माघे संक्रान्तिका लागि यसरी बन्दैछ ‘चाकु’ (फोटो फिचर)
काठमाडौं : चाकु घिउँ र लड्डुको पर्व माघे संक्रान्ति आउन अझै १६ दिन बाँकी नै छ। तर, ललितपुरको टंगालमा रहेको जोशी चाकु कारखानामा भने तीन महिनादेखि कामदारलाई भ्याई नभ्याई छ।
सूर्यदास जोशीले करिब ६० वर्ष अघिदेखि यो कारखानामा चाकु बनाउन थालेका हुन्। अहिले उनी आफू चाकु बनाउन सक्दैनन् तर उनको सबै परिवार चाकु बनाएरै गुजारा चलाइरहेको छ। ‘यो ललितपुर पाटन क्षेत्रको सबैभन्दा पुरानो चाकु काराखाना हो’, दीपु जोशी भन्छन्, ‘यहाँका स्थानीय सबैले हाम्रो परिवारलाई ‘चाकु साहु’ भनेर चिन्छन्।’
दीपुका अनुसार तीन महिना अघिदेखि नै बिहान ४ बजेदेखि राति ८ बजेसम्म चाकु बनाउने काम भइराखेको छ। सिजनमा मासिक ६ लाखबढी फाइदामात्र हुने दीपु सुनाउँछन्। ‘चाकुको सिजन भनेकै माघे संक्रान्ति हो’, उनी भन्छन्, ‘यो सिजनमा मासिक ६ देखि ७ लाखसम्म आम्दानी हुन्छ।’ यो कारखानामा चाकु बनाउनेमात्र आठजना कामदार छन्। प्याकिङ गर्ने र बजार पुर्याउने गरेर करिब ३० जनाले रोजगारी पाएका छन्।
चाकु बनाउनका लागि जोशी परिवारले मोरङको विराटनगरबाट सख्खर ल्याउने गर्दछन्। जोशी कारखानमा बनेको चाकु ललितपुर, काठमाडौं, भक्तपुरसँगै बनेपासम्म पुग्छ। यहाँ बन्ने चाकु उपत्यकामा सबैभन्दा चर्चित छ।