आहा कति राम्रा फूल !
प्राश्नाको विद्यालय छुट्टी छ। आज शनिबार भएकोले बुवा उठेर कतै पसलतिर पत्रिका पढ्न जानु भएछ। आमा अन्य काममा व्यस्त हुनुहुन्छ। अरू बार भएको भए आमाले प्राश्नालाई अघि नै उठाइसक्नुहुन्थ्यो। आज बिदाको दिन सुतोस् न त भनेर चाँडो उठाउनु भएन। प्राश्ना आफैं ब्युँझिएर उठ्दा बिहान ७ बजिसकेछ। बाहिर झलमल्ल घाम लागेको थियो। उनले घडी हेरिन् ओहो ! म त कति ढिलासम्म सुतेछु।
प्राश्ना हत्पत उठेर बाथरुम गइन् अनि मुख धोएर भान्छामा आइँन्। आमालाई भान्छामा नदेखेर उनलाई बेखुसी लाग्यो। उनी दौडिँदै करेसाबारीमा पुगिन् आमा त यता पनि हुनुहन्न्। उनको आँखा फूलबारीमा फूलेका फूलमाथि पुगे। उनको मुखबाट आवाज निस्कियो आहा फूल ! सबै फूलका बिरुवामा राता, नीला, पहेँला, सेता, गुलाबी, प्याजी आदि रङ्गीचङ्गी फूल फुलेका थिए। फूलबारीमा गुरदाउली, सयपत्री, असर्फी, लाहुरे आदि फूलका बिरुवा थिए। प्राश्नाले अस्ति आमाले भनेको सम्झिइन्। अस्ति देखिएका सबै कोपिला फूल बनिसकेछन्। फेरि नयाँनयाँ कोपिला पनि लागेछन्। उनी खुसीले गद्गद् हुँदै आमाको प्रतीक्षामा बसिन्। आमा भान्छाको लागि चाहिने सामान सकिएकाले पसलमा जानु भएको रहेछ। केहीबेरमा नै आमा आइपुग्नुभयो। उनले आमा आइपुग्नासाथ आफूसँगै करेसाबारीतिर जान अनुरोध गरिन्। आमा पनि फूललाई पानी दिने योजनामा हुनुहुन्थ्यो।
प्राश्नाले करेसाबारीमा केही महिनाअघि आमाले धेरै फूलका बिरुवा सारेकी देखेकी थिइन्। आमालाई बेलाबेला पानी हाल्न र गोडमेल गर्न सहयोग गरेकी थिइन्। अघिल्लो हप्ता शनिबार बेलुका आमासँगै फूलबारीमा पानी हाल्न जाँदा आमाले भन्नुभएको थियो, ‘सबै फूलमा कोपिला लागेछन्। अब केही दिनमा फुल्छन्।’ आमाको कुरा सुनेर प्राश्नाले सोधेकी थिइन्, ‘आमा कोपिला भनेको के हो ? ’ आमाले फूलका टुप्पामा लागेका सानासाना आकारका थुप्पालाई छोएर देखाउनुभएको थियो, ‘यी यिनै हुन् कोपिला। यी फक्रिएपछि रङ्गीचङ्गी फूल बन्छन् अनि त हाम्रो बगैंचा राम्रो देखिन्छ। फूल फुलेपछि मीठो बास्ना पनि आउँछ। अहिले वसन्त ऋतु हुनाले हाम्रो फूलबारीमा मात्र होइन वन, पाखा सबैतिरका फलफूलका बोटहरूमा कोपिला लागेर फूल फुल्न थालेका छन्।’ आमाका कुराले प्राश्नालाई कहिले फूल फुल्ला र फूलबारी रमाइलो होला भन्ने खुल्दुली जागेको थियो। तर झन्डै एक हप्तासम्म उनी आमासँगै फूलबारीमा जाने मौका पाएकी थिइनन्। उनको स्कुलमा वार्षिक परीक्षा सुरु भएकोले उनलाई बाबाले बेलुकी केही समय पढाउने गर्नुभएको थियो।
फूलबारीमा रङ्गीचङ्गी फूलमात्र फुलेका थिएनन्। आमाले भनेजस्तै बास्ना पनि साह्रै मीठो आइरहेको थियो। अनि पुतली, भमरा, मौरी फूलका वरिपरि डुल्दै थिए। प्राश्नाले सबै फूलहरूलाई नियालिरहिन्। फूलहरूमा डुलेका पुतली, मौरीलाई देखाउँदै भनिन्, ‘आमा किन यिनीहरू फूलमा बस्छन् ? ’ आमाले भन्नुभयो, ‘हेर यी मौरी पुतली, भमरा पूmलका रस खानका लागि फूलमा डुल्छन्। मौरीले यिनै फूलका रस बटुलेर मह बनाउँछन्। यी करेसाबारीको फूलहरूमा मात्र होइन ऊ हेर त भोगटे, आँप, सुन्तला, आरुबखडा, मौसम, अनार यी सबै बोटमा फुलेका सानासाना फूलमा समेत मौरी घुमिरहेका छन्। यी सबै फूलका रस बटुल्नका लागि यिनीहरू फूलमा डुलेका हुन्। मौरीले आफ्नो आहाराका लागि मह बनाउने हुन् तर मानिसले महलाई स्वादिलो र तागतिलो खानेकुराको रूपमा उपयोग गर्नका लागि मौरी पाल्ने गर्दछन्। यी सबै फूलका रस बटुलेर बनाएको हुनाले मौरीको मह तागतिलो हुनुका साथै औषधि पनि हुन्छ। ’
प्राश्नाले सबै फलफूलका बोटमा हेरिन् सेता, राता, गुलाफी रङका फूलहरू फुलेका थिए। आहा ! बास्ना पनि मीठो आइरहेको थियो। उनलाई निकै रमाइलो लाग्यो। आमाले किन यति जतन गरेर फलफूलको स्याहार गर्नुभएको रहेछ भन्ने कुरा उनले बल्ल आज थाहा पाइन्।
आमाले भन्नुभयो, ‘हामीले सारेका साना फूलका बिरुवा गोडमेल र मलजल गरी स्याहार गरेकाले नै यस्तो राम्रो फूल फुलेका हुन्। हामी मानिसलाई जस्तै बिरुवाहरूलाई पनि आहारा र मलजल चाहिन्छ। यी फूलेका फूलका बिरुवामा पानी हाल्नाले फूल छिट्टै ओइलाएर झर्न पाउँदैनन्, ढकमक्क भइरहन्छ।’ आमाले फूलका बिरुवामा पानी हालुन्जेल प्राश्ना सबै फूलका बिरुवा नजिक गइन्। रङ्गीचङ्गी फूलले उनको मन लोभ्यायो। फूलबारीको पर पुगेकी प्राश्नालाई आफ्नो काम सकेर आमाले बोलाउँदै भन्नुभयो, ‘जाऔं हिँड घरमा नास्ता खान ढिला भयो। तिमी पनि आज कोपिला छौ भोलि फूलजस्तै फुल्नेछौ।’ प्राश्नाले खुसी भएर आमाको गालामा म्वाइँ खाइन्।