डाक्टर वा इन्जिनियर बन्छु जस्तो लाग्थ्यो
झापाको शिवसाताक्षी नगरपालिका– ४ पाँचगाछीमा मेरो जन्म भएको हो। मेरा बुवा बुद्धिमान बुढाथोकी र आमा चन्द्रा बुढाथोकी। दुवैजना सरकारी जागिरे हुनुहुन्थ्यो। मध्यमवर्गीय परिवारमा हुर्के पनि मैले शिक्षा तथा अन्य आधारभूत आवश्यकता परिवारबाट पाएको थिएँ।
मैले जनआदर्श उच्च माध्यमिक विद्यालयबाट एसएलसीसम्मको पढाइ पूरा गरेँ। प्राथमिक तह कन्काई प्राथमिक विद्यालयबाट पूरा गरेँ। म सानो बेलामा अत्यन्तै लजालु स्वभावको थिएँ। बाहिरी मानिससँग धेरै बोल्दैनथिएँ। घरमा कोही पाहुना आउँदा बाहिर देखिनै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। कोठा भित्रै लुकेर बस्थेँ। बुवाआमाका लागि पढेजस्तो देखाउन नाटक गरी बस्थेँ। चकचके चाहिँ थिइनँ।
सानो उमेरदेखि मलाई गीतसंगीतमा औधी रुचि थियो। टेलिभिजनमा त्यस्तो कार्यक्रम आउँदा नछुटाई हेर्ने गरिन्थ्यो। विद्यालयमा म पढ्ने विद्यार्थीमै दरिन्थेँ। ३ र ४ कक्षासम्म त म ‘फस्र्ट ब्वाई’ नै थिएँ।
त्यतिबेला विद्यालयमा हाजिरीजवाफ गराउने चलन बढी थियो। म प्राय: सधैं त्यसमा सहभागिता जनाउथेँ। जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा पनि मैले जितेको छु।
नाचगान र गीतसंगीतमा भने सानो बेलामा कुनै कार्यक्रममा भाग लिएको मलाई याद छैन। मलाई सम्झना छ, पहिलोपटक कक्षा ३ मा म नाचेको थिएँ। हाम्रो प्रिन्सिपल सरले घरबाट क्यासेट ल्याउनुभएको थियो। गीतको बोल थियो, ‘सम्झना–बिर्सना सलललल, झन्–झन् बढ्यो तिर्सना सलललल।’
म कहिले बिर्सन सक्दिनँ त्यो पल। एसएलसी सकेर काठमाडौं पढ्न आइयो। यही बीचमा उतारचढाव भएपछि मैले सांगीतिक क्षेत्रमा प्रवेश गर्न पाएँ।
मेरो दाइ टीकाराम बुढाथोकीले श्रद्धा डिजिटलका लागि पहिलो गीत रेकर्डिङ गर्नु भएको थियो। त्यही माहोलमा मैले धेरै सिक्न पाएँ। दाइकै गतिविधिले प्रेरित गरेर म पनि गाउन थालेँ। एक त म पहिलेदेखि नै गीतको राम्रो श्रोता थिएँ। रेडियो त मैले धेरै बिगारेको छु।
त्यतिबेला सानो हेडफोन लगाएर सुन्न मिल्ने रेडियो पाइन्थ्यो। दाइको संगतले मेरो स्वर खारिन थाल्यो। दाइका साथीले पनि मेरो कलाको कदर गर्न थाल्नुभयो। त्यसपछि दाइले संगीत सिक्न पठाउनुभयो।
शिक्षकहरूसँग मेरो राम्रो सम्बन्ध थियो। जेहेनदार विद्यार्थीको नाताले त्यो त हुने नै भयो। मलाई शब्दार्थको राम्रो ज्ञान थियो। सबै विषयका प्रश्नहरू पनि म सरल रूपमा जवाफ दिन्थेँ।
गुरु नआउनु भएको दिन क्लास मोनिटरको जिम्मा मलाई दिनुहुन्थ्यो। साथीहरूलाई सोध्ने काम पनि मै गर्थेँ। क्लास वर्क चेक गर्नेसम्मको जिम्मा मलाई दिनुहुन्थ्यो। ५ कक्षासम्म यो गतिविधि चल्यो।
प्राथमिक तह सकिएपछि विद्यालय फेरियो। समय सधंै एकनास पनि रहेन।
सानो बेलामा म बदमास थिइनँ। तर मैले एउटा काम बिगारेको थिएँ। मुलाको अचार सिसाको भाँडोमा हालेर घाममा सुकाएर राखिएको थियो।
मैले काठको चक्का परालको धुरीमा फाल्दै खेलिरहेको थिएँ। त्यो क्रममा चक्का खस्यो र सिसामा पर्यो। अचारको भाँडो त्यहीँ फुट्यो। त्योभन्दा बढी चकचक गरेको मलाई याद छैन।
