कल्चर, फुड र म्युजिक

कल्चर, फुड र म्युजिक

पोखरा : धेरै चाडपर्व घरभित्रै मनाइन्छ। परिवारको साथमा घरमा उत्सव मनाउनु मात्रै पनि सधैं आनन्दको कुरा होइन। बाहिरफेर निस्किएर परिवार वा साथीभाइका साथमा रमाउने मौका यदाकदा निस्कन्छ भने पोखरामा अंग्रेजी नयाँ वर्ष मनाउनु उपयुक्त मौका हुन सक्छ। यही छेकोमा पोखरा उत्सवको रौनक हुन्छ।

अंग्रेजी नयाँ वर्ष पोखरामा ठूलै सार्वजनिक पर्व हुन थालेको छ। यो बेला यहाँको पर्यटकीय केन्द्र लेकसाइड पूरै चाडपर्वमय बन्छ। लेकसाइड सुरु हुने बिन्दु फिस्टेल गेटदेखि अन्तसम्मको ३ किलोमिटर सडकको दायाँबायाँ र धर्ती आकाश नै बेहुली घर झै सिंगारिन्छ। फराकिलो सडकका दायाँबायाँ हुन्छन् रेस्टुरेन्टका पक्वान। सडकमै पाइन्छ खान र रमाउन।

बुद्धमन्त्र अंकित रंगीचंगी ध्वजापताले आकाश रंगीन बनाउँछन्। सिंगारिएका रेस्टुरेन्ट उस्तै झकिझकाउ हुन्छन्। ठाउँठाउँका स्वागतद्वारले पाइला अड्याउन खोज्छन्। रेस्टुरेन्टबाहेकका हस्तकलाका र अरु पसलको डिजाइनले युरोपका गल्लीको झल्को दिन्छन्। कफी सपका इन्टेरियर र त्यहाँबाट आउने अर्गानिक कफीको सुगन्धले आल्हादित बनाउँछ।

अंग्रेजी नयाँ वर्षका बेला लेकसाइड रंगीन हुन थालेको २१ वर्ष लागेको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखरा शाखाले हरेक वर्ष पोखरा सडक महोत्सव गर्दै जो आएको छ। कुनै बेला विदेशी पाहुना लक्षित यो पर्व अचेल स्वदेशी पर्यटकका लागि आकर्षण बन्न थालेको छ। फेस्टिभलका परिकल्पनाकार गणेशबहादुर भट्टराई उनताका क्रिसमस र अंग्रेजी नयाँ वर्षका बेला विदेशी आफ्नै देशतिर फर्कने गरेको सम्झन्छन्। पोखरामा कुनै गतिविधि नहुँदा ती पाहुना कोही थाइल्यान्ड त कोही गोवातिर लम्कन्थे। ती दृश्य देखेका गणेशले क्रिसमसका बेला भारतको गोवामा फुड र म्युजिक फेस्टिभल भएको पनि देखेका थिए।

खासमा पुस अर्थात डिसेम्बर र जनवरीको मौसम पोखरेली पर्यटनको अफ सिजन थियो। पोखरा आएका बेला त्यतिबेलाका राजा वीरेन्द्रसँग गणेशबहादुर भट्टराईको भेट हुन्थ्यो। पोखरामा पर्यटक निख्रिएको देखेर राजाले गणेशसँग साउती मार्दै कुनै उपाय खोज्न भनेको उनी सम्झन्छन्। गणेशलाई पनि गोवाको त्यो फेस्टिभल जस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। उनी रेबानमा थिए। अनि साथीभाइलाई हौस्याए र सुरु भयो पोखरा सडक महोत्सव।

पोखरा सडक महोत्सवको नारा हुन्छ- सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं। अहिलेसम्मै यो नारा अनुसार रेस्टुरेन्टले सडक ओर्लिएर सर्भिस गर्छन्। सडकमा गाडी गुड्दैनन्। पैदल यात्रुमात्रै हुन्छन्। लेकसाइडको सडकमा दर्जनौं चौतारी छन्। ती चौतारीमा विभिन्न सांगीतिक र साँस्कृतिक कार्यक्रम भइरहन्छ। खान मन लाग्ने खान्छन्। नाच्न मन लाग्ने नाच्छन्। डुल्न मन लाग्ने डुलिरहन्छन्। हेररै मज्जा लिन्छन्। त्यसबाहेक कोमागाने पार्कमा दिनहुँ सांगीतिक कार्यक्रम भइरहन्छ। यसपालि १२ पुसदेखि १६ गतेसम्म महोत्सव हुँदै छ। १ पुस अर्थात सन् २०२० को पहिलो दिन हो। त्यसका अघिल्ला दिनका प्रत्येक साँझमा लेकसाइडको पूरै सडक पर्यटकले भरिन्छन्। कति पर्यटक आउँछन् यकीन तथ्यांक छैन। तर, ३० हजारभन्दा बढी शैड्ढया यहाँका होटलको क्षमता हो। ती सबै कोठा पाहुनाले भरिने अनुभव र अपेक्षा व्यवसायीको छ।

सुरु हुने बेला यसको खास नामचाहिँ लेकसाइड मिनी फेस्टिभल भन्ने थियो। अहिले भने देशकै मिनी होइन बिगेस्ट फेस्टिभल भएको छ। रेबानका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेल भन्छन्, ‘नेपालमा हुने मेला महोत्सवमध्ये सबैभन्दा धेरै मान्छे सहभागी हुने महोत्सव पोखरा सडक महोत्सव हो भन्ने हाम्रो ठम्याइ छ। त्यसैले यसलाई देशकै बिगेस्ट फेस्टिभल भनेका छौं।’ लेकसाइड मिनी फेस्टिभल २०५६ सालको पुसमा पहिलो फेस्टिभल सुरु भएको थियो। पछि रेबान स्ट्रिट फेस्टिभल नाम भयो। सातौं संस्करणदेखि पोखरा सडक महोत्सव भन्न थालिएको हो। गणेश भट्टराईलाई अहिले याद छ सुरुका बेला व्यवसायीले ३ हजार, ५ हजार र १० हजार रुपैयाँ गरी संकलन गरी फेस्टिभल आयोजना भएको थियो। अहिले भने बहुराष्ट्रिय कम्पनी फेस्टिभलमा हातेमालो गर्न आइपुग्ने गरेका छन्। रेबानका सदस्यको यसबेला व्यापार हुन्छ नै रेबानले फेस्टिभलबाट केही बचत ग¥यो भने सामाजिक सेवामा खर्चिन्छ।

रेबान पोखराका अध्यक्ष बुधराज (भीमसेन) भुजेल यस वर्ष सरकारले भिजिट नेपाल २०२० मनाउन गइरहेकाले पनि महोत्सव त्यसै अनुसार थप आकर्षक हुने बताउँछन्। उनी भन्छन्, ‘पर्यटकलाई आकर्षण गर्न ७ वटै प्रदेशका कुनाकुनाबाट लोपोन्मुख साँस्कृतिक झाँकी, कला महोत्सवमा देखाउने छौं। पोखरामै रहेर विभिन्न व्यवसाय गरिरहेका चिनियाँ व्यवसायीले चिनियाँ साँस्कृतिक नृत्य देखाउने छन्।’ महोत्सवमा तिब्बती नृत्यको साथै भारतलगायत देशका साँस्कृतिक झाँकीसमेत देखाइने जानकारी पनि भीमसेनले दिए।

प्रकृतिले भरिपूर्ण पोखरामा साँस्कृतिक गतिविधि पनि उत्तिकै हुन्छ भनेर महोत्सव गरिएको बताउँछन् भीमसेन। आयोजक रेबान भए पनि अन्य विधाका पर्यटन व्यवसायीका संस्थासँगै स्थानीय संघसंस्थाले समेत महोत्सवप्रति अपनत्व देखाएका छन्। रेबानका उपाध्यक्ष तथा यसपालिको महोत्सवका संयोजक लक्षमण बराल पोखरा सडक महोत्सवलाई कल्चर, फुड र म्युजिकको संगमको उपमा दिन्छन्। यसपालिको महोत्सवमा २ दर्जनभन्दा बेसी देशका खानाका परिकार महोत्सवमा हुनेछन्।

अंग्रेजी नयाँ वर्षमा पोखरालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सडक महोत्सव हुँदै आएको बराल बताउँछन्। उनी भन्छन्, ‘सडक महोत्सवमा स्वदेशी र विदेशी ५ लाखभन्दा बढी पर्यटक सहभागी हुने विश्वास छ।’ महोत्सवमा हुने ठूलो सहभागितालाई ख्याल गर्दै सुरक्षाको व्यवस्था चुस्त बनाइने उनले सुनाए। उनी भन्छन्, ‘सीसी क्यामेरा, सुरक्षाकर्मी र स्वयंसेवक सुरक्षामा परिचालन हुन्छ।’

वर्ष फरक हुन्छ। महिना र समय भने उही। महोत्सव डिसेम्बरको २८ देखि जनवरी १ सम्म हुन्छ। नेपाली पात्रोअनुसार पुसको १२ देखि १६ गतेसम्म परेको छ यसपालिको महोत्सव। यो अवधिको रौनक सडकमा मज्जाले लिन पाइन्छ। रेबानका सचिव विकास भट्टराईका अनुसार नेपालका कुना कन्दराका संस्कृतिले महोत्सवमा सहभागी हुने पर्यटक रोमाञ्चित हुँदै आएका छन्। उनी भन्छन्, ‘लोप हुन लागेका नेपाली संस्कृतिबाट स्वदेशी पर्यटक पनि दंग पर्ने गरी महोत्सवमा प्रत्येक वर्ष फरकफरक साँस्कृतिक कार्यक्रम हुँदै आएका छन्। लोप हुन लागेको संस्कृतिको संरक्षण समेत गर्ने उद्देश्यले यस्ता संस्कृतिको खोजी हामीले गर्दै आएका छौं। टिपिकल नेपाली खाना पर्यटकलाई पस्किएर महोत्सवमा थप आकर्षण गर्छांै।’

रेबान पोखराका पूर्वअध्यक्ष गोपी भट्टराई खानाको हाइजिनमा ध्यान दिने यहाँका रेस्टुरेन्टको मुख्य विशेषता भएको बताउँछन्। उनी भन्छन्, ‘पर्यटकलाई सेवा दिने व्यवसाय भनेको निकै संवेदनशील व्यवसाय हो।’ सानो त्रुटि र कमजोरीले पनि तुरुन्तै नराम्रो सन्देश पर्यटन क्षेत्रमा फैलने उनी बताउँछन्। ‘त्यसैले खानाको हाइजिनमा ख्याल गर्छौं। सेवा सत्कारको गुणस्तरमा ध्यान दिन्छौं। जसरी हुन्छ गुणस्तरीय सेवा दिने हाम्रो ध्याउन्न हुन्छ’, उनी भन्छन्, ‘पाहुना खुसी पार्ने र सधैं पोखरा बोलाइरहने उद्देश्य हो हाम्रो। त्यसैले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्दै छौं।’

महोत्सव हुने लेकसाइडको ३ किलोमिटर क्षेत्र हो तर महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण फेवाताल किनारका होटलमात्र होइन, बेगनास, सराङ्कोट, महेन्द्रपुल, पृथ्वीचोकका होटल पनि कम्तीमा ३ दिन भरिभराउ हुन्छन्। पोखराको पर्यटनमा एउटा भाइब यो बेला देखिन्छ।

देशक ठूलो महोत्सवमा खुला निमन्त्रणा

बुधराज (भीमसेन)भुजेल
अध्यक्ष, रेन्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान)पोखरा
पोखरामा देशकै ठूलो महोत्सवको तयारी पूरा भएको छ। पोखरा सडक महोत्सव फेवातालको किनारको ३ किलोमिटर क्षेत्रको सडकमा हुँदै छ। २० वर्षदेखि प्रत्येक वर्ष एउटै मितिमा हुँदै आएको यो महोत्सव २१औं सडक महोत्सव हो। अंग्रेजी नयाँ वर्षको अवसरमा विगत वर्षमा झै यस वर्ष पनि पुस १२ गतेदेखि १६ गतेसम्म फेवाताल किनारमा महोत्सवको तयारी गरिएको छ।

