साग अन्तर्गत जनकपुरमा सुरु भयो कुस्ती
जनकपुरधाम : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरको कबर्ड हलमा कुस्ती खेल सुरु भएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार अपराहन्न ४ बजे खेलको उद्घाटन गरेका हुन्। मंसीर २३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटनमा मिथिलाको मौलिक नृत्य र सांगीतिक कार्यक्रमबाट खेलाडी र दर्शकको स्वागत गरिएको थियो।
खेलको पहिलो दिन चार स्वर्ण पदकको लागि महिला र पुरुष गरी चार तौल समूहबीच प्रतिस्पर्धा र्भरहेको छ। हाल पुरुष तर्फ ५७-६५ किलो र महिलातर्फ ५०÷५३ किलो तौल समूहका भारत, श्रीलंका, बंगलादेश र आयोजक नेपालका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ।
चारदिवसीय प्रतियोगितामा २० वटा स्वर्ण पदकका लागि पाँच देशका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजक कुस्ती प्रतियोगिता तयारी समितिका संयोजक कमल किशोर चौधरीले जानकारी दिए।
प्रतियोगितामा पुरुषतर्फ ५७ किलो, ६१ किलो, ६५ किलो, ७० किलो, ७४ किलो, ७९ किलो ८६ किलो, ९२ किलो, ९७ किलो र १ सय २५ किलो तौल समूहका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी महिला तर्फ ५० किलो, ५३ किलो, ५५ किलो, ५७ किलो, ५९ किलो, ६२ किलो, ६५ किलो, ६८ किलो, ७२ किलो र ७६ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
आयोजक नेपालले सातवटा तौल समूहमा मात्र प्रतिस्पर्धा गर्ने जनाइएको छ।