लक्ष्मीलाई जब गुण्डा–नाइके ठानियो
२०२१ सालदेखि अभिनयमा सक्रिय छिन्, अभिनेत्री लक्ष्मी गिरी। उमेरले ६६ वर्ष पार गरे पनि उनको ऊर्जा कम भएको छैन। पहिलो पटक पर्दामा बालकलाकारका रूपमा देखिएकी उनले २०४५ सालमा चेतन कार्कीद्वारा निर्देशित ‘भुमरी’ फिल्ममा काम गरिन्। पछिल्लो समयमा फिल्म ‘रातो टीका’मा देखिएकी छिन्।
ख्यालख्यालैमा बैंकको जागिर
त्यतिबेला लक्ष्मी गिरी काठमाडौँ, गौशलास्थित शारदा माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्थिन्। चुलबुले स्वभावकी उनी स्कुलदेखि गाउँसम्म सबैकी प्यारी थिइन्। भन्छिन्, ‘बच्चैदेखि साहित्य, अभिनय र सामाजिक काममा मन लगाउँथेँ। त्यसैले सबैले सम्झिने गरेका थिए।’ शिक्षिका भीमा दवाडीले पनि उनलाई याद गरेकी रहेछिन्। एक दिन अचानक भीमाले लक्ष्मीलाई सोधिन्, ‘जागिर खाने हो ?’ भीमाका श्रीमान् नेपाल राष्ट्र बैंकमा नोट गन्ने काम गर्थे। त्यही कामका लागि उनले लक्ष्मीलाई सम्झिएकी रहेछिन्। १८ वर्षकी लक्ष्मी बैंकमा जागिर गर्न थालिन्। नोट गन्ने काम गर्न थालिन्। ‘ख्यालख्यालमै बैंकको जागिर पाएँ,’ उनी भन्छिन्, ‘पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिएँ। सबैको ध्यान पाएकीले मिसले जागिरमा लगाइदिनुभयो।’
लक्ष्मीले २०२९ सालबाट जागिर गर्न थालेकी हुन्। शारदा माध्यमिक विद्यालयबाट जोरपाटीस्थित चामुण्डाय माध्यमिक विद्यालयमा भर्ना भइन्। भन्छिन्, ‘स्कुलमा भएका सबै महिलालाई भीष्म उपाध्याय सरले चामुण्डायमा लगेर पढाउन थाल्नुभयो।’ त्यतिखेर समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने धारणा थियो। त्यसमाथि लक्ष्मी नृत्य, अभिनयसँगै सामाजिक कार्यमा रुचि राख्थिन्। ‘म स्काउटमा पनि थिएँ,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ स्कर्ट लगाउनुपथ्र्यो। गाउँभरिकाले कुरा काट्थे।’ उनलाई यी कुराले कुनै प्रभाव पार्दैनथ्यो। ‘मेरी हजुरआमाले त्यो बेलामा नर्सको काम गर्नुभयो,’ उनी सम्झिन्छिन्, ‘उहाँकै प्रेरणाले अगाडि बढ्ने साहस पाएँ। कुरा काट्नेको वास्ता गरिनँ।’ त्यही बेला अन्तरविद्यालय नृत्य प्रतियोगिता भयो। उनले भाग लिइन्। भन्छिन्, ‘प्रतियोगितामा प्रथम भएँ। त्यो बेलाका भूमि सुधार मन्त्री जोगमेहर श्रेष्ठले मेडल लगाइदिनुभयो।’
नाटकले दिलायो दोब्बर पारिश्रमिक
