लगातारको वर्षा र हिमपातले जनजीवन कष्टकर
बझाङ: एक सातादेखि परेको झरी र हिउँपातका कारण बझाङको जनजीवन प्रभावित बनेको छ । जिल्लाका अधिकांश बस्ती हिउँले ढाकिएका छन् । हिउँपात र वर्षातका कारण जिल्लामा टेलिफोन, विद्युत तथा इन्टरनेट सेवा समेत पूर्णरुपले अवरुद्ध भएपछि जिल्लाको जनजीवन झनै अस्तव्यस्त भएको हो । साथै यातायात सेवा पनि अवरुद्ध भएपछि आवतजावतमा समेत समस्या परेको छ।
गत बिहीबारदेखि लगातार भएको वर्षा र छिनछिनमै पर्ने हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको हो। जिल्लामा संञ्चालित ८ वटा एफएम रेडियोका सोलार पाता चार्ज नहुँदा बन्द भएका छन् । साथै विद्युत सेवा प्रवाह नभएपछि सरकारी तथा गैर सरकारी कार्यालयको कामकाज समेत प्रभावित भएको छ।
सेवाग्राही समेत नआएपछि जिल्लाका अधिकांश सरकारी कार्यालयका कर्मचारी आगो बालेर दिन कटाइरहेका छन्। एक सातादेखि इमेल इन्टरनेट सेवा समेत अवरुद्ध भएपछि बैङ्किङ सेवा समेत पूर्णरुपमा बन्द भएको राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक प्रकाश बिष्टले जानकारी दिए।
आइतबार केही समय सूचारु भएको जयपृथ्बी राजमार्ग पुन: हिमपात भएपछि पूर्णरुपमा अवरुद्ध भएको बस व्यवसायीको भनाई छ । हिमपातले जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडकखण्ड समेत बन्द भएपछि दैनिक उपभोग्य वस्तु आपूर्ति हुन नसक्दा समस्या भएको छ ।
स्थानीय बिरेन्द्र सिंहका अनुसार लामो समयसम्म यातायात बन्द भएपनि दैनिक उपभोग्य वस्तु चामल, गहुँ, पिठो तरकारी , चिनी, दाल मसलालगायत आपूर्ति नहुँदा बजारमा अभाव भएको छ। जिल्लाका लागि उपभोग्य वस्तु बोकेका मालबाहक ट्रक राजमार्गका विभिन्न ठाउँमा अलपत्र छन्। जिल्लाको तल्लो भाग सेती नदीको बगरमा रहेको चैनपुरदेखि देउरासम्मका बस्तीमा खासै हिउँ नपरे पनि माथिल्लो भेगका बस्तीमा भने अहिले पनि हिमपात भइरहेको स्थानीयले बताएका छन्।
बाक्लो हिमपातका कारण लेकाली भेगमा गाई, भैंसी, भेडा, बाख्रा एकसातादेखि बाहिर निस्कन पाएका छैनन्। जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ ।