भारतीय पर्यटकलाई पोखरामा अवरोध
पोखरा : नेपाल भ्रमण वर्षको मुखैमा आएर भारतीय पर्यटकलाई कास्की प्रशासन र व्यवसायीले पोखरामा अत्तो थापेका छन्। कास्की प्रशासन र पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्ले भारतीय पर्यटकका बसलाई पर्यटकीय गन्तव्यमा पुग्न रोकेका छन्। बस होटलमै पार्किङ गर्न उनीहरूले उर्दी जारी गरेका छन्।
यहीँ विषयलाई लिएर भारतीय पर्यटकका गाडीमाथि पोखरामा प्रतिबन्ध लगाइएको भन्दै भारतीय सञ्चार माध्यमले समाचार दिएका छन्। पर्यटन व्यवसायी त्यस्तो समाचारकै कारण यहाँ भारतीय पर्यटक नआउने चिन्तामा परेका छन्।
पोखरा पर्यटन परिषद्ले होटल होटल पुगेर त्यहाँ आएका भारतीयका गाडीमा गन्तव्यमा बस नलैजान आग्रह गरिएको सूचनाको स्टिकर टाँसेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखराकै व्यवसायीका गाडी प्रयोग आऊन् भन्ने आफूको चाहना रहेको सुनाए। ‘सबै गाडी कतै लैजान नपाइने भनेका छैनौं, निजी गाडी गन्तव्यमै पु¥याए हुन्छ, ठूला गाडी लैजाँदा पार्किङ समस्या भयो भनेका हौं’, उनले भने, ‘भारतमै पनि एउटा प्रान्तमा अनुमति लिएको गाडी अन्त जान पाउँदैन, हाम्रोमा पनि त्यस्तै व्यवस्थित हुनुपर्छ भन्ने हाम्रो भनाइ हो।’
भारतीय गाडी चालकलाई पोखराको सडकबारे जानकारी नहुँदा दुर्घटना र जाम बढेको पोखरेलले सुनाए। ‘पोखरामा भएका साइटसिट स्पोर्टमा मात्रै भ्रमण गराउने, पोखरा राम्ररी नघुमाई फर्काएको पाइयो’, उनले भने, ‘सबै ठाउँ साइटसिट उसैले गराउने, सबै ठाउँ अस्तव्यस्त पनि उसैले बनाउने र हाम्रा सवारी जति ग्राहक कुरेर छेउ लागेर बस्ने तालले समृद्धि प्राप्त हुन सक्दैन।’ भारतका भाडाका सवारी साधन जथाभावी यहाँ चलाउन दिनुभन्दा यहीँका चलाउनु पर्छ भनेर व्यवस्थित गर्न खोजिएको पोखरेलले बताए। उनले भारतीयलाई रोक नलगाएको र व्यवस्थितमात्रै गर्न खोजेको प्रष्टोत्ति दिए।
पश्चिमाञ्चल क्षेत्रीय होटल संघ (हान) पूर्वअध्यक्ष हरि शर्मा गैरेले भारतीय गाडी गुड्नै रोकेको सन्देश गएको जानकारी दिए। ‘मेरै होटलमा आएका पाहुनाका गाडीमा स्टिकर टाँस्दै रहेछन्, मैले खबरदार मेरा पाहुनाका गाडीमा नटाँस भनेर हकारें’, उनले अन्नपूर्णलाई सुनाए, ‘भ्रमण वर्षको मुखमा यस्तो भएपछि पर्यटक कसरी आउँछन् ? भारतीय मिडियाले पोखरामा नो इन्ट्री इन्डियन भन्ने समाचार दिएको छ।’
यस्तो बेलामा भारतीयलाई गाडीलाई रोक लगाउनु गैरजिम्मेवारी भएको गैरे बताउँछन्। ‘एकातिर चलिए पोखरा, जाऊँ है पोखरा भन्ने अनि यहाँ आएका पर्यटकलाई आउन पाउँदैनौं भन्ने नै कुनै तरिका हुन्छ ? ’ उनले भने।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले भने भारतीय गाडीलाई रोक नलगाइएको बताए। उनले भारतीय ठूला गाडी सबै गन्तव्यमा पुग्दा साँघुरा सडकमा समस्या भएको र पार्किङ व्यवस्थापनमा कठिनाइ भएको हुँदा व्यवस्थित गर्न मात्रै भनिएको जानकारी दिए।
पर्यटन परिषद्को सूचनाका कारण भारतीय पोखरा आउनै डराएको भारतको सुनौलीका एक पत्रकार आलोक जोशीले बताए। ‘भारतीय थाइल्यान्ड, मलेसिया, सिंगापुर र इन्डोनेसिया जान छाडेर पोखरा आइरहेका छन्’, उनले भने, ‘तर, त्यस्तो सूचनाका कारण पर्यटन पोखरा जान मानेका छैनन्।’ उनले आफ्नै गाडी लिएर जान पाइने कारण भारतीयका लागि पोखरा र नेपालका धेरै ठाउँमा सस्तो गन्तव्य बनेको पनि बताए। ‘सस्तो र सजिलो भएर पो भारतीय पोखरा आएका छन्’, उनले भने, ‘आफ्नै गाडी लैजान नपाएपछि कहाँ आउँछन् र ? ’
प्रतिक्रिया दिनुहोस !