कुरा २०३८ सालको हो। बैंकमा जागिरे भएपछि उनले आफ्नो रुचिको क्षेत्रमा त्यति ध्यान दिन पाएकी थिइनन्। भन्छिन्, ‘जागिर थियो, त्यसमाथि बिहे भयो। घरव्यवहारको जिम्मेवारी थपियो। अभिनयमा पर्याप्त समय दिन सकिनँ।’ २०३८ सालमा राष्ट्र बैंकको रजत महोत्सवमा विभिन्न प्रतियोगिता हुने भयो। ‘आफ्नो अभिनय देखाउने मौका पाएकी थिएँ,’ उनी भन्छिन्। उसो त लक्ष्मीले अघिल्ला वर्षका वार्षिकोत्सवमा पनि विभिन्न कार्यक्रममा भाग लिन्थिन्। कहिले कविता भन्थिन्, कहिले खेलमा भाग लिन्थिन्। तर, त्यो साल भने उनले खोजेजस्तै अभिनय गर्ने मौका पाइन्। भन्छिन्, ‘नेपालभरिबाट राष्ट्र बैंकमा काम गर्नेबीच अडिसन भयो। त्यहाँ म प्रथम भएँ।’ अडिसनमा प्रथम भएकी लक्ष्मीलाई डबल ग्रेड दिइयो। उनको पारिश्रमिक दोब्बर भयो। बैंकको रजत महोत्सवमा उनले विजय मल्लकृत तथा हरिहर शर्मा निर्देशित नाटक ‘सपना नसम्झ’मा एक शिक्षिकाको भूमिका निर्वाह गरेकी थिइन्। उनको अभिनय सबैले मन पराए।
जागिरसँगै कलाकारिता
नेपाल राष्ट्र बैंकको रजत महोत्सवमा भएको नाटकबाट उनलाई धेरैले ‘नोटिस्ड’ गरेका रहेछन्। बिस्तारै उनलाई टेलिसिरियलबाट प्रस्ताव आउन थाले। भन्छिन्, ‘२०४२ सालमा ‘अप्रिल फस्ट’ नामको टेलिसिरियलमा अनुबन्धित भएँ। उज्ज्वल घिमिरेले बनाएको सिरियल थियो।’
टेलिसिरियलमा काम गर्न थालेपछि त झन् व्यस्त हुन थालिन्। बिहानै उठेर छोराछोरीलाई स्कुलका लागि तयार पार्नु, आफू पनि तयार भएर जागिरमा जानु उनको दिनचर्या बन्यो। त्यसैमा थपिएको थियो, कलाकारिता। अलिकति समय त्यसका लागि पनि छुट्याउनुपथ्र्यो।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह जोडी’ले गरेको नाटक ‘विज्ञापन’ मा २०४३ सालमा लक्ष्मी अनुबन्धित भइन्। ‘रिहर्सलमा जानुपथ्र्यो,’ उनी भन्छिन्, ‘दिउँसो २ बजे अफिसबाट हतारहतार पुतलीसडक जान्थेँ। त्यहाँ मह जोडीको कार्यालय थियो। जसोतसो गरी कलाकारिताका लागि समय मिलाइरहेकी थिएँ।’ यसै गरी दुई महिना बिते।
जुन नाटकको लक्ष्मीले रिहर्सल गरिरहेकी थिइन्, त्यो नाटक पहिला पनि मञ्चन भइसकेको थियो। तर, पहिला अर्कै कलाकारले उनले रिहर्सल गरिरहेको भूमिका निर्वाह गरेकी थिइन्। नाटक मञ्चन हुनुअघि हरिवंश आचार्य डराएको लक्ष्मी बताउँछिन्। ‘मैले कस्तो अभिनय गर्ने हो भनेर उहाँ डराइरहनुभएको थियो,’ उनी सुनाउँछिन्, ‘तर, मैले उहाँलाई निराश बनाइनँ।’ प्रज्ञा प्रतिष्ठानको भवनमा नाटक मञ्चन भएको थियो। त्यहाँ थुप्रै साहित्यकार, कलाकार उपस्थित रहेको उनी बताउँछिन्। ‘हरिवंशजीले नयाँ कलाकार भनेर चिनाउनुभयो,’ उनी भन्छिन्, ‘धेरैले ‘नयाँ कलाकार त पहिलाकै जस्तै देख्छु, अभिनय पनि दुरुस्तै छ’ भने। मैले अभिनयमा ठीकै गरेछु भन्ने महसुस भयो।’
‘डन’ बन्दा
