पीपीएल : चितवन राइनोजको विजयी सुरुवात
पोखरा : चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। बाबर हायातको नट आउट अर्धशतकीय इनिङ्सको मद्दतमा मंगलबार पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
टस जितेर ब्याटिङको निम्तो दिएको पोखरा पल्टनलाई चितवनले झिनो स्कोरमा रोक्यो। पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ७ रन बनायो।
१०८ रनको लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। चितवनका लागि बाबर हायतले अर्धशतकीय पारी खेले। उनले ४२ बलमा ४ छक्का र ६ चौकाको मद्दतमा नटआउट ६६ रन बनाए। भारतीय मुलका खेलाडी सन्नी पटेलले १८ बलमा २२ रन बनाए भने कप्तान पारस खड्काले ४ रनमात्र जोडे। उनले १ चौका र २ छक्का प्रहार गरे। रोहन मुस्ताफाले ११ रनको योगदान दिए।
पोखराका लागि रशिद खान र सर्वोजित लड्डाले समान २/२ विकेट लिए।
चितवनले पहिलो ओभरको पाँचौ बलमा अनिल साहलाई शुन्य रनमा गुमाएको थियो। उनलाई रशिदले विकेट किपर विनोद भण्डारीबाट क्याच आउट गराएका हुन्। यस्तै पाँचौ ओभरको तेस्रो बलमा रशिदले व्यक्तिगत दोस्रो विकेट हात पारे। उनले रोहन मुस्ताफालाई ११ रनमा आउट गराए।
यसअघि पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन जोडे। उनले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनी रोहन मुस्ताफाको बलमा बोल्ड आउट भएका थिए।
कुशल मल्लले १३ रन बनाए। आसिफ शेख, रशिद खान र रबिइन्दर सिंहले समान १०/१० रन बनाए।
पोखरालाई सस्तैमा समेट्न चितवनका लागि रोहन मुस्तफा र सन्नी पट्टेलले २/२ विकेट लिए । त्यस्तै पारस खड्का, करण केसी र विक्रम सोबको नाममा १/१ विकेट रह्यो ।
पोखराले आफ्नो पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो। योसंगै पोखरा एक जित र एक खेलमा हार बेहोर्दै २ अंक जोडेको छ। पीपीएलको पहिलो संस्करणमा पोखरा पल्टनले चितवनलाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस !