ताल जोगाउन ड्याम

ताल जोगाउन ड्याम

पोखरा : रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल पुरिने क्रम रोक्न ताल पुर्ने खहरे खोलाहरूमा सिल्ट्रेसन ड्याम निर्माण सुरु गरिएको छ। पोखरा महानगरपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त लगानीमा फेवाताल पुरिने क्रम रोक्न पहिलो चरणमा ५ वटा खोलामा सिल्ट्रेसन ड्याम निर्माण सुरु भएको हो।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको २८ करोड १६ लाख लगानीमा खोला हुँदै तालमा मिसिने गेग्रयान रोक्न खोलाहरूमा सिल्ट्रेसन ड्यामको निर्माण सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बुधबार पोखरा–२४ बेतयनी खोलामा निर्माण हुने सिल्ट्रेसन ड्यामको शिलान्यास गरे।

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक खोला, पोखरा २३ र २४ को अँधेरी खोला र पोखरा २३ स्थित हर्पन खोला घाँटीछिना गरी पाँच ठाउँमा चेकड्याम बनाएर सिल्ट्रे्सन ड्याम निर्माण गरिने पोखरा महानगरपालिकाका इन्जिनियर सारदामोहन काफ्लेले बताए।

बेतयनी खोला आयोजनाको स्याङ्जाको श्री गीता र जयनेपाल इश्वर जेभी, लौरुक खोला, अधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना खड्का कृष्ण र पिके जेभी दाङले ठेक्का पाएका छन्। १५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ।

ड्याम निर्माणपछि प्रत्येक वर्ष ५ लाख मेट्रिक टन गेग्रयान र ढुङगा बालुवा निकाल्न सकिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए। सिल्ट्रेसन ड्याममा जम्मा भएको बालुवा, गेग्रयान र ढंगा समय–समयमा निकालिनेछ। यसरी निकालिएका नदीजन्य पदार्थ बिक्रीबाट बर्सेनि २३ करोड बढी रुपैयाँ आम्दानी हुने मेयर जिसीले सुनाए।

यसबाट आम्दानी भएको रकम ताल संरक्षणमै खर्च गरिने बताइएको छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सिमांकन छिट्टै हुने बताए। संघीय समितिले काम गर्न ढिलाइ गर्दा फेवाताल संरक्षणको काम अघि बढ्न नसकेको उनको भनाइ छ। संघीय सरकारले गर्नुपर्ने ताल संरक्षणका काम बेलैमा नगर्दा प्रदेश र स्थानीय सरकारले संरक्षणका काम अघि बढाउन नसकेको उनले सुनाए।

त्यसैले अदालतको अपहेलनाको मुद्दासमेत खेप्नु परेको उनले गुनासो गरे। प्रदेश सरकारले पोखराका ९ वटै तालको संरक्षणका साथै गण्डकी प्रदेशका हिमालदेखि तराईसम्मका सबै तालको संरक्षणको योजना बनाइरहेको पनि उनले सुनाए।

अन्तर्राष्ट्रिय महत्वका रामसार क्षेत्रमा सूचीकृत फेवातालमा वर्षायाममा ठूलो परिमाणमा गेग्रयान, कमेरो र माटो थुप्रिँदै गएको छ। जलाधार क्षेत्रमा जाने पहिरो खहरे खोला हुँदै तालको मुख्य स्रोत हर्पन खोलामा मिसिएर तालमा थुप्रिँदा बर्सेनि ताल साँघुरिदै गएको छ।

फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। समय    श्रृखला विश्लेषणवाट यो अवस्था देखिएको हो। उचित संरक्षणका अभावमा ४० देखि ५० वर्षको अवधिमा फेवाताल ५० प्रतिशत पुरिएको बताइएको छ। नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको २०६४ सालमा प्रकाशित प्रतिवेदन अनुसार त्यतिबेला यस तालको गहिराई १८ मिटर, कुल लम्वाई ४ किलोमिटर र चौडाई दुई किलोमिटरसम्म थियो।

सन् १९५७ को नापी अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका अध्ययनमा भने क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपनीमा सिमित भएको तथ्यांक छ। पोखराको मुख्यबजार विन्ध्यवासिनी, फिर्के खोलाको पानीको ढल, सिदार्थचोक, जिरो किलोमिटर, सिर्जना चोक, बैदामलगायतका क्षेत्रबा निस्कने ढल सिँधै तालमा मिसिने फिर्के खोलामै पुग्छन्। जस कारण तालको पानी पनि प्रदूषित बन्दै आएको छ।

ताल परिषरमा करोडौं लागतमा होटलहरू सञ्चालनमा छन्। यी होटलबाट निस्कने फोहोर पनि सिधै तालमै मिसिन्छ। बिरौटा फाँटमा ३ सय ३० हेक्टर क्षेत्रफल जमिनको सिंचाई यही तालबाटै गएको पानीले गरिन्छ। दुई सयभन्दा बढि प्रजातिका बनस्पती, जलचर एवं पंक्षीको आ श्रयस्थल पनि हो फेवाताल। ४० प्रजातिका माछा यही तालमा पाइने भए पनि अहिले कति प्रजातिका माछा बचेका छन् कुनै अध्ययन भएको छैन। हिउँदमा साइबेरीयादेखि जाडो छल्ने पाहुनाका रूपमा चराहरू फेवाताल पुग्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.