यस वर्ष सरकारले भिजिट नेपाल २०२० मनाउन गइरहेकाले पनि महोत्सव त्यसै अनुसार थप आकर्षक रूपमा हुने हामीले मनाउन गइरहेका छौं। महोत्सवको अन्तिम दिन हामीले सन् २०१९ लाई विदाई र सन् २०२० लाई भब्य रूपमा स्वागत गर्दै छौं। पोखराको पर्यटन ट्रेकिङ पर्यटनबाट चलेको व्यवसाय हो। हिमाली क्षेत्रमा घुम्न आउने पर्यटकको आकर्षक गन्तब्य पोखरालाई साँस्कृतिक विविधता पस्केर थप आकर्षण गरि बसाई लम्ब्याउन यो महोत्सव सफल हुँदै आएको छ। २१ वर्षअघि पुस माघ महिना (डिसेम्बर, जनवरी अंग्रेजी महिना)मा पर्यटक आगमन कम हुने भएकाले लेकसाइड क्षेत्र सुनसान हुन्थ्यो। हिमाली क्षेत्र अन्नपूर्ण, धैलागिरि, मनास्लुमा चिसो बढेका कारण पर्यटक पदयात्रामा जान नसक्ने भएकाले पदयात्राका लागि आउने पर्यटक नआएपछि लेकसाइड पनि सुनसान हुने नै भयो। यसैले यस समय अफसिजन मानिन्थ्यो।

पोखरामा रहेका पर्यटक पनि अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा, थाइल्यान्ड वा आप्नै घर फर्कन्थे। पोखरामा रहेका पर्यटकलाई यही नयाँ वर्ष मनाउने वातावरण बनाउने उद्देश्यले २० वर्षअघि सुरु भएको सडक महोत्सव अहिले आएर देशकै ठूलो महोत्सवको रूपमा विकास भएको छ। यसै महोत्सवका कारण यो समयमा पोखरामा रहेका विदेशी पर्यटक सडक महोत्सवमा रमाउन बसाइ लम्ब्याउने गर्छन्।

नेपाली कला, संस्कृति पर्यटकमाझ प्रदर्शन गरेर नेपालको साँस्कृतिक विविधतामार्फत पर्यटक आकर्षित हुँदै आएको हामीले पाएका छौं। पर्यटकलाई आकर्षण गर्न ७ वटै प्रदेशका कुनाकुनाबाट लोपोन्मुख साँस्कृतिक झाँकी, कला महोत्सवमा देखाउने गरी यस वर्ष पनि तयारी गरिसकेका छौं। महोत्सवमा आउने पर्यटकलाई आकर्षण गर्न पोखरामै रहेर विभिन्न व्यवसाय गरिरहेका चिनियाँ व्यवसायीले चिनियाँ साँस्कृतिक नृत्य देखाउँदै आएका छन्। महोत्सवमा तिब्बती नृत्यका साथै भारतलगायत देशका साँस्कृतिक झाँकीसमेत देखाइनेछ।

महोत्सवमा विभिन्न साँस्कृतिक, लाइभ ब्यान्डको प्रस्तुति हेर्दै सडकमै बसेर विभिन्न खानाका परिकारको स्वाद लिन पाइनु यसको थप विशेषता हो। सडकमै खाउँ, सडकमै नाचौं सडकमै रमाउँ भन्न मूल नाराका साथ हुने सडक महोत्सव पर्यटकमाझ लोकप्रिय भएकाले महोत्सवकै कारण पर्यटकले बसाइ लम्ब्याउन थालेकाले यसले व्यवसायीलाई हौसला मिलेको छ। अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा पोखरालाई विकास गर्ने उद्देश्यले आयोजना गरिएको २१औं सडक महोत्सवमा विगतका वर्षजस्तै यस वर्ष पनि सबैलाई पोखरा भ्रमणमा आउने निम्तो छ।

दक्षिण एसियाकै महोत्सव

गणेशबहादुर भट्टराई
अग्रज पर्यटन व्यवसायी, पहिलो पोखरा सडक महोत्सवका संयोजक

पोखरा सडक महोत्सव नेपालीमाझ अंग्रेजी नयाँ वर्ष मनाउने सहरको रूपमा ब्रान्डिङ भइसकेको छ। अव सरकारले अन्तर्राष्ट्रिय बजारमा यसको प्रवद्र्धन गर्न सघाउनु पर्छ। सन् १९९७ बाट सुरु भएको सडक महोत्सव आन्तरिक पर्यटकमाझ लोकप्रिय भएकाले अव विश्व पर्यटन बजारमासमेत आकर्षक गन्तव्यको रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारले सघाउन ढिला गर्नु हुँदैन।

हामी पर्यटन व्यवसायीले भारत र चीनका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएका छौं। अंग्रेजी नयाँ वर्षमा पोखरा घुम्न जाने गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्न नेपालमा रहेका विभिन्न देशका दूतावासमार्फत भारत, चीन, जापान, कोरिया मात्र होइन युरोप र अमेरिकन ख्यातिप्राप्त कलाकारलाई ल्याएर प्रवद्र्धनात्मक कार्यक्रम गर्न सके प्रभावकारी हुनेछ। यसका लागि संघ सरकारले पनि सघाउनु पर्छ। प्रदेश र पोखरा महानगरपालिकाको साथमा व्यवसायी सँगसँगै लाग्न सके विदेशी मुद्रा आर्जन हुने पर्यटन व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहनेछ। यसो गर्न सके पोखरा मात्र नभएर नेपालको पर्यटन प्रवद्र्धनमा पनि यो महोत्सव महत्वपूर्ण रहनेछ। महोत्सवमा नेपाली हस्तकला, नेपाली उत्पादनका ब्रान्डको पनि प्रवद्र्धन गर्नुपर्छ।

