भारोत्तोलनमा नेपाललाई दुई कास्य
पोखरा : १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनमा नेपालबाट एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारीले जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा चित्त बुझाएका छन् ।
पोखरामा शुक्रबार भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौल मात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गर्दा पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्कमा दबाबमा परेका थिए ।
प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण विजेता बने । श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत पदक जिते ।
प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए । पुरुष ७३ केजी तौल समूहमा शुक्रवार नै भएको खेलमा नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका छन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जिते ।
भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् । यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन् ।
पोखराको माटेपानीस्थित एसआर केसी बैक्युटमा बिहीबार भएको उद्घाटन खेलमा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन् । उनले ५९ केजी तौल समूहमा श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जित्तै इतिहास रचेकी थिइन । नेपालले १ स्वर्ण र २ कास्य पदक भित्राइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !