अन्नपूर्ण पदमार्गमा हिमपहिरो : बेपत्ताको खोजी अझै कठिन

अन्नपूर्ण पदमार्गमा हिमपहिरो : बेपत्ताको खोजी अझै कठिन

पोखरा : अन्नपूर्ण फेरो पदयात्राअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा शुक्रबार गएको पहिरो क्षेत्रमा हराएका ४ विदेशी पर्यटक र ३ नेपालीको खोजी जटिल बनेको छ। उनीहरू हराएको क्षेत्रमा आइतबार राति फेरि हिमपहिरो गएपछि खोजी झन् कठिन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

फेरि हिमपहिरो गएकाले सानो पहिरो गएको क्षेत्रमा दुई साता र ठूलो पहिरो गएको क्षेत्रमा खोजी तथा उद्धार कठिन बनेको कास्कीका प्रहरी प्रमुख कार्कीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए। प्रतिकूल स्थितिबीच पनि घटनास्थल वरपर प्रहरी, स्थानीयले लगातार खोजी गरिरहेको उनले जानकारी दिए।

हिउँ पग्लिएर अनुकूल वातावरण बनेपछि हिमपहिरोमा मानिस खोज्ने उपकरणसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोली तम्तयार रहेको पनि उनले जानकारी दिए। सोमबार कोरियाली राजदूत, सेनाका पृतनापति, सीडीओ, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको टोलीले हिमपहिरो क्षेत्रमा भइरहेको खोजी र उद्धारको स्थितिबारे जानकारी लिएका छन्। हराएका विदेशीका आफन्त पनि हेलिकप्टरमा उद्धारको सम्भावना बुझ्न पुगेका थिए। हराएका नेपालीका आफन्त शनिबार नै पुगेका थिए। हिमपहिरो क्षेत्रमा ४ जना कोरियाली र ३ नेपाली पर्यटक हराइरहेका छन्।

सिम्रिक एयरको हेलिकप्टरले सोमबार पनि रेस्क्यु टिमसहित खोजी गरेको छ। रेक्को उपकरण प्रयोग गरि खोजी गर्दा हराएका मानिसको मेटल सिग्नल सोमबार पनि पाएको तर हिमपहिरो थपिएकाले आइतबारभन्दा सिग्नल कमजोर रहेको रेस्क्यु टिमका अपरेसन डाइरेक्टर तथा सिम्रिक एयरको हेलिकप्टर पाइलट आनन्द थापाले जानकारी दिए।

सिम्रिक एयरका पाइलट थापा रेस्क्यु टिमका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी शेर्पा र सुरज पौडेलसहितको टोलीले सोमबार बिहानै हिङ्कुखोला क्षेत्रमा रेक्को उपकरणसहित खोजी गरेको थियो। रेक्को हराएका मानिस खोजी गर्ने विशेष उपकरण हो। स्विट्जरल्यान्डमा तालिमप्राप्त सिम्रिक एयरका पाइलट थापासहित अपरेसन र उद्धारमा दक्ष टोलीले बेपत्ताको खोजी गरिरहेको छ। सोमबार मौसम सफा भए पनि हिमपहिरो थपिँदा जमिनबाट हिमपहिरो क्षेत्रमा खोजीकार्य कठित बनेको हो। हिमपहिरो क्षेत्र साँघुरो गल्छी भएकाले खोजी गर्दा फेरि हिमपहिरोको सम्भावना भएकाले अर्को दुर्घटना हुन सक्ने जोखिम छ।

पदयात्रा सुरक्षित बनाउन कोरियाली राजदूतको आग्रह
कोरियाली राजदूत पार्क योङ सिकले सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाइरहँदा पर्यटकको सुरक्षालाई महत्‍व र ध्यान दिनुपर्नेमा जोड दिएका छन्। पत्रकार सम्मेलनमा उनले भ्रमण वर्ष २०२० मा पर्यटकको सुरक्षा महत्‍वपूर्ण हो भन्ने लागेको बताए।

नेपालमा अन्नपूर्ण आधार शिविर क्षेत्रको पदयात्रा, अन्नपूर्ण फेरो मात्र होइन , लाङटाङ, सगरमाथालगायत क्षेत्रको पदयात्रा पनि जोखिमपूर्ण रहेकोले सबै पदयात्रा सुरक्षित बनाउन ध्यान दिनुपर्ने उनले बताए। उनका अनुसार घट्नाबाट कोरियाली सरकार चिन्तित भएको र महत्वका साथ लिएको त्यहाँबाट आएका पत्रकारले बताएका छन्। असहज परिस्थिति र घट्नास्थल हेर्दा उद्धार जटिल रहेको उनको भनाइ थियो। स्थिति हेरेर खोजीका लागि कोरियाबाट प्रविधिसहितको विज्ञ टोलीसमेत ल्याइने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.