सडक महोत्सव सुरु हुनुअघि सन् १९९७ ताका लेकसाइडका पर्यटन व्यवसायी यो सिजन (डिसेम्बर, जनवरी) मा पर्यटक आगमन शून्यजस्तै हुने भएकाले फुर्सदिला हुन्थे। त्यैसैले आफै छुट्टि मनाउन भारत, थाइल्यान्डलगायत देश घुम्ने गर्थे। अंग्रेजी नयाँ वर्षका बेला नेपालमा रहेका पर्यटक पनि नयाँ वर्ष र क्रिसमस मनाउन भारतको गोवा, थाइल्यान्ड र आफ्नै देश फर्कन्थे।

आन्तरिक पर्यटक घुम्ने चलन पनि त्यति थिएन र उनीहरूलाई पर्यटकको रूपमा सम्मान गर्ने चल पनि थिएन। १९९८ मा पहिलोपटक लेकसाइड सडक महोत्सवको रूपमा सुरु भएको महोत्सव १९९९ देखि पोखरा सडक महोत्सवको रूपमा विकास हुँदै अहिले नेपालकै ब्रान्डको रूपमा यो महोत्सव विकास भएको छ। यसलाई अव अन्तर्राष्ट्रिय रूपमा विकास गर्न अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारलाई ल्याएर नेपाली संस्कृतिको साथै विदेशी कला, संस्कृति र विभिन्न खानाका परिकारमार्फत अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्नुपर्छ।

सडक महोत्सव हुन थालेपछि सबैभन्दा ठूला कुरा आन्तरिक पर्यटकलाई पनि पर्यटकको रूपमा सम्मान गर्न थालियो। पछिल्लो समय महोत्सवकै कारण विदेशी पर्यटक पनि पोखरा आउन थाले। पोखरामा घुम्न आएका विदेशी र विभिन्न गैरसरकारी संस्थामा कार्यरत र विभिन्न देशका दूतावासमा कार्यरत विदेशी पनि क्रिसमस र नयाँ वर्ष मनाउन पोखरा रोज्न थालेकाले उद्देश्यअनुसार महोत्सवले गति लिँदै गएको छ।

पछिल्लो समय नयाँ वर्ष मनाउन पदयात्रा गर्न आएका पर्यटक रोकिने गरेका छन्। अव विदेशी पर्यटकले नयाँ वर्ष मनाउने स्थलको रूपमा रोजाइको सहरको रूपमा विकास गर्न प्रवद्र्धनात्मक कार्यक्रम गर्नु आवश्यक छ। प्रत्येक वर्ष यहाँ रहेका विदेशी पर्यटक यहाँको साँस्कृतिक कार्यक्रममा आकर्षित भए पनि नयाँ वर्ष मनाउनकै लागि आफ्नो देशबाट पोखरा आउने पर्यटक भने नगन्य छन्। महोत्सवमा यही घुम्न आएका भारतीय, चिनियाँ, युरोपेली, अमेरिकी पर्यटकको सहभागिता रहँदै आएको छ।

स्न १९९७ सम्म डिसेम्बर महिना अफ सिजन भएकाले हामी पनि भारतको गोवामा अंग्रेजी नयाँ वर्ष मनाउन र रिफ्रेस हुन जाने गथ्र्यौं। त्यतिबेला तत्कालीन राजा वीरेन्द्रले पोखरा घुम्न आएका बेला पुस, माघ महिनामा किन पर्यटक कम हुन्छन् भन्ने जिज्ञाशा राख्नु भएको थियो। कसरी पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। पर्यटन क्षेत्रमा बैंकको लगानी कस्तो छ भन्ने जिज्ञासा पनि उहाँले राख्नु भएको थियो। गोवामा भएको महोत्सव देखेपछि तत्कालीन राजाले भनेको कुरा सम्झेर हामीले पोखरा घुम्न आएका पर्यटकलाई यही नयाँ वर्ष र क्रिसमस मनाउन रोकिउन भने उद्देश्यले पोखरामा सडक महोत्सव सुरु गरेका हौं। २१औं महोत्सवसम्म आइपुग्दा उद्देश्यले विस्तारै लय लिँदै गएको छ। विदेशीभन्दा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। महोत्सवमा हामीले सम्पूर्ण नेपाली जातजातिलाई एकै ठाउँमा गोलबद्ध गरी जातीय सदभाव पर्यटकलाई देखाएका छौं। हाम्रा जातजातिका संस्कृति पनि देखाएका छौं। पर्यटकलाई आकर्षित गर्न विभिन्न मनोरञ्जनात्मक खेलकुद पनि प्रस्तुत हुने गरेको छ। यसको अलवा नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रम हँुदै आएका छन्।

सडक महोत्सवलाई नेपालको ब्रान्डको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकास गर्दै लैजानुपर्छ। महोत्सवमा देशभरकै घरेलु उत्पादनलाई उचित स्थान दिएर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गराउनुपर्छ। यसका लागि नेपाली हस्तकलाका सामग्रीका लागि निःशुल्क स्टल राख्ने व्यवस्था गरिएको छ।

महोत्सव नेपाली टिपिकल खानाका परिकार सेलरोटी मात्र होइन कोदोको रोटी, ममलगायत खानाको प्रवद्र्धन हुनुको साथै ग्रामीण पर्यटनको विकासमा पनि सघाउ पुग्दै आएको छ। सहर र गाउँको पर्यटनलाई जोड्ने पुलको रूपमा महोत्सवलाई विकास गर्नुपर्छ। यही अनुसार गण्डकी प्रदेशको समग्र पर्यटन विकासमा योगदान पुग्ने गरी महोत्सव हामीले आयोजना गर्दै आएका छौं। गण्डकी प्रदेशको राजधानीमा हुने सडक महोत्सवले मुस्ताङ, मनाङजस्ता हिमाली क्षेत्रदेखि नवरपुरको तराई क्षेत्रको पर्यटन विकासमा पनि उत्तिकै सघाउ पुग्ने गरी महोत्सवमा सहभागीता रहँदै आएको छ।

सडक महोत्सव फरक स्वाद

विकास भट्टराई, सचिव, रेबान पोखरा

सडक महोत्सव प्रत्येक वर्ष लोकप्रिय हुँदै गएको छ। महोत्सवमा प्रत्येक वर्ष स्वदेशी तथा विदेशी फरक फरक साँस्कृतिक प्रस्तुतिका कारण थप आकर्षण बढ्दै गएको छ। फरक फरक संस्कृति र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार पस्किएर पर्यटकलाई आकर्षण गर्नु नै पोखरा सडक महोत्सवको मूल उद्देश्य हो।

नेपालका कुना कन्दराका संस्कृतिले महोत्सवमा सहभागी हुने पर्यटक रोमाञ्चित हुँदै आएका छन्। लोप हुन लागेका नेपाली संस्कृतिबाट स्वदेशी पर्यटक पनि दंग पर्ने गरी महोत्सवमा प्रत्येक वर्ष फरक फरक साँस्कृतिक कार्यक्रम हुँदै आएका छन्। लोप हुन लागेको संस्कृतिको संरक्षणसमेत गर्ने उद्देश्यले यस्ता संस्कृतिको खोजी हामीले गर्दै आएका छौं। टिपिकल नेपाली खाना पर्यटकलाई पस्किएर महोत्सवमा थप आकर्षण गर्छौं।

नेपालमा रहेका करिब १२५ जातजाति र भाषाभाषीका संस्कृतिलाई महोत्सवमा पालै पालो पस्किएर विदेशी पर्यटकलाई मात्र होइन आन्तरिक पर्यटकलाई पनि नेपाली कला संस्कृतिको महत्व बुझाउन लागि परेका छौं। यहाँ आउने पर्यटकलाई यहाँका संस्कृति देखाएर बसाई लम्ब्याउने काम यस महोत्सवले गरिरहेको छ।

महोत्सवमा हाइजेनिक खाना पर्यटकलाई पस्कन हामी त्यसै अनुसारका राम्रा रेस्टुरेन्टलाई मात्र सेवा दिने व्यवस्था मिलाएका छौं। सडक किनारमा आकर्षक रूपमा खानाका परिकार पस्केर पर्यटकलाई सडकमै बसेर नेपाली संस्कृतिको अवलोकन गर्ने व्यवस्था महोत्सवमा मिलाउनेछौं। लेकसाइडमा रेन्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)मा आबद्ध ८८ वटा रेस्टुरेन्ट छन्।

महोत्सव अन्तर्राष्ट्रियस्तरको हुन्छ

गोपी भट्टराई
रेवान पूर्व अध्यक्ष तथा अनुगमन समिति संयोजक

उपाध्यक्ष पोखरा पर्यटन परिषदपोखरा सडक महोत्सवमा खानाका परिकार हाइजेनिक अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न र महोत्सवमा हुने मूल्यवृद्धि रोक्न अनुगमन समिति नै बनाएर अघि बढेका छौं। नेपाली कला संस्कृतिसँगै अन्तर्राष्ट्रिय गुणस्तरको खानाका परिकार पस्कनु नै महोत्सवको उद्देश्य हो।

पर्यटन व्यवसाय निकै संवेदनशील व्यवसाय हो। सानो त्रुटि र कमजोरीले पनि तुरुन्तै नराम्रो सन्देश फैलन्छ। त्यसैले खानाको हाइजिनमा ख्याल गर्छौं। सेवा सत्कारको गुणस्तरमा ध्यान दिन्छौं। जसरी हुन्छ गुणस्तरीय सेवा दिने हाम्रो ध्याउन्न हुन्छ। पाहुना खुसी पार्ने र सधैं पोखरा बोलाइरहने उद्देश्य हो हाम्रो। त्यसैले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्दै छौं हामी।

समितिले खानामा हाइजेनिक भए नभएको अनुगमनको साथै होटलका कोठाको मूल्य नियन्त्रणका लागि पनि अनुगमन गर्नेछ। गत वर्ष पोखरा घुम्न आएका पर्यटकबाट होटलका कोठाको मूल्य नर्मल अवस्थाभन्दा धेरै गुणा बढाएको, रेस्टुरेन्टमा खानाको मूल्य पनि चर्को भएको गुनासो आएपछि अनुगमन समिति नै बनाएर नियन्त्रण गर्न लागिएको हो। रात्रिकालीन सवारी सेवा बस, ट्याक्सीले पनि चर्को भाडा लिएको पर्यटकको गुनासो छ।

अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसमेत छन्। समितिमा होटल संघ, रेस्टुरेन्टलगायत सम्पूर्ण पर्यटन व्यवसायीका संघ संस्था, पोखरा पर्यटन परिषद्का प्रतिनिधिसमेत छन्। समितिले शान्ति सुरक्षा पनि अनुगमन गर्नेछ। त्यसैले पहिलेको कमी कमजोरीलाई सच्याएर महोत्सव भव्य हुने हामीले विश्वास लिएका छौं। हाम्रो महोत्सव नै खाना र संस्कृतिमार्फत पर्यटक आकर्षण गर्ने हो। त्यसैले यसमा कुनै सम्झौता गर्न नहुने हाम्रो मान्यता छ।

महोत्सवले युवालाई उद्यमशील हुन प्रेरित गर्ने विश्वास छ। नेपालमा केही गर्ने ठाउँ छैन भन्दै विदेश पलायन हुने युवालाई यस महोत्सवले सानो रेस्टुरेन्ट चलाए पनि यही आर्थिक लाभ लिन सकिन्छ भन्ने प्रत्यक्ष देख्न सकिन्छ। सानो लगानीमा बनाइएका साना हस्तकलाका सामग्रीले पनि मूल्य राम्रो पाउने क्षेत्र हो पर्यटन उद्योग भन्ने प्रत्यक्ष देख्ने छन युवाले। यसैले देशकै साधन र स्रोत प्रयोग गरेर नेपालमै उद्यमशील बन्न पोखरा सडक महोत्सवले ठूलो प्रेरणा दिने विश्वास हामीले गरेका छौं।

आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ

सूर्यबहादुर भुजेल
पूर्वअध्यक्ष रेबान पोखरा

विगत वर्ष झै यस वष पनि हामी सडक महोत्सव प्रवद्र्धन गर्न देशका विभिन्न सहर पुग्यौं। जनकपुर, धनकुटाको भेडेटार, इटहरी, चितवनको सौरहा र काठमाडौंमा स्थानीय पर्यटन व्यवसायी र पत्रकारमाझ सडक महोत्सवबारे अन्तक्र्रिया गर्‍यौं। निम्ता बाड्यौं। उहाँहरू पोखरा आउन आतुर हुनुहुन्छ। यसैले यस वर्ष आन्तरिक पर्यटकको आगमन विगतमा भन्दा अझै बढ्ने विश्वास हामीले लिएका छौं।

२० वर्षअघि पुस, माघ, फागुन महिना होटल, रेस्टुरेन्ट बन्द गरेर बस्नुपर्ने अवस्था थियो। हुने खाने पर्यटन व्यवसायी आफैं विदेश घुम्न निस्कन्थे। महोत्सव सुरु भएसँगै विस्तारै आन्तरिक पर्यटकको घुम्ने संस्कृति विकास हुँदै गयो। अहिले पोखराको पर्यटनमा आन्तरिक पर्यटकले नै ठूलो टेवा दिएको छ। विदेशी पर्यटक हिमाली क्षेत्रको पदयात्रामा मात्र होइन अंग्रेजी नयाँ वर्ष मनाउन् पोखरालाई गन्तव्य बनाउन् भन्ने जुन उद्देश्य थियो। यसले पनि विस्तारै गति लिने विश्वास हाम्रो छ। पर्यटक पछिल्लो समय पोखरामा क्रिसमस र नयाँ वर्ष मनाउन पनि आउने गरेका छन्। पोखरामा रहेका पर्यटक पनि पोखरामा बसाइ लम्ब्याउन थालेका छन्।

अंग्रेजी नयाँ वर्षमा विदेश जाने नेपाली युवा, उद्योगी डेस्टिनेसन पनि पोखरा भएको छ। यस कारण बिदेसिने नेपाली पैसा नेपालमै रोक्न पोखरा सडक महोत्सवले सघाएको छ। पछिल्लो समय नेपाली युवा विदेश घुम्ने प्रचलन बढेको छ। पहिले आफ्नो देश अनि विदेश भन्ने भनाइ पनि नआएको होइन। देशका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटक आकर्षण गर्न सके विदेश जाने युवा नेपालकै नयाँ-नयाँ पर्यटकीय स्थल घुम्न जाने र यही खर्च गर्नेछन्। यसैले पोखरामा पनि अव थप नयाँ आकर्षक पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षण गर्नुपर्छ। सधैं उही फेवा, पातले छाँगो, गुफा मात्र देखाएर आन्तरिक पर्यटक आकर्षित हुँदैनन्। नयाँ आकर्षक गन्तव्यको विकास गर्दै जान सके पोखरामा पर्यटकको आगमन बर्सेनि बढ्नेछ।

पोखराकै महोत्सव

विश्वराज पौडेल
मिडिया संयोजक

पोखरा सडक महोत्सव पोखराकै महोत्सव हो। महोत्सव नजिकिएसँगै पोखरा नै महोत्सवमय हुने गर्छ। पोखराको फेवाताल किनारमा महोत्सव भइरहँदा पोखराकै अर्को ताल बेगनास, रुपाताल किनारमा पनि त्यतिकै भीड बढ्ने गर्छ। यो नै पोखरा सडक महोत्सवको सफलता हो।

पोखरा वरवरका पर्यटकीय क्षेत्र सराङ्कोट, धम्पुसमात्र होइन अन्नपूर्ण क्षेत्रका घान्द्रुकसम्म पोखरा सडक महोत्सवमा आउने पर्यटक घुम्न जाने भएकाले सडक महोत्सवले पोखरामा रौनक ल्याएको छ। पोखराको लेकसाइडमा मात्र २० हजार बेड क्षमताका होटल छन्। पोखराको सराङ्कोट, बेगनास, रुपाताल किनार महेन्द्रपुल, पृथ्वीचोकलगायत क्षेत्रमा १० हजार बेड संख्या समेत गरेर यहाँ ३० हजार क्षमताका सुविधा सम्पन्न होटल छन्। महोत्सवका कम्तीमा दुई दिन ८५ देखि ९० प्रतिशत होटल भरिभराउ हुन्छन्।

महोत्सवमा आन्तरिकमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पोखरा परेको छ। महोत्सवमा विभिन्न खानाका परिकार कलात्मक रूपमा सजाएर राखिन्छ। यसले पनि व्यवसायीलाई ग्राहक आकर्षण गर्न खाना कलात्मक रूपमा सजाउन प्रतिस्पर्धा नै चल्छ। सडक किनारमा राखिएका विभिन्न फलफूलमा बनाइएका कलात्मक सजावटले दर्शक लोभिन्छन् र फोटो नखिची सुखै पाउँदैनन्।

पोखरा सडक महोत्सवमा देशकै संस्कृति पस्कने हुँदा पर्यटक रमाउँछन्। तस्बिर खिच्छन्। विदेशी पर्यटक पनि कलात्मक सजावटबाट आकर्षित हुन्छन्। फलफूल तरकारीका परिकारमै नयाँ वर्षको शुभकामनादेखि विभिन्न सन्देशमूलक भनाइ पनि कलात्मक रूपमा लेखेर सजाइएको हुन्छ।

