भन्दा २ मिनेट २० सेकेण्डले पछि पर्दै रजत पदकमा चित्ता बुझाए । उनले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गरेका थिए । श्रीलंकाका आशिथ पेरेराले निर्धारित दुरी ५९ मिनेट ३२ सेकेण्डमा पार गरी तेश्रो भए ।
त्यसै गरी महिला तर्फको डुवाथलनमा श्रीलंकाले स्वर्ण र कास्य पदक जित्यो । श्रीलंकाकी एरेङगा दुलाक्सिले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक हात पारित भने नेपालकी हुमी बुढामगरले रजत पदक जितिन्। दुलाक्सिभन्दा ३ मिनेट ४ सकेण्ड ढिला हुँदा नेपालकी बुढामगर दोश्रो हुँदै रजत पदक प्राप्त गरेकी हुन्।
श्रीलंकाकी खेलाडी उदय कुमारीले कास्य पदक जितेकी छन् । उनले निर्धारित दुरी १ घण्टा ९ मिनेट ९ सेकेण्डमा पार गरेकी हुन्। प्रतियोगितामा नेपाल सहित श्रीलङका र भारत सहभागी भएका छन्।
नेपाल ट्राय्थलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नेपाललाई नेपाल ट्रायथलन र डुवाथलनबाट स्वर्ण पदक दिलाउने खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छ्न्।
त्यसैगरी रजत हुने खेलाडीलाई ५० हजार र कास्य पदक विजेता खेलाडीलाई २५ हजार पुरस्कार प्रदान गर्ने घोषणा समेत गरेका छन ।संघका उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसद समेत रहेका दीपक कोइराला (रुपक) र बाबा फाउण्डेसनले स्वर्ण पदक विजेता खेलाडीलाई जनही २५ हजार, रजत पदक विजेतालाई १५ हजार र कास्य पदक विजेतालाई जनही १० हजार रुपैया दिने घोषणा गरेका छन्।
पोखराको फेवाताल किनारमा सोमवार भएको ट्रायथलन प्रतियोगितामा नेपालकी सोनी गुरुङले पहिलो पटक स्वर्ण पदक जितेकी थिइन्। पोखराको फेवाताल किनारमा बुधबार मिक्स रिले ट्रायथलन हुनेछ । 
पोखरामा डुवाथोलन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालका हिमाल टमटा र रजत पदक विजेता नेपालका लक्ष्मण मल्ल ।
प्रतिक्रिया दिनुहोस !