खतिवडा हट्ने चर्चाले बढ्यो सेयरबजार
काठमाडौं : सेयरबजारप्रति अनुदार छवि बनाएका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल फागुनमा सकिँदै छ। उनको दल नेकपाले राष्ट्रियसभामा यसअघि प्रतिनिधित्व गरेकालाई नदोहोर्याउने निर्णय गरेसँगै खतिवडाको मन्त्री पद गुम्ने चर्चाको प्रभाव सेयरबजारमा परेको छ। खतिवडालाई सांसद नबनाइएमा उनको मन्त्री पद ६ महिनापछि स्वतः सकिनेछ।
खतिवडाको मन्त्री पद सकिन लागेकै कारण आइतबार र सोमबार सेयर बजार लगातार बढेको विश्लेषण गरिएको छ। चार महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ सय अंकमा पुगेको छ। २०७६ भदौ १० मा १२०८ अंकबाट झरेपछि पहिलोपटक सोमबार १२००.६९ अंक पुगेको हो। सोमबार नेप्सेमा ८४ करोड २५ लाख ८२ हजार रुपैयाँको व्यापार भएको छ। आइतबार नेप्से परिसूचक ११८२.४३ थियो।
यो रकम विगतमा सेयर बजार घट्दाको समयको तुलनामा दैनिक औसत कारोबारको दोब्बर हो। कारोबार रकम बढ्नुले लगानीकर्ता सेयरबजारप्रति उत्साहित देखिएका छन्। आइतबार पनि नेप्से परिसूचक १४ अंक बढेको थियो। ‘नेप्सेले लामो समयदेखि हतोत्साही लगानीकर्तालाई मनोबल दिएको छ’, नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्सालले भने।
सेयरबजारको बढोत्तरीको आधार भने कमजोर छ। गत साता अन्त्यमा नेकपाले राष्ट्रियसभामा उम्मेदवार नदोहोर्याउने निर्णय गरेको थियो। लगानीकर्ताको अर्थमन्त्री लक्ष्यित ‘मनोबल’ बढेको सेयरबजारले प्रतिनिधित्व गरेको छ। खतिवडा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन्। अन्य उम्मेदवारको हकमा नदोहोरिने निर्णयका कारण खतिवडालाई मात्र दोहोर्याएर मनोनीत गराउने सवालमा नेकपालाई नैतिक दबाब परेको छ।
सेयरबजारप्रति खतिवडाको धारणाबारे नेकपाभित्रै आलोचना हुने गरेको छ। खतिवडाले सेयरबजारलाई ‘तरकारीको भाउ’ जस्तो भनेर तुलना गरेपछि नेकपाकै एक नेताले अर्थतन्त्रमा सेयरबजारमा हुने कारोबार मानव शरीरमा मुटुले रगत पम्प गरेजस्तै भएकाले उदार हुन आग्रह गरेका थिए।
खतिवडाले सेयरबजारलाई अनुत्पादक क्षेत्रका रूपमा व्याख्या गर्दै आएका छन्। यस्तै उनले सेयर कारोबार मूल्यमा पुँजीगत लाभ कर लगाउने विवादास्पद निर्णयको विरोधमा सेयर लगानीकर्ताले २०७५ जेठ २२ मा कारोबार ठप्प बनाएका थिए। सेयर लगानीकर्ताका अनुसार अर्थमन्त्रीले सेयर बजारको हुर्मत लिएकै कारण नेप्सेमा सूचीकृत लघुवित्त र बिमा कम्पनीबाहेक सबै वित्तीय संस्थाको सेयरको मूल्य आम्दानी अनुपात २०६८ साल असारमा बजार ‘क्र्यास’ हुँदाकै आसपासमा पुगेको बताएका छन्। ‘बैंकहरूले थप निष्कासनपछि आपूर्ति बढेर सेयरको मूल्य आम्दानी अनुपात घट्दो क्रममा थियो। अर्थमन्त्री खतिवडाले नियमित रूपमा सेयरबजारविरुद्ध अभिव्यक्ति दिन थालेपछि लगानीकर्ताले मनोबल गुमाउन पुगे,’ एक लगानीकर्ताले भने, ‘अर्थमन्त्रीले सेयरबजारप्रति सधैं पूर्वाग्रही भावना राखेकाले बजार लामो समय ओरालो लाग्न पुग्यो।’
खतिवडा २०७४ फागुन १४ मा अर्थमन्त्री बनेका थिए। खतिवडा अर्थमन्त्री हुँदा नेप्से परिसूचक १३५८.९५ बिन्दुमा थियो। त्यतिबेला कुल बजार पुँजीकरण १५ खर्ब ८९ अर्ब रुपैयाँ थियो। सोमबार नेप्से परिसूचक १२०० अंकको थ्रेसहोल्ड पार गरेपछि १५ खर्ब ३० अर्ब रुपैयाँ छ। यो वृद्धिले लय समातेमा लगानीकर्ताले लाभ पाउन सक्छन्। अहिलेको स्तरबाट उकालो लागेमा नेप्से १२८४ अंकसम्म उक्लिन सक्ने देखाएको छ। यो स्तरबाट घटेमा भने ११४९ अंकमा रोकिन सक्छ।