लक्ष्मी प्रायः टेलिसिरियल र फिल्ममा छुच्ची महिलाको भूमिकामा देखिइन्। आफूलाई धेरैले साँच्चै नै छुच्ची ठानेको उनी बताउँछिन्। भन्छिन्, ‘मेरा छोराछोरीलाई स्कुल, कलेजमा उनीहरूका साथीभाइले ‘तिम्री आमा त कस्ती छुच्ची छिन् है’ भन्दा रहेछन्। मेरोअगाडि नभने पनि आफन्तले पनि त्यस्तै भन्ने गरेका थिए।’ एउटा रमाइलो घटना उनलाई अहिले पनि याद छ। त्यतिखेर उनी ‘तीतो सत्य’ टेलिसिरियलमा काम गर्थिन्। सिरियलमा उनले डनको भूमिका निर्वाह गरेकी थिइन्। ‘कुरा २०६३ सालतिरको हो,’ उनी सुनाउँछिन्, ‘एक दिन कपनमा मलाई केही मानिसले रोके। उनीहरूले आफ्नो पैसा डुबेको बताए। उनीहरूको पैसा म्यानपावरले खाएको रहेछ। ‘तपाईं त डन, हाम्रो पैसा उठाइदिनुपर्यो’ भन्न थाले। मेरो अभिनयलाई उनीहरूले साँच्चै ठानेका रहेछन्।’
‘‘तीतो सत्य’ टेलिसिरियलमा गुन्डा–नाइकेको भूमिका निर्वाह गरेकी थिएँ। एक दिन कपनमा मलाई केही मानिसले रोके। उनीहरूले आफ्नो पैसा म्यानपावरले खाएको बताए। ‘तपाईं त डन, हाम्रो पैसा उठाइदिनुपर्यो’ भन्न थाले।’
क्यारिकेचरमा सिपालु
२०४७ सालमा मह जोडीसँगै लक्ष्मी अमेरिका पुगेकी थिइन्। अमेरिकाका विभिन्न ठाउँमा ‘विज्ञापन’ नाटकको मञ्चन राखिएको थियो। मञ्चनकै क्रममा एक ठाउँमा हरिवंश आचार्यले घोषणा गरिदिए, ‘अब आउँदै हुनुहुन्छ, नेपालकी मात्र नभएर एसियाकै पहिलो क्यारिकेचर गर्ने महिला लक्ष्मी गिरी।’ केही समयअगाडि लक्ष्मीले हरिवंशलाई आफूले क्यारिकेचर गरेको सुनाएकी थिइन्। ब्याकस्टेजमा लक्ष्मीलाई हरिवंशले सोधेका थिए, ‘दिदी तपाईं क्यारिकेचर गर्ने हो ?’ लक्ष्मीले ‘हुन्छ’ भनिन्। हरिवंशले घोषणा गरिदिए। लक्ष्मी सम्झन्छिन्, ‘उहाँले एसियाकै पहिलो भन्दा पो अप्ठ्यारो लाग्यो। हरिवंशजीले रमाइलोमा भनिहाल्नुभयो। मैले पनि स्टेजमा २० प्रकारका आवाज निकालेर सुनाएँ।’
कविता र लक्ष्मी
कलाकारितासँगै अध्ययन गर्न पनि रुचाउँछिन्, लक्ष्मी। बाल्यकालबाटै आफू पुस्तकप्रेमी रहेको उनी बताउँछिन्। उनलाई कवितामा बढी रुचि छ। सम्झन्छिन्, ‘सानोमा स्कुलमा साहित्यका पुस्तकमा भएको कविता पढेपछि आफूले पनि लेख्नुपर्छ ठानेर कविता लेख्न सुरु गरेँ।’ बाल्यकालमा किताबमा भएका कविताजस्तै आफूले पनि कोरेको सम्झन्छिन्, उनी। भन्छिन्, ‘किताबमा जस्ता हुन्थे, त्यस्तै गरिन्थ्यो।’ १४ वर्षकी हुँदा २०२४ सालमा रेडियो नेपालमा गएर कविता भनेकी थिइन्। स्कुलमा पनि कविता भन्थिन्। ‘तर, पछि कविता लेख्नु बौद्धिक काम हो भन्ने बुझेँ,’ उनी भन्छिन्।
राष्ट्र बैंकमा जागिरे हुँदा त्यहाँबाट निस्किने पत्रिकामा उनका थुप्रै कविता छापिए। वार्षिकोत्सवमा उनका कविताले स्टेज पाउँथे। त्यो बेला मधुपर्कजस्ता साहित्यिक पत्रिकामा लक्ष्मीका कविता छापिन्थे। भन्छिन्, ‘कलाकारिताजत्तिकै मलाई कविता लेख्न, पढ्नमा पनि रुचि छ। कविता धेरै ठाउँमा वाचन पनि गरेकी छु। अहिले पनि कविता लेख्छु।’