यसकारण भइन्छ बढी बिरामी
कोही–कोही मानिस प्रायः बिरामी भइरहन्छन्। उनीहरू बिरामी पर्नुका कारण यी हुन सक्छन्ः
–दिनमा कति पटक हात धुनुहुन्छ ? यी काम गरेपछि अवश्य हात धुनुपर्छ– खाना खानुअघि र पछि, खाना पकाउनुअघि र पछि, कुनै जनावरलाई छोएमा, ट्वाइलेट–बाथरुम प्रयोग गरेपछि, धुलोमाटो छोएमा आदि। चिकित्सकका अनुसार कम्तीमा २० सेकेन्डसम्म हात धुनुपर्छ। कसै–कसैले स्यानिटाइजर प्रयोग गर्छन्। यतिले मात्र पुग्दैन। साबुन–पानीले पनि हात धुनुपर्छ।
–कसै–कसैलाई अनुहार छोइरहने बानी हुन्छ। यसो गर्दा हातमा भएका कीटाणु अनुहारमा सर्छन्। आँखा, नाक, मुखबाट शरीरभित्र पस्छन्। जसले गर्दा रुघाखोकी हुन सक्छ।
–निद्रा नपुग्नेलाई रुघाले चाँडै समात्छ। राम्ररी नसुत्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। जसले गर्दा रुघा फैलाउने कीटाणुले शरीरमा आक्रमण गर्छन्। कम्तीमा सात–आठ घण्टा सुत्नुपर्छ।
–कुनै एलर्जीका कारण नाक बन्द भएको छ भने अलिकति रुघा लाग्दा पनि ठूलो असर देखिन सक्छ। कतिपयलाई धुलोको एलर्जी हुन्छ। अलिकति धुलोमा काम गर्दा उनीहरूलाई रुघाखोकीले समात्छ।
–कम्प्युटरको बढी प्रयोगका कारण पनि धेरै मानिस बिरामी परिरहन्छन्। किनकि, किबोर्डमा धेरै कीटाणु हुन्छन्। ती कीटाणु शरीरमा पसे मान्छे बिरामी परिरहन्छ।