गण्डकी प्रदेशका साँस्कृतिक झाँकी

चौबहादुर गुरुङ
पूर्वअध्यक्ष रेबान पोखरा

पोखरा सडक महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका साँस्कृतिक झाँकी प्रमुख आकर्षण रहनेछन्। महोत्सवमा भारत, चीनलगायत देशका साँस्कृतिक झाँकी पनि प्रस्तुत हुनेछन्। त्यसैले सडक महोत्सव देशमै हुने ठूलो साँस्कृतिक महोत्सव पनि हो। सडक महोत्सवमा विभिन्न जातजातिका कला संस्कृति नृत्य प्रस्तुत हुन्छ। सातै प्रदेशका संस्कृति पनि पस्कने भएकाले विदेशी पर्यटकका लागि मात्र होइन आन्तरिक पर्यटकका लागि पनि महोत्सव नयाँ र रोचक हुँदै आएको छ।

गण्डकी प्रदेश भित्रका विभिन्न जनजातिको संस्कृति थप आकर्षण हुन्छ। हिमालदेखि तराईसम्मका विभिन्न साँस्कृतिक प्रस्तुतिले सडक महोत्सवलाई अझै रौनक दिने गरेको छ। यसले पनि पोखरा सडक महोत्सवसलाई थप रौनक दिने गर्छ। नेपाली र विदेशी कला संस्कृति देखेर पर्यटक मोहित हुन्छन्। सडकमा बसेर खानाका परिकारसँगै विभिन्न जनजातीका संस्कृति अवलोकन गर्न पाउनुले पर्यटक दंग पर्छन्। महोत्सवको उद्घाटन सत्रमा परम्परागत भेषभुषामा सजिएर हलो, जुवा, ढोको बोकेर र्‍यालीमा हिँडेको दृश्य लोभलाग्दो हुन्छ। प्लास्टिकका सामग्रीले विस्थापित हुँदै गएका बाँसका सामग्री देख्दा नेपाली युवा पनि आकर्षित हुन्छन्।

लेकसाइडका चौतारामा स्टेज बनाएर पाँच दिनसम्म विभिन्न साँस्कृतिक कार्यक्रम गरिनेछ। उद्घाटनको दिनमा झाँकीमा सहभागी हुने विभिन्न साँस्कृतिक टोलीमध्ये उत्कृष्ट झाँकीलाई नगद ४० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना १० हजार प्रदान गरिनेछ। यसैले पनि साँस्कृतिक झाँकी उत्कृष्ट हुने विश्वास लिएका छौं।

भिजिट नेपाल २०२० मा वर्षैभरि महोत्सव

लक्ष्मण बराल
प्रथम उपाध्यक्ष, रेबान पोखरा

अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई पोखरामा सडक महोत्सवको आयोजना गरि स्वागत गर्दै छौं। नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यस वर्ष २० लाख पर्यटक भित्याउने सरकारको योजना छ। सरकारको यस योजनालाई सफल पार्न सन् २०२० लाई हामीले सडक महोत्सवसँगै वर्षैभरि महोत्सवको रूपमा मानाउने छौं।

अंग्रेजी नयाँ वर्षमा पोखरालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सडक महोत्सव हुँदै आएको छ। सडक महोत्सवमा स्वदेशी र विदेशी ५ लाखभन्दा बढी पर्यटक सहभागी हुने विश्वास छ। महोत्सवमा आउने पाहुँनालाई उच्च सम्मान गर्दै आएका छौं। महोत्सव सभ्य र भव्य बनाउन सुरक्षाको व्यवस्था मिलाएका छौं। सीसी क्यामेरा, सुरक्षाकर्मी र स्वयंसेवक सुरक्षा परिचालन हुन्छ। ३ किलोमिटर क्षेत्रमा हुने महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण फेवाताल किनारका होटलमात्र होइन, बेगनास, सराङ्कोट, महेन्द्रपुल, पृथ्वीचोकका होटल पनि कम्तीमा ३ दिन भरीभराउ हुन्छन्। पोखराको पर्यटनमा एउटा भाइब यो बेला देखिन्छ।

यसैले पोखरा सडक महोत्सव सबै पोखरेलीको महोत्सवको रूपमा विकास भएको छ। महोत्सवलाई थप आकर्षक बनाउन रेबान पोखराले विगतका कमी कमजोरीबाट पाठ सिक्दै महोत्सवलाई परिमार्जित गर्दै लगेका छौं। राति ११ बजेसम्म महोत्सव सञ्चालन हुने भएकाले पोखरा बस व्यवसायी समितिसँगको समन्वयमा माहोत्सव अवधिभर रात्रिकालीन बस सेवा पनि सञ्चालन हुन्छ। यसले महोत्सवमा आउने आन्तरिक पर्यटकले थप सुविधा पाउँछन्।

महोत्सवलाई पोखराका टोलटोलबाट आमा समूहले साथ दिन्छन्। आ-आफ्नो परम्परागत भेषभुषामा सजिएर आमाहरू मेलामा सहभागी हुन्छन्। आमा समूहले परम्परागत ढिकी, जाँतोमा पिठो कुटेर विभिन्न खानाका परिकार पर्यटकलाई पस्कन्छन्। यसले नेपाली परम्परागत खानाको प्रवर्द्धन हुनुको साथै पर्यटकले नेपाली परम्परागत ढिकी, जातोसँग साक्षात्कार गर्न पाउँछन्।

पोखरामा साहसिक खेल प्याराग्लाइडिङका साथै अल्ट्रालाइट, बञ्जीजम्प, जिप लाइनलगायत खेल पनि सञ्चालनमा छन्। यसैका कारण पनि पोखरामा पर्यटकको बसाइ लम्बिँदै गएको हो। ताल किनारमा हुने महोत्सवले पर्यटक निकै लोभिन्छन्।

पर्यटकको बसाइ लम्ब्याउँछ

नरेश भट्टराई
पर्यटन व्यवसायी

पोखरा सडक महोत्सवले पोखरा घुम्न आएका पर्यटकको बसाइ लम्ब्याउने गरेको छ। अन्नपूर्ण क्षेत्रको पदयात्रामा आउने पर्यटक पदयात्रा सकेपछि सडक महोत्सवकै कारण बसाइ लम्ब्याएर पोखरा बस्ने गर्छन्। यो समयमा हिमाली क्षेत्रमा चिसो बढ्ने हुनाले छोटो र कम उचाइका हिमाली क्षेत्रमा निकै कम संख्यामा पर्यटक पदयात्रामा जाने गर्छन्। यहाँको साँस्कृतिक झाँकी, खानाका परिकारले पर्यटक आकर्षित हुने गर्छन्।

डिसेम्बर महिनामा चिसो हुने भएकाले पदयात्राका लागि आउने पर्यटक पनि कम हुने नै भए। यहाँ आउने पर्यटक पनि बसाइ छोट्याएर घर फर्कने वा भारत, थाइल्यान्ड जानुपर्ने बाध्यता सडक महोत्सवले हटाएको छ। यसैले रेबान सडक महोत्वसको रूपमा सुरु भएको महोत्सव अहिले देशकै सबैभन्दा ठूलो महोत्सवको रूपमा विकास भएको छ। महोत्सवले पोखराको अर्थतन्त्र चलयमान बनाएको छ। महोत्सवका कारण किसानका साग, अन्डा, मासु, माछाको व्यापार बढेको छ। राज्यलाई ट्याक्स, व्यवसायीलाई आर्थिक लाभ मिलेको छ।

अंग्रेजी नयाँ वर्षलाई पोखरा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सुरु भएको महोत्सवले व्यापकता पाइसकेकाले अझै व्यापक बनाउन अन्तर्राष्ट्रिय बजारमा यसको प्रवद्र्धन गर्नुपर्ने बेला भएको छ। चीन र भारतका विभिन्न सहरमा नयाँ वर्ष मनाउन पोखरा जाऊँ भन्ने अभियान सरकारको समेत सहयोगमा हुन सके अन्तर्राष्ट्रिय रूपमै पोखराको ब्रान्डिङ हुन्छ।

यसतर्फ सरकारले सहयोग गर्नुपर्छ। गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक प्रदेशमा भित्याउने बताइरहँदा प्रदेश सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने हुन्छ। महोत्सवमा हुने कला संस्कृतिले पर्यटकलाई लोभ्याउँछ। एक पटक महोत्सवमा आएका पर्यटक फेरिफेरि दोहोरियाएर पनि आउन थालेका छन्। पर्यटकले नै पोखराको नयँ वर्ष महोत्सवबारे एकले अर्कालाई भनेको आधारमै पोखरा सडक महोत्सवमा पर्यटक पोखरा आएका छन्।

सडक महोत्सव, साझा महोत्सव

चिरञ्जीवी पोखरेल
अध्यक्ष, पोखरा पर्यटन परिषद्

अध्यक्ष, पोखरा पर्यटन परिषदपोखराका रेस्टुरेन्ट व्यवसायीको संगठन रेबानले आयोजना गर्दै आएको पोखरा सडक महोत्सव पोखराका पर्यटन व्यवसायीको मात्र नभएर पोखरेलीकै साझा महोत्सव हो। यही महोत्सवका कारण यहाँका किसानले उत्पादन गरेका तरकारी, दूध दहीदेखि खाद्यान्न दैनिक हुनेभन्दा धेरै बिक्री हुन्छ।

सडक महोत्सव नेपालकै ठूलो महोत्सवको रूपमा विकास भइसकेको छ। यही महोत्सवका कारण २० वर्षअघिसम्म प्राय शून्य हुने पोखराको पर्यटन क्षेत्र अहिले महोत्सवको अवधि कम्तीमा ३ दिन पोखराका लगभग सबै होटल भरीभराउ हुने गरेका छन्।

महोत्सवले होटल, रेस्टुरेन्टको मात्रै व्यवसाय बढ्दैन। किसानले उत्पादन गर्ने तरकारी, मासु, हस्तकलाका सामग्रीको बिक्री पनि बढ्छ। पोखराको सम्पूर्ण आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्छ। सडक महोत्सवले सबै क्षेत्रलाई चलायमान बनाउने गरेको छ। महोत्सवमा देखाइने नेपाली कला संस्कृतिले पर्यटकलाई मोहित पारेको छ। आन्तरिक पर्यटक, युवा विद्यार्थीका लागि नेपाली कला संस्कृति बुझ्ने स्थलको रूपमा महोत्सव विकास भएको छ।

पोखरा सडक महोत्सवलाई अन्तर्राष्ट्रिय फेस्टिभलको रूपमा विकास गर्न सरकारले विभिन्न देशमा प्रवद्र्धनात्मक कार्यक्रम गरी त्यसै अनुसारको सेवा सुविधा उपलब्ध गराउन सके अंग्रेजी नयाँ वर्ष पोखरा पर्यटकीय गन्तव्यको रूपमा अझै विकास हुन ठूलो मद्दत पुग्छ। व्यवसायीले सुरु गरेको यो अभियानलाई सरकारले पनि साथ र सहयोग दिन सके गण्डकी प्रदेशको राजधानी पोखरा नेपालकै पर्यटकीय हबको रूपमा विकास हुन्छ। महोत्सवमा उच्चकोटीको परिकारकै लागि गुणस्तरीय उपकरण किचनमा प्रयोग गर्छौं। हामीले गुणस्तरमा कुनै सम्झौता गर्दैनौं। यदि त्यसो गर्थ्यौं र प्रतिष्ठाको ख्याल गरेका हुँदैनथ्यौं भने हाम्रो महोत्सव २१औं संस्करणसम्म आइपुग्ने र त्यो पनि प्रत्येक वर्ष भव्य हुँदै जान सम्भव थिएन भन्ने सचेत पर्यटकले बुझ्नुभएकै छ। हामीलाई यो महोत्सव अझै बृहत् बनाउनु छ। नेपाल कार्निभलका रूपमा आगामी वर्ष आयोजना गर्ने हाम्रो योजना छ। महोत्सवमा अरु बेलाकै दररेटको मेनु चलाउँछौं। मूल्य बढाउँदैनौं। मूल्य कसैले बढाए नबढाएको अनुगमन गर्छौं। स्वदेशी विदेशी पाहुनालाई हाम्रो न्यायो आतिथ्यता स्वीकार्न अनुरोधसहित स्वागत गर्छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.