यसरी सजिँदै सिन्धुपाल्चोक

यसरी सजिँदै सिन्धुपाल्चोक

२०७२ को भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोक बिस्तारै तंग्रिँदै छ। ८८ हजार घर ध्वस्त भएका थिए। तर, हालै यहाँ पुग्दा सदरमुकाम चौतारा ठडिइसकेको देखियो। निजी आवासअन्तर्गतका घर करिब करिब बनिसकेका छन् भने सिन्धुपाल्चोकमा ३० एकीकृत बस्ती निर्माण भइरहेका रहेछन्। चौतारा साँगचौकी गढी नगरपालिका-१४, झ्याडीमा एकीकृत नमुना माझी बस्ती निर्माण भएको छ। श्वेता श्री फाउन्डेसनको सहयोगमा त्यहाँ २९ घर निर्माण भएका छन्। चिटिक्क, सुन्दर त्यो माझी बस्तीमा भूकम्पपीडित बस्न थालिसकेका छन्। २६ वर्षीया सोभी माझी नयाँ घरमा बस्न पाएकामा खुसी देखिइन्।

मेलम्ची नगरपालिका-१० मा अर्को एकीकृत माझी बस्ती छ। त्यहाँ ४६ वटा घर छन्। भूकम्पको एक वर्षभित्रै अस्थायी एक कोठे घर बनाएर सरेका भूकम्प पीडितले पक्की घर बनाइरहेका छन्। कतिपय त पक्की घर बनाएर सरिसकेका छन्। घर बनिनसकेकाहरू एउटै कोठामा जीविका चलाइरहेका छन्।

जुगल गाउँपालिका-१, सेलाङमा अर्को बस्ती छ। यहाँ १९ घर बनेका छन्। हरियो छाना भएका यहाँ अधिकांश तामाङ समुदायका घर छन्। यसका अतिरिक्त दलितका दुईवटा घर पनि छन्। उनीहरू २०७५ असार ४ गते नै सरेका हुन्। जुगल सेलाङ एकीकृत बस्तीका अध्यक्ष सोवले तामाङ एक करोड ३७ लाख ७५ हजार रुपैयाँ खर्चेर बस्ती बनाएको बताउँछन्।

मेलम्ची नगरपालिका-११ स्थित थाक्लेमा एकीकृत नमुना बस्ती निर्माण भइरहेको छ। यो बस्तीमा ३१ घर बनिरहेका छन्। त्यहाँ पूर्वाधारको काम पनि भइरहेको छ। बाटो, रिटेनिङ वाल बनिरहेका छन्। थाक्ले एकीकृत नमुना बस्तीका अध्यक्ष खिलबहादुर तामाङले प्रत्येक घरका एक जनाको दरले श्रमदान गरेर घर निर्माण गरिरहेको बताए। थाक्लेमा बनेका प्रत्येक घरका बुइँगल पनि छ।

यता हेलम्बु गाउँपालिका-२ मा नोबुलिङ एकीकृत बस्ती निर्माण भइरहेको छ। पहाडको डाँडामा अति सुन्दर घर बनिरहेका छन्। कोही पहाड नै फोरेर घर बनाउन ढुंगा निकालिरहेका छन् भने केही घर बनाइरहेका छन। त्यहाँ ४० घर बनिरहेका छन्। तिनमा पाँचवटा घर दलितका छन्।

सबैजसो एकीकृत बस्तीमा सामुदायिक भवन पनि बनिरहेका छन्।

सिन्धुपाल्चोकमा रहेका अन्य एकीकृत बस्तीको निर्माण भइरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले निजी आवासअन्तर्गत ९० प्रतिशत पुनर्निर्माण भएको बताए। ‘हामीले ९० प्रतिशत काम सकेका छौं, अब १० प्रतिशत मात्रै बाँकी छ’, उनले भने। उनका अनुसार पूर्ण ध्वस्त भएको सदरमुकाम चौतारालगायतका अधिकांश गाउँबस्ती उठिसकेका छन्। १६ वटा सरकारी भवन बनिसकेका छन्। तीनवटा स्वास्थ्य चौकी निर्माणाधीन अवस्थामा छन्।

उनले एकीकृत बस्तीको निर्माण धमाधम भइरहेको बताए। पछि बनाइएका एकीकृत बस्ती साँच्चिकै नमुना रहेको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.