संगीत क्षेत्रमा लाग्छु भन्ने सानोबेलामा मलाई कहिले मनमा आएन। मलाई डाक्टर वा इन्जिनियर बन्छु जस्तो लाग्थ्यो। बाआमाले पनि त्यसैको लागि प्रेरित गर्नुहुन्थ्यो। सरकारी जागिरे भएको हिसाबले आमाको चाहना मलाई डाक्टर बनाउने थियो।
सानोमा मेरो सबैभन्दा बढी मिल्ने साथी गोपाल संग्रौला थियो। हामी एकदमै मिल्थ्यौं। गोठालो जाने, वनभोज जाने, गुच्चा खेल्ने सबैमा साथ दिने उही थियो।
दसैं तिहारमा सबैभन्दा बढी रमाइलो हुन्थ्यो। दसैंमा म कौंडा खेलाउथेँ। सकेसम्म गोटी नै खेलिन्थ्यो, नपाएको खण्डमा काठकै गोटी बनाएर खेलिन्थ्यो।
साथीहरूले टीका थापेर ल्याएको दक्षिणाबापतको पैसा चौतारामा कौडा खेल्न लगाउथेँ।
बुवा शिक्षक। घरमा अनुशासन उस्तै। होमवर्क चाहिँ सधैं गरिन्थ्यो। बुवाकै कारणले पढ्नुपर्छ भन्ने भावना पहिलेदेखि थियो।
२०५२ सालमा पहिलो पटक हाम्रो घरमा टेलिभिजन आयो।
टीभी ल्याउँदा गाउँभर छोराछोरीको पढाइ बिग्रिने भो भन्दै हल्ला फिजिएको थियो। तर टीभी ल्याएपछि पढाइ झन् सुध्रियो। टीभी हेर्नकै लागि भए पनि होमवर्क छिटोभन्दा छिटो गरिन्थ्यो। ८ बजेको समाचार पछिका कार्यक्रमहरू रमाइला हुन्थे।
हाम्रो परिवार ठूलो थियो। १२ जनासम्म सदस्य थिए हाम्रो परिवारमा। म माइलो सन्तान। सानो भाइ पनि छ। भाइ र म एकै उमेर जस्तो, खासै फरक छैन। एक वर्ष मात्रै जेठो म। त्यसैले हामी साथीजस्ता थियौं। मलाई जे चाहियो, भाइलाई पनि त्यही चाहिने। झगडा पनि पथ्र्यो। मैले चाहेको चिज बाँड्नुपर्ने हुन्थ्यो।
दाइ र भाइ खेल्न जाँदा मलाई घरमा खाना बनाउनुपर्ने बाध्यता थियो। मनमनै ईष्या नभएको चाहिँ होइन। हजुरबा र हजुरआमाको स्याहार गर्नुपथ्र्यो। जिम्मेवारीबोध पनि हुन्थ्यो बेलाबेलामा। मलाई त्यतिबेला बाहिरभन्दा पनि घरमै बस्नुपर्ने बाध्यता थियो।
आफ्नो पेसाबाट सन्तुष्ट नै छु। २०६३ सालदेखि यसैमा सक्रिय छु। आफूले जानेको काम गर्दा सुखी नै छु। परिवार धान्न सहज भएको छ। अहिले पहिला जस्तो एल्बम निकाल्ने चलन छैन। यही वर्ष चारवटा गीत निस्किसकेको छ। अर्को गीतको तयारीमा छु।
हाम्रो घर नजिकै थियो, कन्काई नदी। हामी नुहाउन त्यहाँ जाने गथ्र्याैं। ठुल्ठुला पोखरी पनि जमेका हुन्थे। ती पोखरीमा पौडी खेल्न प्रतिस्पर्धा चल्ने गथ्र्याे। एकदिन स्कुलमा खाजा खाने समयमा हामी पोखरीमा गएर नुहाइरहेका थियौं। पोखरीमा नुहाएपछि आँखा राता हुन्थे। स्कुल पुगेपछि शिक्षकले थाहा पाउनुभयो। त्यसपछि हामीले खुबै कुटाइ भेट्यौं।
अहिले पढिरहने साना नानीबाबुहरूले पढाइमा नै ध्यान दिनुपर्छ। समयमै होमवर्क गर्ने बानी बसाल्नुपर्छ। राम्रो खानेकुरा खाने गर्नुपर्छ। मन लाग्छ भन्दै जे पायो त्यही खानु हुँदैन।
अहिले बालबालिकामा सबैभन्दा ठूलो समस्या मोबाइलको देखिएको छ। मोबाइलमा धेरै ध्यान दिनु हुँदैन। सबैभन्दा ठूलो कुरा पढाइ नै हुँदो रहेछ। यतिबेला मैले पनि निरन्तर पढिरहेको भए अझ राम्रो हुनेथियो भन्ने लाग्छ। त्यसैले सबैभन्दा ठूलो कुरा पढाइ नै हो। आफ्नो इच्छा पूरा गर्नुका साथै पढाइलाई पनि निरन्तर अगाडि बढाउनुपर्छ।
(गायक बुढाथोकीसँग पवन तिमल्सिनाले गरेको कुराकानीमा आधारित।)